नारायण अधिकारी – अब गीत गाएर मात्र कहाँ पुग्छ !
सूर्यको प्रकाशलाई बेमौसममै बादलले
कैयौं दिन अबरोध गरेपछि
जून अथवा जुनकीरीको पुच्छ्रे बत्तीले
अब अन्धकारमा
बाटो देखाउने बेला गइसक्यो ।
अब गीत गाएर मात्र कहाँ पुग्छ !
सडक, कुना, सार्वजनिक स्थल वा घरहरुमै
बम र बन्दुकले मारामारका खेलहरु चल्न थालेपछि
कपर्दी र टोपी लुकाइका खेलहरुले
मान्छे-मान्छेका बीचमा
सद्भाव जगाउने दिन गइसक्यो ।
अब गीत गाएर मात्र कहाँ पुग्छ !
अन्तर्राराष्ट्रिय सीमानाहरु एकपछि अर्को गर्दै
मानेभन्ज्याँङ्ग, मेची, सुस्ता र कालापानी हुँदै देशभित्र पसेपछि
सडक आन्दोलन, गोष्ठी वा सेमिनार धाएर
आफ्नै देशभित्र ढुक्कले गर्व गर्ने
स्वाभिमानी शीरहरु! विश्राम गर्ने दिनहरु गइसक्यो ।
अब गीत गाएर मात्र कहाँ पुग्छ !
अकारण द्वन्द्व र अभिमानले
राष्ट्रिय अखण्डता, धार्मिक सामाजिक र जातीय विविधताको
देशीय एकता, अस्मिता र पहिचान
दूतावासका कोठीहरुमा बेचिन थालेपछि
नेपाली हुँ भन्ने स्वाभिमानै गइसक्यो ।
अब गीत गाएर मात्र कहाँ पुग्छ !