जे बी शेर्पा – देश दुखीरहेका घाउहरु
छाक जुटाउन धौ धौ परे पनि
मिठो खान र राम्रो लाउन चाडै कुर्न परे पनि
धुलो र पसीना जीवन भए पनि
साग सिस्नु र ढ़िडोमै हुर्के पनि
बचे खुचेको केही थोत्रो आशा बाहेक
मलाई तिमी संग खासै गुनासो थिएन ए काठमांडू !
तर आज
म आफ्नै देशमा वैरीहरुद्वारा लुटियी रहेछु
लखेटीइ रहेको छु
शरणार्थी बनेको छु
अनि देख्छु, मेरो भत्किएको घर आँगनमा
तिरंगा ** को कालो छायाँ
उ, सुन्दै छु फेरी पनि ,
सीमापारबाट बुटहरुको गड्याम गड्याम क्रूर आवाजहरु
अर्को गायत्री ** र देबी ** को खोजीमा आउदैछ
अर्को दशगजा सारिदै छ र विर्खमानहरु मारिदै छन्
साथ साथै मेरो अस्तित्व, अस्मिता र स्वाभिमान
क्रूर हाँसोसंगै बुट मुनि दबाई रहेछ
एक्कासी छाती दुखेर आउछ , घाऊहरु बल्झिनछन
म हठात आँत्तिन्छु , रुन्छु भक्कानिएर
काठमान्डूलाई गुहार्छु आर्तनाद गर्छु
आँसु रित्तिन्छ
धेरै पछि काठमान्डू बोल्छ – “तिम्रो आँसु र रगत झूठ हो”
ए काठमांडू ! एक पटक आफैंलाई चिमोटर हेर
मेरो आँसु र रगतको आलो टाटो ,
अनि यी देश दुखी रहेका घाऊहरु बाहेक
के दशी प्रमाण देखाऊ ?
तै पनि भन्छु यी सारा घाऊहरु छोप्दै
भैगो तिम्रो सुरक्षा,सहारा र विकाशको आश्वाशन चाहिन्न
म केवल मेरो माटो चाहन्छु , उखेलिएको जंगे खम्बाहरु जहाँ को त्यहीं चाहान्छु
म केवल मेरो माटोमा देशको झंडा फरफराएको चाहन्छु
ए काठमांडू कहिले काहीं ,
अमर सिंह, भक्ति थापा र बलभद्र कुँवरको वीर गाथाहरु सुन्ने गर
शहीदहरुको देश प्रेम बुझ्ने गर
मलाई थाहा छ तिमी अचेल लेंदुप दोर्जे झै
लोभिएका छौ,वहकिएका छौ
हामी कहिल्यै शासित थिएनौ
लढयौ, मर्यों तर सिर झुकाएनौ
एक पटक त सोच फेरी, एक पटक त रोज फेरी
दास बनेर दरवारमा वस्नु या
स्वतंत्र भएर छाप्रोमा वस्नु ?
दास बनेर हैदरावादी बिरयानी खानु कि
स्वतंत्र भएर गुन्द्रुक ढिँडो खानु
दास बनेर अत्याचार सहनु राम्रो कि
स्वतंत्र भएर डटेर लड़नु राम्रो
ए काठमांडू !
म आज फेरी देश दुखी रहेका घाऊहरु छोप्दै
छातीमा ज्वालामुखीहरु सम्हाल्दै
अंतिम पटक तिमीलाई पर्खी रहेको छु ।