घूनहरुको अधिनस्थ हुन्छ मकैवारी,
हूरिको वेगमा फूत्किन्छन् छानाहरु,
दौरा काटिन्छ मूसाको प्रत्येक चिच्याहटमा ।
त्यसपछि हुनहुनाउँदै बग्न थाल्छन् खोलाहरु-
भल बोकेर पाखोभरि प्यास र डोकोभरि सपनाहरुको
चाहको घूम्तीमा टेकेको तोक्मा,
तोक्माले थेगेको जिन्दगी जस्तो भारी,
भारीलाई मायालूको चोट सम्झेर खेपेको धनमान
स्मृतिमा रुझ्दै
विहान र बेलूकीको हूरि जस्तै
हात र मूख जोरिन नसकेको
छोरा छोरीका आँखाको रंग हुँदै बग्छन् ।
सँधै किनारा खोज्ने खुशीहरु
बियोगान्त प्रेमकथाको अस्पष्ट शीर्षक बनेर
अक्करे भिरको पाउमा थुप्रिएर
अन्त्य हुन्छन् ।
कुनैवेला निधारमा खोपेको
वाग्मति खोला र पूलको तस्विर
आज आफ्नै शवयात्राको अघि लाग्छ ।
अनिष्टको संकेत स्वरुप आस्था रित्तिन्छ पाईखाना जस्तै
अचानक कोलाज हराउँछ जिजिविषाको ।