रेनुका भट्ट – देश बाटो खोजीरहेछ
बनाउँनेले बाटो
टेकेर कहिल्यै त्यहाँ हिड्न पाएनन्
हिड्नेहरुले कहिल्यै आफ्नो बाटो बनाएनन्
आफ्ना बलिया मेरुदण्डझैँ
हाम्रा बाबु बाजेले निर्माण गरेका बाटाहरु टेकेर
हिँडिरहे राजा-महाराजा र ठूल्ठूला शासकहरु
जंगलतिर शिकार हान्न
र गाउँ-गाउँ सुसारे यूवती खोज्न
अथवा गौँडा र कुमारी चोकतिर
रैतीहरुको थैलीबाट तिरो असुल्न
तिनीहरू कसरी पुग्थे
हाम्रा पुर्खाले नखनेका भए बाटाहरु
पटक पटक हाम्रा पूर्खाले खने मात्र
तर, सुखको भारी बोकेर आफैँ
नाँच्दै गाउँदै कहिल्यै हिँड्न पाएनन्
टेक्न पाएनन् आफ्नै पसिनाले भिजेका बाटामा
हामी पनि खनिरहेका छौं नयाँ बाटाहरू
को को हिँड्लान् हामीले खनेका बाटाहरूमा?
खेत बारी जोत्ने किसान कि गाउँका मुखियाहरू?
मायालु जोडीहरू कि कसैलाई लुट्न हिँडेका डाकाहरू?
तीरो तिर्ने जनता कि भ्रष्ट सरकारी हाकीमहरू?
गाउँ फर्किरहेका लाहुरेहरू कि अरब हिँडेका लेबरहरू?
आन्दोलनलाई ठोक्ने बुट-लाठीहरू कि इन्क्लाबी जुलुस?
को को हिँडलान् हामीले खन्दै गरेका नयाँ बाटाहरूमा?