दु:ख !
जब सबैबाट अपहेलित हुन्छ
दु:खलाई जब
संसारै विरक्तिलो नर्कझैँ लाग्छ
आत्महत्याको बाटोले उसलाई
अजिंगरलेझैँ सामुन्ने आएर लखेट्छ
तब सहारा खोज्दै आउँछ
र बस्छ मसँग एकै रात ।
दु:खी दु:खलाई म
मेरै दु:खका चुलोबाट मीठो-मसिनो खुवाउँछु
मेरै दु:खको गुन्द्रीमा
दु:खकै मेरा कम्बल ओढाएर
आँसुको घाम-पानीले
मेरै सिरानीमा
फलेर पाकेको निद्रा पिलाउँछु ।
निदाएपछि देखिने सपना त हो !
जब सपनाको बगैँचामा दु:खी दु:खले
आफ्नै लालाबाला फक्रेको देख्न थाल्छ
जब आमाका आँखाले
आँशुकै पंखमा पनि खुशीका परेला चाल्छ
तब दु:खी दु:ख पनि दङ्ग पर्छ
देखेर यो कविको रक्त-सागरमा अनायास
उमंगको छाल उर्लन्छ
दु:खी दु:ख र यो कविको छातीमा
एकैसाथ उठेका महान भक्कानोहरूभन्दा
अर्को सुन्दर कविता म कदापी लेख्न सक्दिन ।