Rai Chandra Dumi – Mero Kavita Ma Timi

राई चन्द्र दुमी –  मेरो कवितामा तिमी

मेरो कवितामा तिमी
मेरो जस्तै टोप शिरमा पहिरेर
केशराशिलाई रातो रिबनले कसेर
दृढ अठोटका साथ
गन्तव्यमा लम्किरहेकी छ्यौ
हुन त तिमीले
विजयका गीतहरु गाउन सकेकी छैनौ
हातका नंग्राहरु
तगारो भएका छन् गितारका तारहरुमा
हुन त तिमीले
म्यानबाट निकालेर तरबारहरुले
प्रहार गर्न सकेकी छैनौ
निशाना ठम्याउन नसकेर
अबरूद्ध भएका छन्
आँखाको नानीभित्र लत्पतिएको कालो गाजलमा
हुन त तिमी
परेडमा मिल्न सकिरहेकी छैनौ
बाधाहरू तेर्सिएका छन्
हलिउड मेड जुत्ताहरुमा
तै पनि दृढ छौ गन्तब्यमा
केवल मनले शयर गर्दछ्यौ कुरुक्षेत्रमा
त्यसैले तिमीलाई म
केवल कवितामा लेख्दछु
कल्पनामा देख्दछु
सपनामा भेट्दछु
रातो झण्डा फहराएर
केवल मुखले देशभक्तिको गीत गाइरहे को देख्दछु
भाषणले रासन बाँडिरहको देख्दछु
मेरो कवितामा तिमी
दृढ अठोटका साथ

गन्तब्यमा लम्किरहेकी छ्यौ
तर बाधाहरु पन्छाउन बाँकी छ कि कतै भनेर
तिमीले आफुलाई हेर्नेछ्यौ
म आशा गर्दछु
अब तिमी युद्ध मैदानमा फर्कनेछौ ।