दीपराज नेयोंगहांग – बेनामि मस्तकमा उम्रिएका बिजहरु
जादुगरी सतरन्जमा
जफतिएका बेनामी मस्तकहरु
इतिहासका कलमहरुले नलेखिंदा अक्षरहरुमा
नेपथ्य बोल्छ-
प्रतिध्वनिमय चा/ताल खेल्दै
बिरोधाभास भित्ताहरु प्रती
अजस्र उभ्याउँदै घनहरु
बन्द कोठामा रिंगिनुको उपजमा
पड्कीन्छन बाँधहरु र बग्छन
धमिलो बनेर…
–
इतिवृती सुन्दै जाँदा
बाँसझ्याङहरु घाट तिर हिँड्दा हिँड्दा
सिद्धिएका छन
नयाँ तामाहरुका आस्वादानमा
र्यालिएका जिब्राहरु
मुखमा थमाउनु भन्दा
भोको पेट भित्रका झोमोलोङमाहरु
अट्टल र जिवन्त छन दोसाँधमा
त्यसैले
पागलपन भित्रको अपागल परेवी पखेरुहरु
निस्चिन्तन खेल्छन आकाशमा
तर बन्दैनन बाजरुपी-
परेवी प्रतिक बेचेर
गोसखान हिंड्दैगरेका हटारुहरुसँग
–
श्मशान बासहरुमा उम्रिएका
बेचैनहरु बोकेर
बाँच्नुमा रफतरत काँसघारिहरु
आदम र अदनमा श्रापित सर्पस्थल हुनुबाट
निबृति खोज्दै खोज्दै रित्तिएर
ब्याकुल बनेका काँसे जिन्दगीहरु
घिर्लिंग यात्रामा अल्झेपछी त खोज्छन
जिन्दगीका अमुल्य मूल्यहरू
चट्याङ्गका झिल्काहरुसंगै
झिल्किंदै झिल्किंदै
सतरंजले कुँदिएका निरतीशयहरुका
अट्टहासी उपहास तोड्न
–
सदाबहारका कोसेलीहरु
सम्प्रेसण गर्ने ऋतुहरुमा
खडेरीका वाणहरुले स्पन्दन स्तब्ध हुँदा
मैदान पहाडमा रुपान्तर भएको छ
माटो ढुंगामा रुपान्तर भएको छ
त्यसैले त्यहाँ-
पाइलाहरु रुपान्तरित हुँदै हुँदै
नयाँ गोरेटोहरु खोज्दछन
मान्छे भित्रको समुन्द्रबाट
क्रिस्टोफर-कोलम्बस
फेरी नयाँ संसार तिर अन्वेषण गर्दै
भरियाका थाप्लोहरु भित्र
अछुत हातहरु भित्र
निस्सासिएका अबोधित टापुहरुमा
फक्रिएका अँगेरीहरुबाट
रंगिएका दांतहरुले
खत लागेका पहाडहरुमा भेटछन्-
चुँहिदै गरेका शिलाजितहरु
त्येसैले त अङ्कुरिन्छन
विचारका बिजहरु
हाम्रा जफतिएका बेनामि मस्तकका
घुर्यानहरुमा…
– पथरी मोरंग