Acharya Prabha – Devkota Timi Prasad Hau

देवकोटा,
तिम्रा अमानुषी श्रीजनाका किरणहरूले
अँझै जग्मगिएको छ साहित्य जगत
तिम्रा अटल प्रेरणाहरूले बाँचेको छ
नेपाली बाङ्मय अझ सहज,
तिमी अपरिमेय छौ
तिम्रा सृजना अमेय छन।
हाँसी रहेछौ तिमी अटल सूर्य बनेर
नेपाली साहित्यकाशमा ,
बाँची रहेछौ तिमी”मुना मदन”बनेर
हर सर्जकहरूका मानसपटलमा ।
ज्योति थियौ तिमी अलौकिक ज्ञानको
मोती बन्यौ तिमी साहित्यरूपी समुद्रको ,
त्यही ज्योति आज
साहित्यको “आभा” बन्यो
त्यही मोती सबको सृजनाको माला बन्यो ।
तिमी प्रतीक हौ कवितामय संसारको
पथ प्रदर्शक हौ तिमी सद्भभाव र सहृदयताको ,
गर्न सकौं ग्रहण सबले
तिम्रा प्रसादरूपी कविताका उपदेशहरू
पाउन सकौं सदा तिम्रा अजम्बरी
आत्माका जसहरू ।
तिम्रै सृजनामा अमर बने
निश्चल प्रेमीको जोडी “मुना मदन”
तिम्रै भावनामा समान भए
जातिभेद पनि ,
यसैले हामी गर्छौं श्रद्धा
“लक्ष्मी” तिमीलाई आजन्मभरि
तिम्रै चरणमा राख्छौं माथ हामी सधैंभरि ।

(अमेरिका )