Siddhicharan Shrestha – Baa Aaunu Bhayeko Chhaina

सिद्दिचरण श्रेष्ठ – बा आउनुएको छैन

पानी परिरहेछ,
हावा चलिरहेछ,
समयले अबेर ओढिसक्यो,
बत्ती बलिसक्यो,
भात पाकिसक्यो,
आमा कराउनुभइरहेछ-
बा आउनुभएको छैन ।

युग बदलिइसक्यो,
राणा ढलिसक्यो,
भन्दछ जन्जिर टुटिसक्यो
अझ पनि आजादी आएको छैन
प्रगति आएको छैन,
प्रजातन्त्र आएको छैन,
आमा कराउनुभइरहेछ-
बा आउनुभएको छैन ।

हाम्रो विचारको घुयँत्रोले
हाम्रो कल्पनाको वज्रले
अन्धकारको टाउको फुटिसक्यो
अझ पनि नयाँ बेहान आएको छैन
नयाँ युग आएको छैन
आमा कराउनुभइरहेछ-
‘बा आउनुभएको छैन ।’

Siddhicharan Shrestha – Ma Bahula Hoina


सिद्धिचरण श्रेष्ठ – म बहुला होइन

आमा तिनीहरूले जेसुकै भनून्,
म बहुला होइन ।

मैले गर्न नहुने केही गरेर हिँडेकै छैन,
बोल्न नहुने केही बोलेर हिँडेकै छैन ।

मेरो आँखा छ, त्यसैले हेर्न पाऊँ भन्छु;
पेट छ खान पाऊँ भन्छु,

नाङ्गो भएर कोही नहिँडोस् भन्छु;
आवाज कानले सुन्न पाओस् भन्छु;

बिचारलाई बोलीमा उतार्न पाओस् भन्छु;
यत्तिकैमा पनि तिनीहरू

मलाई बहुला भन्छन्,
आमा, म बहुला होइन ।

Siddhicharan Shrestha – Prem Ra Bibaha


सिद्धिचरण श्रेष्ठ – प्रेम र विवाह

पौडिरहेको माछा जस्तै
उडिरहेको चरा जस्तै,
दौडिरहेको समय जस्तै
उसले उसलाई देख्यो ।
पानीसँग गई उसले भन्यो-
“त्यो माछालाई समात्छु;”
आकाशसित गई जोड लगायो-
त्यो चरालाई पक्रन्छु;
महाकालसित गई बिन्ति चढायो-
समयलाई म रोक्छु ।
हुन्न कसैले पनि भनेनन्,
अनि ती दुवैको बिहे भयो ।

Siddhicharan Shrestha – Yug Ko Urdi

सिद्धिचरण श्रेष्ठ – युगको उर्दी

संकट पर्दछ मान्छेलाई, ढुङ्गालाई के पर्छ !
असिना आई फुलबारीकै फूलहरू पहिले झार्छ ।

जसको छाती जति विशाल त्यति नै सङ्कट उसलाई
गोली लाग्दछ बापूमा नै केही हुँदैन अरूलाई।

वडवानलले रोज्दछ सागर खोँच र खोला रोज्दैन,
संकटले पनि भुसुनाहरूमा क्वै मीठो रस पाउन्न ।

तरुणीजनले बालकहरूमा के रस पाउँदछन् साथी,
संकटदेखि थिचिनेहरूमा संकटको मिल्छ र छाती?

संकट भोगी मर्नेहरूकै नाममहा संकट खुल्छ
प्रेमी जनको याद बुनेरै प्रेमिकाको जीवन चल्छ ।

मानिस तैँले उठनै पर्छ, दु:ख संकट भोग्नै पर्छ
युगको उर्दी माने पो ता मानिस यो मानिस बन्छ ।

(२००६ साल)

Siddhicharan Shrestha – Siddhicharan

सिद्धिचरण श्रेष्ठ – सिद्धिचरण

हिजो थिएन, भोलि नहुने आज यहाँ सिद्धिचरण छ,
हाँस्छ, खेल्छ र रुन्छ, घुम्छ, आफ्नै गीत गाउँछ !
गहिरो कालो माथिबाट यौटा फिलिंगो उठेको,
निभ्न खातिर पिलिपिलि गर्छ नाम जसको जिएको ।

आज यो चलमलाउँछ, अचल भोलि पर्दछ,
‍खोजी जसको गर्नलाई युग युगान्तर बित्त्दछ !
बग्छ सवेग अनन्त धार, त्यसको कण यो एक छ,
फेरि मिलेर अनन्तमाथि अनन्तसम्म पुग्दछ !

Siddhicharan Shrestha – Euta Bichar (Nepali Muktak)

सिद्धिचरण श्रेष्ठ – एउट विचार

पश्चिम नभमा लाली छायो, साँझ पर्यो अब आज मर्यो,
समय सिन्धुमा आयु र बलको यौटा सानू बूँद खस्यो ।
के के भई अझसम्म अडेको जीवनको मेरो छेउ
तिमिर घडामा चोपी फेरि नूतन पारी छ निकाल्नु ।