Jayant Sharma – Bichara Sante Baulayo

जयन्त शर्मा – बिचरा सन्ते बौलायो

आज सन्ते बौलायो, नराम्रैसँग बौलायो
सबैले सन्ते जाँड खाएर बौलायो भनेपनि
सन्ते किन बौलाएको हो गुदी थाहा छैन ।
गाउँमा ढुङ्गा कुटेर परिवार पाल्ने सन्ते
काठ्माडौं आएर एक्कासी कसरी बौलाएछ?

आफूले खाएको थालमा लात हान्न नसक्नु
टेडो आँगनमा छमछमी नाच्न नजान्नु
बिचरा सन्तेको त्यसमा के दोष?
एउटा भाको छोरोलाई युद्धले खाएर त के होला !
कतै सहिदको पिता हुनुको गर्वले त बौलाएन सन्ते?

सहर पसेका जंगली हुँडारहरूको झम्टाइबाट
आफ्नो भाइलाई बचाउँदा पो हो कि सन्ते बौलाएको?
दुशासनहरू भने हिँडिरहेकै छन् छाती फुकाएर
अन्धोपनको निहुँमा चुपचाप बसिराखेको धृतराष्ट्रसामु
छोरीको चित्कार सुन्न नसकेर पो बौलायो सन्ते?

पुनर्निर्माण-परिवर्तनको एकोहोरो भाले बसाइ
नागरिक सर्वोच्चताको फुस्रो सुगा रटाइ
डर, धाक, धम्की- स्वार्थ, छलकपट अनि गाली
शक्तिको ओलम्पिक दौड-‘मेरो गोरुको बाह्रै टक्का’
पाखण्डी साँढेहरूको जुधाइमा सन्तेको मिचाइको के अर्थ?

लोकतन्त्रको बर्को ओढेको अर्को सामन्तवाद
बोल्नु पो ठूलो गल्ती भएछ कि?
‘हो लाई हो’ भन्न सिकेको सन्तेले ‘हैन’ भन्न मानेन
सत्यको पाठ पढेको सन्तेले झूठको खेती गर्न जानेन
अनि सन्ते बिचरा नबौलाओस् पनि कसरी?

तर सन्ते बौलाको यो नै पहिलो पल्ट भने होइन
गाउँबाट धपाइएको, मान्छेको सूचीबाट हटाइएको सन्ते
यस अगाडि धेरै-धेरै पल्ट, पटक-पटक गरि
घात-प्रतिघात छातीमा अचानो थापेर आफ्नै
सहनले डाडाँ काटेपछि क्रमश: बौलाइरहेको छ ।

जब जब नयाँपनको यस्तै ढ्याङ्ग्रो पिटेको सुनियो
जब मुखुण्डोधारी रक्षक नै असलमा भक्षक बन्न थाले
जब साथ दिन्छु भन्नेहरूले आफैं गाँस-वास खोस्न लागे
जब दण्डहिनता र अनिर्णयले राज्यलाई बन्दी बनायो
तब तब कैयौं सन्तेहरू यसरी नै बौलाउँदैछन् ।

०९-२५-२०६६