Krishna Bajagain – Ankha Ra Sapana

कृष्ण बजगाईं – आँखा र सपना

खुल्लै आँखाले पनि
कसरी देख्न नसकेको हँ ?

आँखा चिम्लेर महिर्षिले
संसार देख्थे
ध्यान मग्न बुद्धले
ज्ञानको गहिराई देखे
आँखै खोलेर पनि
नदेखे जस्तो किन गर्नु ?

आँखा चिम्लेर पनि ब्यूँझि राख्नु– बुद्ध
आँखा खोलेर पनि नदेख्नु– राजनीति

कसरी असरल्ल छाड्न सकेका
आँखाहरु सडकमा ?

जिन्स पाइन्टको पछिल्लो खल्तीमा
आँखा राखेर किन हिँड्छन तरुनीहरु ?
वक्षस्थलमा आँखा टाँसेर
कसरी हिँड्न सकेका लोग्ने मानिसहरु ?
कसले भन्यो
राजनेताहरुको आँखा घिच्चुकमा हुन्छ ?

हाम्रै आँखा अगाडि छट्टू राजनेताहरुले
कसरी झुक्यार लगेकाछन्
जनताको आँखाको नानी,
र टाँसी दिएकाछन् उनीहरुको आँखामा सपना ।

सपनाको आकार हुँदैन
सपना साकार हुँदैन
–भन्ने जब थाहा पाउँछन् एक दिन
माग्नेछन् उनीहरुले आआफ्ना आँखाका नानी ।
त्यसपछि हेर्नुपर्दछ
कसरी चलाउँछन् अन्धाहरुले शासन ?

ब्रसेल्स, बेल्जियम