Chandra Ghimire – Aalekh Ma Sunil Bastakoti

चन्द्र घिमिरे – आलेखमा सुनिल बस्ताकोटी

ट्यामचरो बासे
जो कोही फकिन्छ
तन्नेरी टाँगा चढेको
सुनिल बस्ताकोटी पनि सल्कियो
जूनको म्यानहटनमा गुँड लाउने
‘ठूलो मान्छे’ बन्ने लोभमा
छिरेथ्यो राजमार्गको पाइपमा
बिसौनीमा भो जम्काभेट
ऊ र झल्लु साहुजी सहरको
त्यो पैलो एपिसोड ।

दोस्रो एपिसोड
सुनिल जुहारीमा
गरिखान सडकदेखि सडकसम्म
फलेन जीविकायोग्य धुन
दगु¥यो ऊ धावक झैँ
न मौलायो कुरिलोझैँ सुरिलो धुन
हरेश गुमे के गर्छ मान्छेले ?
….निस्सारताको तातो कुण्डमा स्नान ।

तेस्रो एपिसोड
बारीको लाईकिरा लागेको घाम
बाँझो तिघे्र दिन
थुइक्क…केही गर्न सकिनँ
एउटाको भिसा गँुथेर
उड्यो सुनिल रकेट गतिमा— अन्जान देशतर्फ ।

काफ्का भए किन्थे होलान्
अरूले किन किन्थे ?
डालामा नबिकेका
सुनिलका नैराश्य शेयरहरू ।

अन्तिम एपिसोड
पानी थाप्दा
भर्छ पँधेराले गलाउने प्रश्नहरू
सुनिल कहाँ छ अवतरित ?
दुखिया वा सुखिया टापूमा ?

विदुर ‘बस्ताकोटी बा’ र
बाइफोकल ‘बा–चश्मा’लाई
रिप्ले भैरहन्छ
दुःखले हुर्काएको छोरो ।

नगरवधु रेनुकाकहाँ
लाभ–खातालाई भा छ पिनास
गाउँदेखि सुनिल निक्लेदेखि ।

सुनिल…हुन्थ्यो कि आइन्स्टाइन !
चमडा उतारेर के छ गर्दै ?
सब–वेमा शरणार्थी उङदै ?
वा म्याकडोनाल्डमा उमेर ठुङदै ?