Bindo Khadka – Bhok

एक निरन्तर सत्य
अटुट विश्वाश
कहिल्यै नमेटिने
अथक प्रयाश ।

बिहानीमा आयो दिनमा पनि आउँछ
दिनमा आयो साँझमा पनि छाउँछ
समय सीमा तौल केही छैन
अमिर गरीब उचनिच भन्दैन ।

उपचार एउटै हो अर्कोले चल्दैन
खानै पर्ने बाध्यता,विकल्प हुँदैन
भोक मेटाईको आकार हुदैन
तैपनि मान्छे लालच छाड्दैन ।

भोकसंग लड्दै भोकसंगै बड्दै
भोककै लागी जीउँदै चल्दै
शताव्दीसम्म जीउँछ मान्छे
भोक नै नमेटी मर्छ मान्छे ।

अघाएको भ्रममा पर्दा पर्दै
अघाएको अभिनय गर्दागर्दै
बिहानै भोको साँझमै भोको
खाँदा ठाँन्छ पुग्यो अब धोको ।

आफ्नै भोक मेट्न नसक्नॆ
मुक्तिको भाषण छाट्दै हिड्छ
भोकै भोकले जेलिएर पनि
भोकका विरुद्ध पछि हट्छ ।

भविष्यको भोकका लागी
लड्दै रहन्छ दिनदेखी राती
पूरा जीवन भोककै लागी
सपर्मण गर्छ मान्छे जाती ।

भोकविनाको आहार थुप्रो
आहारविनाको भोक उफ्रदो
थुप्रो आहारले भोक ल्याउँदैन
विना आहारले भोक मेटिदैन ।

भोकले
भ्रष्टाचार जन्माउँछ
आविष्कार गराउँछ
विकाश निमत्याउँछ
विनास पनि ल्याउँछ
त्यसैले
भोक कसलाई लाग्यो
परिणाम त्यसैमा जान्छ ।

छुच्चाको भोकले
लुकाएर खाने सस्कृति ल्याउँछ
एकलकाटे बनाउँछ

दुष्ट नेताको भोकले
अन्याय र अत्याचार बढाउँछ
मालिक र दास जन्माउँछ

दुष्ट न्यायदाताको भोकले
न्यायको हत्या हुन्छ
निर्दोष दण्डित हुन थाल्छ

भ्रष्ट कर्मचारीको भोकले
सरकारी राजश्व खुमचिन्छ
विकास निर्माण गतिहिन हुन्छ

कालो व्यापारीको भोकले
रोग व्याधि निमत्याउँछ
जनशक्ति निर्बल हुन्छ

ढोङ्गीको भोकले
छल कपट उमार्छ
जालझेलले गति लिन्छ

दयाविरको भोकले
दीन दूखीको भोक मेटाउँछ
शान्ति र मेलमिलाप छाउँछ

त्यसैले
भोक कसलाई लाग्यो
परिणाम त्यसैमा जान्छ ।

बाँडेर खानु खुसीले जीउन
एक्लै नखानु शान्तिले बाँच्न
अवमूल्यन नगर्नु भोकको कहिल्यै
आकार नदिनु भोकलाइ कहिल्यै
समान ठान्नु सबैको भोक
भोकका विरुद्ध भ्रष्टाचार नगर्नु ।