Min Dwandi – Feri Palayeko Chha Ustai Khari Ko Bot

सयवर्ष अघिदेखिको इतिहासमा
यो देशमा कहिल्यै
इमान्दारिताको कदर हुन पाएन
यो देशमा कहिल्यै
देशभक्तिको कदर हुन पाएन
प्रभूहरूको इशारामा
सत्ता–संघर्षको काटमारमा
हरेक दिन यहाँ भिमसेन थापाहरू सेरिएका थिए
हरेक दिन यहाँ माथवर सिंहहरू मारिएका थिए ।
रगतले रंगिएको एउटा शताव्दिभरि
हरेक दिन हामी मध्येका
कोही न कोहीले जेल जानु पथ्र्यो
हरेक दिन हामी मध्येका
कोही न कोहीले गोली खानु पथ्र्यो
एउटा जंगेलाई स्थापना गर्न
एउटा खरीको बोट उमार्न
हामी नागरिकहरूलाई मूला झैं काट्न लगाइएको थियो
हाम्रो कोतमा रगतको खोलो बगाइएको थियो ।
त्यस शताब्दीको इतिहासमा
हामी जनताहरू कहींकतै
गर्वपूर्वक बाँच्न पाएनौं
हामी जनताहरू एकछिन पनि
मन फुकाएर हाँस्न पाएनौं
हाम्रै रगत र पसिनामा
हाम्रै जीवनको बलिदानमा
केवल एउटा जंगबहादुर बाँच्यो
केवल एउटा खरीको बोट बाँच्यो ।
खरीबोटे शासन रहँदासम्म
हामीले निडर भएर
एक आखर पनि बोल्न पाएनौं
गुम्सिएका बेदनाहरू
कहीं कतै खोल्न पाएनौं
बन्द मुख खोलेको आरोपमा
साँचो कुरा बोलेको अभियोगमा
हामी लखन थापाहरू मनकामनामा बली चढाइएका थियौं
हामी सुब्बा कृष्णलालहरू आजीवन जेलमा सडाइएका थियौं ।
अन्धकारमय त्यस युगमा
हामी एक निंद पनि
सञ्चोसंग सुत्न पाएनौं
हामीले एकपटक पनि
सुविस्ताको सुस्केरा हाल्न पाएनौं
त्यो खरीको बोट समक्ष
उर्दी र हुकुमहरू समक्ष
हामीले आफ्ना मुस्कानहरूको बली चढाएका थियौं
हामीले आफ्ना चाहनाहरूको बली चढाएका थियौं ।
त्यो खरीको बोटलाई मार्न
हामी धर्मभक्त र शुक्रराज भई
राजी–खुशी फाँसी चढेका थियौं
हामीले दशरथचन्द र गंगालाल भई
हाँसी–हाँसी गोली खाएका थियौं
घाँटीमा फाँसीको माला लाएर
न्यायको निम्ति गोली खाएर
हामीले अत्याचारी शासनको गर्दन रेटेका थियौं
हामीले इतिहासमा लागेको दाग मेटेका थियौं ।
हाम्रो छातीको टुंडिखेलमा
झांगिएको एउटा खरीको बोटलाई
हामी आफैंले यसरी मारेका थियौं,
एक युगपछि त्यो खरीको बोटको मृत्यु
हामी आफैंले देखेका थियौं
तर हाम्रो छातीको उही टुंडिखेलमा
अर्कै रंग तर उस्तै रूपमा
फेरि पलाएको छ उस्तै खरीको बोट
फेरि झांगिएको छ उस्तै खरीको बोट ।