हरेक वर्ष तिमी
मन्दिरै–मन्दिरको हाम्रो शहरमा
प्राचिन कला–कृतिहरू हेर्न आउँथ्यौं
मूर्तिहरू धमाधम विदेशिएपछि
रित्ता मन्दिरहरू हेर्न
तिमी आउन छोड्यौ ।
उत्तरी हिमालहरूको कञ्चन सुन्दरता हेर्न
बादलको घुम्टो नपञ्छिदासम्म
कहिले नगरकोटमा, कहिले सराङकोटमा
तिमी घण्टौं नथाकी कुर्ने गर्दथ्यौ,
धूँवा र धुलोको स्थायी घुम्टो
हिमालहरूले ओढेपछि
हिमाली सुन्दरता हेर्न
तिमी आउन छोड्यौ ।
डाँडा–पाखामा मौलाएको
शीतल संस्कृतिमा रमाउन
तिमी बारम्बार आउने गर्दथ्यौ
हाम्रो पाखा–पखेरोबाट
मुर्चु¨ाको धुन हराएपछि
डम्पूm, मादल र सारंगीको भाका फेरिएपछि
रोदीमा, देउसी भैलोमा समेत
विदेशी लूतो सल्किएपछि
हाम्रो संस्कृति हेर्न
तिमी आउन छोड्यौ ।
मित्र ! हाम्रो मन्दिरहरूबाट
प्राचीन कला हराउनुमा
हाम्रो वातावरण र संस्कृति दुषित हुनुमा
तिम्रो आगमन स्वयं कति जिम्मेवार छ
म किटानीका साथ केही भन्न सक्ंिदन
तर जे होस् मित्र ! हाम्रो भूमिबाट
आकर्षणका पुराना वस्तुहरू हराएपछि
तिमी आउन छोड्यौ ।
मित्र ! तिम्रो आकर्षणको निमित्त आजभोलि
हामीकहाँ केही नयाँ विषयहरू उब्जिएका छन्
काला बजारियाहरूको हातमा
शासनको बागडोर गयो भने
देशको अर्थतन्त्र कस्तो हुन्छ–
हेर्न मन छ भने,
देशको राजनितिमा
नैतिकताको खडेरी प¥यो भने
प्रजातन्त्र कति निरीह हुन्छ–
जान्न मन छ भने
मित्र ! समय निकालेर फेरि घुम्न आऊ ।
दूधले नुहाएको प्रजातन्त्र
सुनको चुलो भएको अर्थतन्त्र
आफ्नो देशमा पनि नभएको तिम्रो तर्क
एकातिर राख
प्रजातन्त्रको अर्थ र परिभाषा जस्ता
फजुल विषयमा पछि कुरा गरौंला
मित्र ! फरक उन्नीस–बीसको होईन,
आकाश जमीनको रहेको छ ।
तर मित्र ! रहिरहने छैन
यही स्थिति संधै
किनकि म देखिरहेको छु
सुनौलो भविष्य निर्माणको निमित्त
कुना–कन्दराबाट निस्कने गरेका
झिना स्वरहरू क्रमशः टडकारो हु‘दै गइरहेका छन्
पाखा–पखेराबाट बढिरहेका
दृढ पाइलाका पदचापहरू
बिस्तारै टड्कारो हुंदै गइरहेका छन् ।