धिप्धिपे धिब्री बल्न नपाउदैमा
वस्ती नमसिदो रहेछ
सलाईका काँटीहरु नहुँदा पनि
अगेनी नसेलाउदो रहेछ
दियालोले दुखाएको आँखामा कर्णालीजल छम्किएर भएपनि
झरोको उज्यालोमा बस्ने बानी परिसकेका हाम्रालागि
अझै विकासे उर्जाको आश्वासनहरु नदेखाउनुस् हजुर
अध्यारो पारगर्ने साहाराका लागि
मलाई मेरी बुदुनीले साँचेकी एक चोइटो झरोले आजसम्म पुगेकै छ।
अब त
दिले बड्डाले खच्चर र भेडो पोषिसकेपछि
मोटरमा चढाउने आश्वासन नभए पनि हुन्छ मलाई
डाक्टरको प्रतिक्षामा औंला गन्दा-गन्दै
सुकेनासले खाँसेर बितेकी साउनेकी जोई सम्झिएर
मेरी झमकलाले हर्रोको झोल पिउन थालिसकेकी छे
खेलोमा परदेशिएको महते कार्कीले छोडि आउनेछ
विदेशी अन्नका प्रलोभनहरु उतै
त्यसैले भो
नसुनाउनुस अझ धेरै पीतवचननरु
हामी फापरको आधा रोटोमा बालबच्चा थुम्थुम्याउन सक्छौं
एकपसर भुटेको मकैमा प्राण जसैतसै जोगाउन सक्छौं ।
यिनै भिरपाखा र लेकबेसी प्यारो मान्दै
थाप्लोमा नाम्लोको डाम भुलेर छोट्टीसँग देउडामा रमाउने हाम्रालागि
आवश्यक छैनन कुनै आयातीत गीत-सगीतहरु
भो चाहिन्न,
तपाईंका ती विदेशी कमिज र पेन्टहरु
मेरो यही दौरा र कछाडमा मेरी झमकला हाँस्नसक्छे
उस्को त्यही गुन्याँ, चोलो र पटुकीमा म रमाउनसक्छु
मखमली धोती र पटुकीले पहाड नढाक्ने भएपछि
अझै आश्वासन नदेखाउनुहोस हजुर
खाँडी र खद्दरमै गर्व गर्ने बानी हामीमा परिसकेको छ ।
राजनैतिक परिवर्तनको कुरा गरेर मन वहकाउदैमा
डोल्पो लत्याउन सक्तिन म
बरु चित्त नबुझे
मलाई पिट्नुस,
बाँध्नुस
र, हर्के माइलोलाई जस्तै बन्दुकले हान्नुहोस,
तर पनि म मेरो प्यारो बसेरी छोड्ने छैन
किनकी,
डोल्पो मेरो हो
म डोल्पोको हुँ
एकपल-एकघडी डोल्पो छोड्नु भनेको
आफ्नै मुटुको नली थुन्नुसरह हो मेरो लागि
त्यसैले त
फोक्सुण्डोले मकन गर्व गरेको छ
म फोक्सुण्डोसँग रमाएको छु
र, यहि कारणले
म अपरिवर्तित छु
र, आजसम्म डोल्पाली निसारे घर्ती भनेर चिनिएको छु ।