अशोक पार्थिव तामाङ – धरतीको हरेक कुनामा
बिम्व नमिलेर टुक्रिएका केहि धरतीका सिसे-गमलाहरूमा
मानवताका आस्थाहरू रंग हालेर फुल्थेहोलान्
सिरानी राखेर सुतेका अल्छे रहरहरू !
संगठित भएर भालेबास्नु अघि नै जागीसक्थेहोलान्
घृणालाई स्नेहले गोड्दै
आहा! धरतीको हरेक कुनामा यो जखमले घामहरू पुरयाउँन पाए त ।
शताब्दी निदाएका केहि मानवियताका मुर्चुङगा अनि बिनायोहरू !
ट्याउँ-ट्याउँ,टिउँ-टिउँ भाकामा आफै सित बिभाजन भएको
आँगनको ईतिहाँस आत्मकथा रूँदै गुन्जाउँथेहोलान्
उष्णताले सेपिएका धरतीका कापमा पलाएका लेउहरू !
बुट्याँन बनेर मानव बस्तीकाहरूका बगैंचामा फक्रिन्थेहोलान्
चट्टान फोरेर मन रोप्दै
आहा! धरतीको हरेक कुनामा यो जखमले घामहरू पुरयाउँन पाए त ।
हुस्सुको अग्नीमा तापिएको श्रृजनशील मनका हाँगाहरू !
बसन्तको कोपिला बनेर लहलहाउँने थिएहोलान्
कुलो नभेटेका गैरीखेतहरू, रातामाटे डाँडाका प्लाँङ्खर भुमीहरू !
अनाजबृष्टी गर्दै सुडानका भोकहरू भर्नेथिएहोलान्
मानिसको सामुहिक प्रयासमा
आहा! धरतीको हरेक कुनामा यो जखमले घामहरू पुरयाउँन पाए त ।
आकाश बाँड्ने मान्छेको होडबाजीहरू !
धरती चिरा-चिरा पार्ने धर्म बिशेषका रंग र जातियताहरू !
सिङान पुछेर मान्छेले बिसर्जन गर्नेथिएहोलान्
बैरीमा दरिएका मानवताका साईनोहरू !
मित्रताको हात फैल्याउँदै मुसुक्क मुस्काउँथेहोलान्
युद्द त्यागेर शान्ती डाक्दै
आहा! धरतीको हरेक कुनामा यो जखमले घामहरू पुरयाउँन पाए त ।
एक अर्कोमा चिनारी हुँदा-हुँदै जानी-जानी निर्मित तिता क्षणहरू !
पुनर्मिलनको आँधीबेरीले उडाएर पत्कर उडाएसरी लाने थिएहोलान्
ईन्द्रेणीहरू फुलेर क्षितिजभरी अभाव काटेर धेरै सल्लेरी र मानेभञ्ज्याङहरू !
बिश्व ब्रम्हाण्ड नै बयस्क यौवन फक्रिएकी नव दुलही जस्तै देखिन्थिहोलिन्
एकको पिडा अर्कोले बुझ्दै
आहा! धरतीको हरेक कुनामा यो जखमले घामहरू पुरयाउँन पाए त ।