Shreeshisha Rai – Akshar Haru

श्रीशीशा राई – अक्षरहरु

निम्तो पठायौ विश्वासको खाम हालेर
म कलम लिएर आएँ

कुटील मुस्कुरायौ अंकमाल ग¥यौ
आत्मियता स्विकार्न मैले
कलम च्यापेको हातले तिमीलाई अंगालेँ
अंकमाल गर्ने बहानामा तिमीले
मलाई पिठ्युँमा छुरा घोप्यौ
म एक्कासी कहालिएँ
कलम भुईमा खस्यो

तिम्रो निम्तो मान्न म कलम लिएर आएँ
मलाई स्वागत गर्न तिमी छुरा लिएर आयौ

यी भत्किएका सीमाहरुको घाइते बनेर म अहिले
अस्पतालको शैय्यामा असुरक्षित पल्टिएको छु
कलम भुईमा छ

असामान्य आवाज कहालिएको मेरो चित्कार
सारा संयन्त्रहरुले सुने
तर त्यो कुनै संगीत थियो
रक्ताम्य हातहरुले जीवन मागिरहेको देखे
तर त्यो कुनै रमीता थियो
मेरो कलम अहिले सडकमा छ

यही बाटो भएर
पजेरो–संयन्त्र र स्कर्टिङका चक्काहरु
मेरो कलम कुल्चँदै अघि बढिरहेछन्
अक्षर जति निचोरेर वर्दि र लाठीहरु
कलमलाई चौकहरुमा निषेध गरिरहेछन्
अक्षरहरु हतार हतार पम्प्लेटमा सिउरिएर
भीड र टाउकाका ताज बनेका छन्

तिमीले उमारेका यी
अमुक पीडाहरु वापत तिमीले स्यावासी पायौ
विस्वासको मुहानहरुका यी अस्वाभाविक भङ्गिमाहरुले
मेरो शीर निहुरिएको छ
कलमवाट छुटेर अक्षरहरु
तिम्रा विकृत पाइला र आवाजहरु स्तब्ध पार्न
तिखो सल्बलाईरहेछन्

तिम्रा ताण्डवहरुको मुकदर्शक
तिमीले निलेका यी पजेरो र चक्काहरु
कुनैबेला मेरा आस्थाका शीरफुल थिए
अहिले
कलमले कोरेको घाम छेक्न खोजीरहेछन्
घामै अर्घेलो भएपछि
तिम्रो कुनै फुलबारीमा अब रंग टुसाउनेछैन
कुल्चँदैमा कलमको भाषा भाँचिनेछैन
तिमी क्षीण सम्भावना र नाजुक विकल्पहरुको उत्कर्षमा छौ
अक्षरहरुको घेराबन्दीमा छौ तिमी

यहीँ नेर
तिम्रा ताण्डवहरुको अन्त्य हुनुपर्छ
सारा विषाक्त शैलीहरु
अक्षरहरुको कठघरामा उभिनैपर्छ
कलम हातमा हुनुपर्छ
अक्षरहरुसँग खेल्नुपर्छ

धरान