भोजराज बराल – बसेकै ठाउ स्वर्ग बनाउने हो भने
हेर्नुस, भोलि सबेरै कुद्नु छ,
मेरो काम, आजै फत्ते हुनु पर्छ!
हेरौंला नि हजुरको दुख, काम तुरुन्तै हुन पर्छ,
मलाइ धेरै हतार छ,
हजुर, भन्नुस, क-कसलाई भन्न पर्छ!
लौन, थुनामा परेछ रे,
जाँड को सुरमा, तथानाम भनेछ रे,
एक दुइ लात ठोक्दैमा, कोची हालेछन बिचरोलाई,
निकाल्न आएको, पार्टीका साथि लिएर,
लौ भन्नुस, के गरौँ, छुटाउनै पर्यो यो मोरोलाई!
लोकसेवा दिएको छ, राम्रै गरेको छ रे
सबै पाना भरेको छ रे,
लौन, नाम निकाल्न पर्यो,
ठुलै मान्छे संग आएको छु,
जागिर मिलाउला भनेर, कसम खाएको छु!
अलिकति कोसेली ल्याएको छु!
गहुँत छर्कन पर्छ,
शुद्ध हुन्छ भान्छो, गोबरले लिप्न पर्छ,
मरेकाले दुख दिए बाबु, पितृ बोलाउनु पर्छ,
कि त धामी झाँक्री, खोज्न पर्छ,
जनावरको बलि चढाउनु पर्छ,
भाकल गरेको छु, एउटा बोको रोज्न पर्छ!
यस्तै यस्तै सोचाइ पालेर,
फेरिंदैन गाउँ र समाज,
सिर्फ भगवानको नाम मा लामो दाह्री पालेर!
समय फेरिंदै जाँदा,
पाठ्यक्रम फेरिन पर्छ,
सबैले गल्ति गर्न सक्छन,
झुठो सहि हुँदैन, गुरुले भन्दैमा,
दुइ र दुइ जोडेर पांच हुँदैन, दश पटक गन्दैमा!
जति कुर्ले पनि, जति तिर्थ नुहाए पनि,
नकाटेको चिट्ठा पर्दैन,
मन फेरिन पर्छ, सोचाइ फेरिन पर्छ,
लालचका आँखा फेरिन पर्छ!
आफू जस्तै,
सबैको पेट उस्तै हो,
अघाउँदा पनि भोको पेट देख्न पर्छ,
भोकाले पनि दिनेको मन देख्न पर्छ,
कुवा भित्रै बसे पनि,
बाहिर अर्को सन्सार देख्न पर्छ,
सबैले केहि न केहि गर्नै पर्छ,
स्वर्ग पुगेका छैनन, फलाकेरै कोहि,
बनाएरै पुगेका छन् स्वर्ग कति,
बसेकै ठाउ स्वर्ग बनाउने हो भने,
आउ तिमि केहि राम्रो गर, म उस्तै गर्छु!
तिमि मेरो चुलो बनाउ, म तिम्रो भकारी भर्छु!!