Rajab – Dherai Maanis Ko Sanjh

साँझ घर पसेपछि म
गोठ पसेको पशुझैँ
चुपचाप बिहानी कुर्दिनँ
तपाईं के गर्नु हुन्छ ?
तर म
साँझ घर पसेपछि
हिसाब –किताब थाल्छु र
झोला लिएर
पुनः बजार झर्छु र
केही गेडा आलु
एकाद किलो चिनी, दाल
र अरू यस्तै किनेर फर्कन्छु
साँझ घर पसेपछि
घरभित्रको निजी कोलाहलमा डुब्नै पर्छ,
म पनि
स्वास्नीको अनेक फतफत, कचकच
केटाकेटीको झगडा र
होमवर्कमा सामेल हुन्छु
दुईचार थप्पड टी.भी.तिर मात्र घोत्लन खोज्ने छोरोलाई दिन्छु
र अविराम फतफताइरहेकी स्वास्नीलाई झपार्छु
खल्ती गह्रौँ छ भने
एकदुई क्वाटर सस्तोमहँगो रक्सी घुट्क्याउँछु
त्यो पनि जुरेन भने
बासी अखबारका पन्ना मुसार्छु
रिटायर्ड प्रेमिकाहरूको स्मरण गर्छु
सरकार, नेता, प्रशासक, व्यापारीसँग
रिस उठेको छ भने
क्रान्तिकारी कविता पनि लेख्न बस्छु
मन शान्त छ भने र
खल्तीमा क्वाटरका लागि क्षमता छैन भने
कुनै पनि किताब पढ्न बस्छु
तर राजनेताहरूको जस्तो
मेरो साँझ षड्यन्त्रपूर्ण बैठकमा बित्दैन
न त स्मगलरहरू जस्तो
अवैध सामग्री बोकेर आउने जेटको प्रतीक्षामा बित्छ
वास्तवमा धेरै मानिसको साँझ
मेरो जस्तै
केटाकेटीको रडाको
स्वास्नीको फतफत
अभाव, अभावमै पाकेको दालभात
र मामुली पेयमा बित्छ
साधारण मानिसहरूको साँझ
राजनेताहरू
स्मगलरहरू
र गोठ पसेको पशुझैँ अवश्य हुँदैन
तिनको साँझ मामुली हुन्छ
त्यसमा न षड्यन्त्र हुन्छ
न त घातक प्रतीक्षा