प्रतिमा के.सी. – आँसु झारेर पढें मैले
गाउँ वस्ती र मानवीय पिडा आँसु झारेर पढें मैले
नेपाल आमाको रक्तिम छाति आँसु झारेर पढें मैले
जिन्दगीको अविरल यात्रामा भोगिएका ती भयाबह
कालखण्ड त्यो युद्धलाई हलगोरु झैं नारेर पढें मैले
मानब वधशाला जस्तै लाग्ने निर्दोस बस्तिभित्रै पनि
मानिसकै रगतको महासागर तारेर पढें मैले
गुमाएर प्रियतम बेहोसिमा बाँचेकी प्रियतमाको
गहिरो प्रीतगाथा मनलाई अति मारेर पढें मैले
बाबुआमा गुमाउने तिनै निर्दोष अबोध बालकको
अनिस्चित भविस्यमा प्रश्नै प्रश्न उमारेर पढें मैले
मुटुको टुक्रा सरह सन्तान गुमाउने तिनी आमाको
भल्भल्ती बगेका आँसु मुटु बाहिर सारेर पढें मैले
जीवनको बैशाखी लुटिएका ती असक्त बुढा बाबाको
बेसहारा जीवन आफ्नै सम्झेर धिक्कारेर पढें मैले
आफन्त गुमाएर बाँचेका बाँकी आफन्तजनहरुको
पुस्तौं पुस्ता बल्झिरहने घाउलाई हारेर पढें मैले
नमर्नु नबांच्नु घायल जीवन जिउनेहरुको पनि
दुखेको दृस्य असैय पिडा नजिक पारेर पढें मैले
आफ्नै घर खेतबारी बाटो पँधेरो युद्धमैदान बन्दा
सुन्यतामा हराएको बस्ति बादल फारेर पढें मैले
(नेपालमा चलेको १० बर्से युद्धको पृष्ठभूमिमा तत्कालिन समाजको अबस्था चित्रित गर्दै रचित गजल)
२८ मार्च २०११
(This Gajal was sent to Sanjaal Corps via Email)