Shreeshisha Rai – Bhabishya Express

श्रीशीशा राई – भविष्य एक्सप्रेस

मेरो छोरा
उ जस्तै करोडौँ आँखाहरुवाट बगेर
छालहरुले खडेरी किनारामा वेवारिस
मिल्काउने दिन पर्खेर कसरी बस्न सक्छ ?
उ पनि
यौवनले भरिएका लाखौँ विस्वासहरु जस्तै
तिम्रो भविष्य एक्सप्रेसवाट
जीवनमा पहिलो पल्ट
निश्चिन्त यात्रा गर्न खोज्नेछ

तिम्रै गाडीमा ऊ
यसकारण चढ्नेछ की
राजमार्गका अशान्त खाल्डाहरुलाई छिचोल्दै
प्रथम प्रहरमै शान्तिचौक उतार्ने
तिम्रो बाचा उसलाई पनि मिठो लाग्नेछ
दुर्घटनाको कल्पना समेत गर्नेछैन उ
बरु गन्तव्यमा
उसको मुक्ति र पहिचानलाई
ठिक समयमा भेट्छु भन्ने
विस्वास उसलाई लाग्नेछ

तिम्रै गाडीमा चढ्न ऊ
यसकारण बाध्य हुनेछ की
उसको त्यति महँगो विस्वासको इन्धन भरिएको
गाडीको चालक तिमी नै हुनेछौ

गाडीको अस्तव्यस्त चाप छ
अनियन्त्रित गति छ
जेव्राक्रस आफै चक्काले किचिएर लर्बराउँदैछ
तर कतै ट्राफिक देखिदैन
यद्धपि तिम्रा अगाडी
स्कुले नानीहरु बाटो पार गरिरहनेछन्
तिम्रा पछाडी म
मेरो छोराको कुशल यात्राको कामनामा
छुटेको गाडी हेरिरहनेछु
शान्तिचौक पुग्न उसले
तिम्रै सडक यसरी छान्नेछ कि
उसलाई लाग्नेछ – चालक तिमी नै हो भने
यी सबै आस्थाहरु सुरक्षित रहनेछन्

मेरो यात्राका लागि
मैले रोजेको एक्सप्रेसले मलाई
धोका दिएकै हो
मेरा विस्वासका चालकहरु
हाँक्न नजानेर, नसकेर वा खिँचातानीमा ठोक्किएर
म चढेका थुप्रै गाडी त्रिशुलीमा खसेकै हुन्
नयाँ नेपालको ढोकैमा पुग्ने मेरो चाहना
भाँचिएर म अपाङ्ग बनेकै हुँ
यी यसरी अहिले
सँधैका लागि ओछ्याउनमै ग्लानीमात्र सुतीरहेछु
म चाहन्छु–
अब जन्मने मेरो छोराको छनौटमा
यस्तो धोका नहोस
बरु
जन्मदै गर्दा उसको शरिरमा
मेरो खराब विगतको
छायाँ समेत नपरोस
आखिर
महँगो विस्वासको इन्धन भरिएको
गाडीको चालक नै तिमी हौ

उ जस्तै करोडौँ आँखाहरुवाट बगेर
छालहरुले खडेरी किनारामा वेवारिस
मिल्काउने दिन पर्खेर कसरी बस्न सक्छ ?
मेरो छोरा

तरहरा, सुनसरी