सुवास खनाल – आदिम हावाको कथा
चराहरू
कुन महाप्रदेश
ताकेर बसाइँ गए खै ?
यहाँ
आदिम हावाको कथा
सारङ्गी रेट्दै गाइरहेछ समय
सेता घोडाहरू टाप
बजार्दै कुदिरहेछन्
चोकचोकमा
र
बन्द घडिमा
सुइहरूको अन्तिम दौडमा सामेल समय
उल्टो हावाको्
इहलीला
पढिरहेछ
भूमरी खेल्दै आएको
हूरीको बदमास कर्तुत
कुनै वर्णित
राक्षसका कथाहरू भन्दा कमजोर छैनन्
उल्काहरूले खाएको क्षितिज
अक्टोपसहरूको खुट्टामा बेरिएको
अर्धचेत पृथ्वी
रोबर्ट बनाउँदा बनाउँदै
मुटुको रक्तप्रवाह मेटिएर
रोबर्ट बनेको मान्छे
आकाश छेड्दै गरेको
कुनै अल्ट्राभाइलेट किरणले
बनाएको भयावह पोर्टे«ट
हो यति देखेपछि
म
हावाले गाउँदै हिँडेको
गीतसँग रमाउन सक्दिन
यो आदिम हावा
र
यसको आदिम कथा
किन दोहोरिरहन्छ पटकपटक ?
र
यसले किन जानेन सुल्टो चल्न ?
चोटाकोठा चहारेर
फर्केकी कुनै नवदुलहीझैँ
मौनता दगुरिरहेछ
प्रश्नका ठेलीहरू बोकेर
जहाँतहीँ
यो एकोहोरो
सुसेलीरहेको मनोटोनस
हावाको कुनै विकल्प छैन र ?
यो एकोहोरो उल्टै बग्ने
जीवनसँग
कतिपटक हिसाबकिताब माग्ने ?
म अपलक
कुनै समुन्द्र भेट्न आतुर
नदीको वेग सम्झिरहेछु
किन उसलाई बग्नु छैन उल्टो ?
किन उसलाई रोकिनु छैन कुनै क्षण ?
सपनाका चिठीहरू
खसालेर फर्केपछि
कति अनिदा रातहरू बित्छन्
हिमाललाई थाहा हुँदो हो
हिउँले छाडेर गएपछिको पीडा
रूखहरू सोच्छन्
शायद्
हावाले पातहरू खसालेर गएपछि
यो
बस्ति
शायद् कुरिरहेछ
उसले खामबन्दि गरेर पठाएको
सपनाको जवाफ
र
कुरिरहेछ
नयाँ सिरसिर
बतास बोकेर डुल्ने वसन्त ।