Abhas – Fewa Mathi Dui Chhayan

[छायाँ १]

ए पोखरा !
तेरी फेवा पोइल गई
नपत्याए
डुङ्गा खियाउने माझीलाई सोध्
डिलमा उभिएर
डुङ्गाको दृश्य हर्ने काजीलाई सोध्
पर्यटक महाशयले
फकाएर
छकाएर
उसलाई आफ्नै धुनमा नचायो
आफ्नै गीतमा हँसायो
तेरी फेवाले
सारङ्गीको धुन पनि भुल्दै गई
माछापुछ्रेले लाएको
गुन पनि भुल्दै गई
ए पोखरा !
तेरी फेवा पोइल गई
आजभोलि किन किन
माछापुछ्रे ऐना हेर्न लाज मान्छे
विन्ध्यवासिनी
परैबाट हाँस्छे
भन्थे–
फेवा त गहिरो खाडल र पानी हो
गण्डकीकी चम्किली आँखाकी नानी हो
अब त ऊ
बाजले हानेको
परेवाको आँखा जस्ती भई
विधवाको विरक्त मनको भाखा जस्ती भई
आखिर पानी हो फेवा
सौन्दर्यकी खानी हो फेवा
ए पोखरा !
ऊ तँ नजिकै त छे
फेरि किन परदेशी झैं भई
र पर्यटक महाशयको क्रीडापात्र भई
केवल क्रीडापात्र
न रुन सकी
न हाँस्न सकी
मात्र–
सुस्केरा हाल्दै वाफ बन्दै गई
ए नामर्द पोखरा !
तँ गुफा पसिस्
ऊ वेसहारा भई
पराईको इच्छा मुताविक रही
ए पोखरा !
तेरी फेवा पोइल गई

[छायाँ २]

पीडाले सुस्केरा हाल्दै
वाफ बन्ने पानी हो यो
यो माथि माथि लहरिँदै उड्छे
र भेट गर्छे शीतल
हिमालसित
फेरि रुँदै रुँदै तल झर्छे
शान्त र कोमल
आँखाकी नानी हो यो
यो तल तल डुब्छे
र भेट गर्छे
गहिराइसित
फेरि सुस्केरा हाल्दै
माथि माथि उड्छे
मानौं;
जीवनका तिक्तता
भोग्दै गरेको माझीको
छायाँ हो फेवा
बहनाले
मन हुँडलिरहेको माझीको
छायाँ हो फेवा ।