राधिका गुरागाई – अभावमा मेरो गाउँ
(मधुपर्क २०६६ चैत)
सु्न्दरता छाउने प्राकृतिक
बनोटहरू सँगै
गाँसिएर यतिबेला
आफ्नै परिवेशमा बाँच्नुको
वाध्यतासँगै
विपन्नताको वषर्ाद छिचोल्दै
ओरालो झरिरहेछ
अभावमा मेरो गाउँ ।
रित्तिएर खाली विचाररूप
टनाटन भरिएपछि
गाउँ अचेल
पीडाको दुखेसो पोख्छ
आँसु लुकाउँछ सुटुक्क
र हलुको बन्छ
मर्यादाभन्दा पनि अलिपर
वर्चस्व खेपेर सहिरहन्छ
अभावमा मेरो गाउँ ।
मेरो गाउँले नदेखेको जुन
धेरै टाढा रहेछ
मेरो गाउँले नसुनेको गीत
कोइली डाँफे मुनालमा पनि
रुखो सुनिदो रहेछ
पोल्टाभरि उज्यालोको भीख मागेर
अलिकति अलिनो
अलिकति नुन
भोको पेट र तिर्खाएको अनुहारलाई
रित्ता गाग्रीबाट प्यास मेटाउँदै
अनिश्चित भविष्य हिँडिरहेछ
अभावमा मेरो गाउँ ।
आखिर नछाड्नुको दुःख
नसाँच्नुको साँच्नुको सुख
विवशता र बन्धन
जतिसहे पनि
सन्त्रास नभेट्दै तलतल झरिरहेछ
क्रमशः
ओरालो लागिरहेछ
ओरालो झरिरहेछ
अभावमा मेरो गाउँ ।