भालेको डाँकसँगै
आज बच्चाहरुसँग खेल्न
झिसमिसेमै
घाम चोकमा आइपुगेछ
उज्यालोसँगसँगै
घामसँग खेल्न
म्याउँम्याउँ गर्दै
छाउरा–छाउरीहरु
विस्तारै खोरबाट निस्केछन्
म्याँ–म्याँ गर्दै
पाठा–पाठीहरु
बुर्लुक्क उफ्रेछन्
भंगेरा–भंगेरीहरु
चिरबिर गर्दै भुर्भुर् उड्दै
खुसी भएछन् ।
बाँ बाँ गर्दै
बाच्छा–बाच्छीहरु
गोठबाहिर चियाउन थालेछन् ।
क्याँ क्याँ गर्दै
टिउरा टिउरीहरु
पखेटा फट्फटाउन लागेछन् ।
भुनभुन गर्दै रमाउँदै
भँवराहरु
फूलको डालीडाली डुलेछन् ।
घामसँग खेल्न
सबैलाई खुशी लाग्दोरहेछ ।
Tag: Nepali Kavi Lakshmi Mali
Lakshmi Mali – Pratifal
यसपालिको तिहारमा
कजीनी दंग पर्दै भन्न थालिन् ‘रातै राम्रो’
गोमा बज्यै छक्क पर्दै भन्न थालिन्
‘रातो भनेको त सौभाग्य हो !’
किनकि
बारीको सयपत्री फुल रातो रंगमा फुलेछ
गोदावरी पूmल पनि रातै रंगमा फुलेछ
काजीसाबले त सेतो गोदावरी
सार्नु भाको थियो ।
पण्डितले पनि पहेंलो सयपत्री
लगाउनु भाको थियो ।
रातो भएर कसरी फुलेछ ?
माटोको धर्म
कजिनीलाई थाहा छैन क्यारे
गोमा बजैलाई पनि थाहा भएन क्यारे
गएको साउनमा
लेकबाट बगेको पानी रातै थियो
मल भएर पानीसँगै बगेको
पतकर पनि रातै थियो
रातो मलजल खाएको माटोले
सेतो र पहेंलो फुल
कसरी फुलाउन सक्ला ?
Lakshmi Mali – Chhadma Aatankakari
गाउँको एउटा लाटो छोरो
लट्टाई घुमाउँदै
आकाशतिर चङ्गा खोज्दै
कुनै पनि बेला हिँडेको हुन्छ
बालसुलभ खेलयात्रामा
बारीका डिलहरुमा
खेतका आलीहरुमा
भिडन्त र भोकमरीहरुमा
न चासो, न गुनासो
रोल्पा–रुकुमको नरसंहार
हुम्ला–जुम्लाको अनिकाल
वल्र्ड ट्रेड सेन्टर टावरको धुँवाको मुस्लो
अफगानिस्तानको गोलाबारुद
केहीमा विस्मात छैन
बस् !
उसलाई चङ्गा हेर्ने रहर
आँखा जुधाउनेसँग हाँस्ने रहर
न कुनै पूmलको कथासँग सहमति
न कुनै बूटको व्यथासँग विमति
एक्लै बनचरीजस्तै
स्वतन्त्रतामा रुपान्तरित जीवन उसको
एकदिन एकाबिहानै
गाउँको त्यो लाटो छोरोको
मृत्युको समाचार आउँछ
समाचारमा
आतंककारीको नाउँ छ ।
Lakshmi Mali – Ma Prayatnarat Chhu
खङ्ग्रङ्ग सुकेको माटोलाई
खनजोत गरी
निलो पसिनाले सिंचेर
हरियो भविष्य उमार्ने आशमा
मैले आफ्नो वर्तमानलाई छरें
तर
कहिले घाम नलागेर
कहिले छिमेकीको भेंडाले खाइदिएर
मेरो वर्तमान
मेरो रगत पसिना
मेरो विश्वासअनुसार
मेरो भविष्य
पलाइरहेको छैन
बनमारा झारले छोप्न खोज्दैछन्
म उखेल्दै फाल्दैछु
तर मैले हार स्वीकारेको छैन
भरभराउँदो घामसँगै
लहलहाउँदो भविष्यका लागि
म
मेरो बूढो वर्तमान रोप्दै
नुनिलो पसिना बगाउँदै
हरियो भविष्यका निम्ति
प्रयत्नरत छु ।
Lakshmi Mali – Euta Prashna
राजाहरुको वरिपरि
मन्त्रीहरु झुम्मिन्छन्
मन्त्रीहरुको वरिपरि
हाकिमहरु झुम्मिन्छन्
हाकिमहरुको वरिपरि
खजाञ्चीहरु झुम्मिन्छन्
खजाञ्चीहरुको वरिपरि
बहिदारहरु झुम्मिन्छन्
बहिदारहरुको वरिपरि
पियनहरु झुम्मिन्छन्
पियनहरुको वरिपरि
भिखारीहरु झुम्मिन्छन्
भिखारीहरुको वरिपरि
कुकुरहरु झुम्मिन्छन्
शक्ति र वैभवसामु झुक्ने
यो संस्कार
कहिले तोडिन्छ होला ?
Lakshmi Mali – Timro Jastai
तिम्रै जुठो दूध चुसेर हुर्केेकी
तिम्रै जडाउरी भोटो लगाएर बढेकी
तिमै्र औंला समातेर हिँडेकी
तिम्री बहिनी
तिम्रो दीर्घायूको कामना गर्छे
तिम्रो सु–स्वास्थ्यको कामना गर्छे
प्रत्येक वर्ष भाइतिहार मनाउँछे
बिहानीको शीतजस्तै चोखो माया गर्छे
तिमीमाथि इस्पातजस्तै दह्रो विश्वास साँच्छे
बहिनीसँगको सद्भावले
तिम्रो जीवनका दिनहरु सुखमय हुन्छन्
खाने, लाउने, बस्ने बराबरी बाँड
तिमीलाई शान्ति मिल्नेछ
आमा खुलस्त भन्नुहुन्छ ः
तिम्रोजस्तै बहिनीको पनि ममाथि हक छ ।
Lakshmi Mali – Cactus
शरीरभरि काँडाहरु पालेर
सुरक्षित छ क्याक्टस
विभिन्न थरिका क्याक्टसको समाजमा
विचित्रको अनुभुति हुन्छ
कुनै लड्डूजस्ता
कुनै लट्ठीजस्ता
कुनै चराजस्ता
र कुनै त मान्छे नै जस्ता
तर मान्छेजस्ता भएर पनि
यिनीहरु हावासित लहस्सिन पनि जान्दैनन्
पानीसँग जिस्किन पनि जान्दैनन्
हुरी–बतास, झरी खपेरै बस्छन्
आतंकित पनि छैनन्
हृदय नै नभएकोजस्तो
ढुकढुकी पनि नभएकोजस्तो ।
यति हुँदाहुँदै पनि
अचम्मको सौन्दर्य बोकेर
क्याक्टसमा फूल भने फुल्ने गर्छ
बस् !
केवल समय आउनु पर्दोरहेछ ।
Laxmi Mali – Ujyalo
ए द्र उज्यालो खोज्न हिँडेको मान्छे
उज्यालो कुवाभित्र खोज्ने होइन
ओठभित्र पनि होइन
चार दिवारीभित्र छैन
उज्यालो त
स्वतन्त्र आकाशमुनि हुन्छ
जहाँ घाम लाग्नसक्छ ।
Lakshmi Mali – Raat Lai Chyatera
अतीतका कालखण्डहरुमा
बल्दै छोटिँदै गएको मेरो
जीवनरुपी बत्तीमा
फर्केर हेर्दा
खल्ट्याङ्ग खुल्टुङ्ग बाटोमा छोडिएका समयका अवशेषहरु
पैतालाका डोबहरुलाई समयको प्रवाहले मेट्दै
बाँच्ने र बचाउने भूमिकामा
धेरै Continue reading “Lakshmi Mali – Raat Lai Chyatera”
Lakshmi Mali – Aama Haru
पश्चिमतिरको आकाशमा
धुवाँको मुस्लो उठेको रात
उकुस मुकुस्सिएर
रोएका थिए आमाहरु
बारुदको गन्धले चराहरु पनि
निसास्सिएको रात
आफ्ना निर्दोष सन्तानहरु
भोक भोकै जलेको रात
कहालिँदै रोएका थिए आमाहरु
दूधे बच्चाहरु काखी च्याप्दै
थाङ्ना र कोक्रालाई
आगोबाट बचाउन खोज्दै गर्दा
आफ्नै लुगाहरु जल्दै गरेको रात
निसास्सिँदै रोएका थिए आमाहरु
ओतमात्र लाग्न सकिने छाप्राहरु
बल्लबल्ल खुट्टा तन्काउन पुग्ने गुन्द्रीहरु
जबरजस्ती लाज छोप्नसक्ने मजेत्राहरु
दनदन्ती बलेको रात
छाती पिट्दै रोएका थिए आमाहरु
बालबच्चाका लागि
लिटो, ढिंडो, जाउलो र खोले पकाउन सक्ने
सिलेबरका थोत्रा भाँडाहरु
रात–दिन ढिकी–जाँतो गरी
जोगाएका दुई पाथी मकै र चार माना पीठो
त्यही पनि जलाई दिएको रात
आँखाभरि घृणा बोकेर
मुट्ठी कसेर उठेका थिए आमाहरु
(खारा आगलागी काण्डलाई सम्झँदै)
Lakshmi Mali – Sarangkot
सारङ्गकोट
पोखरा बिउँझिन्छ
तिम्रै मधुरो मुस्कानको आभाषसँगै
तिमी कुहिरोसँग लुकामारी खेल्दै
न्यानो आतिथ्यमा ढोका उघार्दै
पोखराका पाहुनाहरुलाई
माछापुच्छ«े र धवलागिरीहरुको संघार बनी
सूर्योदयको प्रतीक्षामा
सधैं–सधंै मायाप्रितिका लहरहरु बोकेर
तरेलीहरुमा
मुसुक्क मुस्काएर
पाहुनाहरुको विश्वास सँगालेर
पर्खिरहेकी छौ
प्रकृतिका सौन्दर्य सिर्काहरुले
हार्दिकता पस्किरहेकी छौ ।
सारङ्गकोट
शरद ऋतुमा पनि
चिसा–चिसा सिरेटोहरुले
पाहुनाहरुलाई ढपक्क ढाकेर
एउटा जीवनलाई ताजापनमा घोलेर
सुन्दर भावना छर्किरहेजस्तो
न्यानो सत्कारमा तल्लीन छौ
सूर्योदयको शाश्वत सत्यको नमूना बनी
उभिरहेकी छौ ।
सारङ्गकोट
तिमी पोखरामा हराएर
फेवा र माछापुच्छ«ेसँग माया साटेर
हाँसिरहेकी छौ
तिम्रो माया र सद्भावलाई
न्यानो आतिथ्यको स्पर्शलाई
सम्झिँदै, तरङ्गित हुँदै
तिम्रो सुन्दर सेरोफेरोलाई बिर्सन नसकेर
तिमीसँग फेरि भेट्ने धोको छ ।
सूर्योदयको किरणसँगसँगै,
एउटा ताजापनको आभाष भएको क्षण
हिमालहरुले रुप फेरेको दृश्य
स्वप्निल तरङ्गहरुझैं
कताकता रङ्गहरु भरेको क्षण
ए सारङ्गकोट !
कसरी बिर्सन सकिन्छ तिमीलाई ?
Lakshmi Mali – Bansghaari
अलिकति हावा लाग्नु हुँदैन
धेरै हल्ला गर्न थाल्छ
आफ्ना वृद्ध पातहरु झारेर
वरपरको भूमि कब्जा गर्न थाल्छ
पातहरु छरेर विस्तारै विस्तारै
आफ्नो भूमि बढाउँदै लान्छ
कुनै मुआब्जाविना
यसरी समयसँगसँगै
उसको क्षेत्र फैलिरहेछ
झ्याङ्गिरहेछ
प्रत्येक साँझ ऊ
सारुङ्गहरुलाई स्वागत गर्दछ
र
बास दिन्छ
तिनै सारुङ्गमार्फत्
हल्ला फैलाउन सफल हुन्छ
त्यही हल्लाले
वरपरका बकैना, आरु र कल्कीका स्वरहरु
दबाउन सफल भइरहेछ
अन्धकार र दुर्गन्धलाई
सहस्र स्वागत गर्छ
त्यसैमा हुर्किन्छ, बढ्छ र झयाङ्गिन्छ
फेरि थप्छ, अन्धकार र दुर्गन्ध
फेरि अलिकति बतास चल्छ
फेरि बेस्सरी हल्ला गर्छ
आफ्नो प्रभुत्व जमाउँछ
र
आफ्ना वृद्ध पातहरु झार्दै
आफ्नो क्षेत्र फैलाउँछ
यो बाँसघारी ।
Lakshmi Mali – Dristikon
लक्ष्मी माली – दृष्टिकोण
म देख्छु
बगैँचाको
रातो गुलाफ
मेरो आंगन रंगाउने
साथी हो
गुलाफमा टल्पलिएको
शीतको थोपा
मेरो मन बुझाउन आएको
मोती हो
जहाँ
भर्खर जन्मेको
अबोध बालकको
मुस्कान देख्छु
जोसंग जिस्केर म
आफुलाइ भुल्छु
कति पवित्र
कति सुन्दर
हेरेरै म
आनन्दित हुन्छु
तर
उ देख्छ रातोमा रगत मात्रै
गुलाफप्रति इष्र्या मात्रै
हिंसा मात्रै
शीतमा मोती होइन आँशु मात्रै ।
Lakshmi Mali – Gaun Khane Katha
लक्ष्मी माली – गाँउखाने कथा
घरको
हरेक उत्सवमा
सम्झन पर्ने,
हरेक खुशियालीमा
बोलाउन पर्ने
नयाँ उपहार दिनुपर्ने
भोजभतेर ख्वाउनु पर्ने
उनीहरु
जो रिसाउलान कि भनेर
डराइरहनु पर्ने
इष्र्या गर्लान कि भनेर
जोगिरहनु पर्ने
सफलता सुनाउन नमिल्ने
विफलता बताउन नसकिने
लौ भन त
को हुन उनीहरू ?
भन्न सकेनौ ?
लौ सुन अर्को
विपत्तिमा औधि रमाउने
बिनासित्ति त्यसै रिसाउने
मृत्यु पर्ूब कामै नलाग्ने
मृत्युपछि नभइ नहुने
को हुन उनीहरू ?
जन्मिनु अघि सम्बन्ध छैन
जन्मपछि नबोलाइ नहुने
श्राध्दका साथीहरु
पास्नीका पाहुनाहरु
बिबाहका जन्तीहरु
लौ भन-भन त
को हुन उनीहरू ?
Lakshmi Mali – Daaju
मेरो आस्था
मेरो दाजु
स्वाभिमानी आँखा
ब्रम्हाण्डजस्तो विशाल छाती
महसूस गर्छु अहिले म
कतिचोटि भुटियो
त्यो निश्चल मन
कतिचोटि भासियो
त्यो अनवरत पाइला
काँधको भारीले कलिलो निधारमा
खप्टिएका नाम्लोका डामहरु
समयको हुरीले पनि मेटाउन सकेन
म अहिले पनि छर्लङ्गै देख्छु
शान्त सौम्य महासागरजस्ता
बुद्धका चार आर्यसत्यहरु बोकेको आँखामा
श्रद्धाले नतमस्तक झुक्छु म
जुन आँखाबाट जीवनमा उज्यालो पाएँ
इमान्दारी र स्वावलम्बनको पाठ सिकें
धेरैचोटि दुखायो
धेरैचोटि सुसायो
त्यो निर्दोष आँखा
तर
कहिल्यै भिजेन
कहिल्यै झुकेन
कहिल्यै विचलित भएन
अतीतहरु साक्षी छन्
अभावले धेरैचोटि सोध्यो
स्वाभिमान भनेको के हो ?
चिचिलाहरुको साँझ बिहानका चाराका लागि
आफ्ना धेरै तरङ्गहरुलाई तिलाञ्जली दिने त्यो आँखा
जुधाउन सक्छौ भने जुधाऊ
चियाउन सक्छौ भने चियाऊ
त्यो विशाल छातीमा ।
Lakshmi Mali – Anubhuti
मलाई लागिरहेको छ
बगरदेखि शिखरसम्म
लालीगुराँस नै लालीगुराँस फुल्छ
किनकि
पहरा पहरामा
कन्दरा कन्दरामा
खोंचको कुनाकाप्चामा
फाँट र बगर बगरमा
झरझराउँदो
लालीगुराँस
ओइलिन नपाउँदै
झरेको छ
झारिएको छ
यो Continue reading “Lakshmi Mali – Anubhuti”
Lakshmi Mali – Belagam Ghoda
उन्मत्त बेलगाम घोडा
दिनदहाडै
रातविरातै
हरिया घाँसे मैदानहरुमा
नौरङ्गी फूलका फूलबारीहरुमा
अन्न लहलहाएका फाँटहरुमा
मनपरी कुल्चिँदै
उखेल्दै खाँदै
प्रकृतिविरुद्ध
विध्वंश गर्दै
नरसंहार गर्न
पानीको साटो
रगतको खोला बगाउन आतुर
त्यो बेलगाम घोडा
हिनहिनाउँदै छ
बेरोकटोक कुद्दैछ
बेहिसाब कुद्दै गरेको
त्यसको टापको आवाज
विश्वलाई संत्रासको शिकार बनाएर
सारा वैभव लुट्न
शान्तिको अभिमतमाथि टेक्दै
नियम–कानूनलाई बलात्कार गर्दै
अन्याय शब्दको
अर्थबोध गराइरहेको छ ।
के हिरोशिमाले बिर्सियो होला
उसका हिंस्रक खुरहरुलाई ?
के भियतनामले माफ ग¥यो होला
उसका तीखा दाह्राहरुलाई ?
तेलकुवाबाट निस्केका आगोका लप्काहरुले
डढेका मनहरु पलाएका छैनन्
प्यालेस्टाइनको घाउमा
खाटा बसेको छैन
अफगानिस्तानमा बगेको रगत
सुकेको छैन
फेरि त्यो बेलगाम मिचाहा घोडा
मानव सभ्यता ध्वस्त पार्न
गिद्दे आँखा तर्दैछ ।
Lakshmi Mali – Aama Lai Man Parchha
मेरी आमालाई मनपर्छ
आफ्ना सबै सन्तानले
सँगै खाएको
आफूले पनि बराबरी भाग लगाइदिन पाएको
मेरी आमालाई मनपर्छ
आफ्ना सबै सन्तानलाई
आफूले काम भाग लगाइदिएको
मेरी आमालाई मनपर्छ
आफ्ना सबै सन्तानहरुमा
आपसमा मेलमिलाप भएको
एकले अर्कोलाई प्रेम गरेको
मेरी आमालाई मनपर्छ
आफ्ना सबै सन्तानहरुले
एकैनासको लुगा लगाएको
आफूले एकैखाले कपडाका लुगा बनाइदिन पाएको
मेरी आमालाई मनपर्छ
आफ्ना सबै सन्तान
रोगमुक्त भएको
मेरी आमालाई मनपर्छ
आफ्ना सबै सन्तान
आफ्नै घरमा बसेको
आफूले सबैलाई आफ्नै घरमा मिलाएर बसाएको
मेरी आमालाई मनपर्छ
आफ्ना सबै सन्तान
ज्ञानी, गुणी बनेको
आफूले पनि सबैलाई ज्ञान बाँड्नसकेको ।
Lakshmi Mali – Ama Timro Nam Ke Ho
हजूरबा छोरी भन्नुहुन्छ
मामा दिदी भन्नुहुन्छ
बाबा श्रीमती भन्नुहुन्छ
म आमा भन्छु
आमा तिम्रो नाम के हो ?
म विद्यालय गएँ
महाविद्यालय गएँ
त्यहाँ तिम्रो नाम चाहिएन
धेरैलाई आफ्नो परिचय दिएँ
कसैबाट तिम्रो नाम सोधिएन
म बालिग भएँ, मताधिकार पाएँ
मेरो परिचयपत्रमा
तिम्रो नाम लेखिएन
म नागरिक भएँ
बाबुकै नामबाट
म जागीरे भएँ
बाबुकै नामबाट
म बेनाम आमाकी छोरी
भन आमा तिम्रो नाम के हो ?
कसैबाट सोधनी नगरेको
कतै उच्चारण गर्न नपरेको, तिम्रो नाम
सार्वजनिक गर्न चाहन्छु म
धर्ती भन्ने उपनाम होइन आमा,
मलाई तिम्रै नाम चाहिन्छ
भन आमा तिम्रो नाम के हो ?
Lakshmi Mali – Mamata
आमाको हृदयको एक छेउमा
राहत पाउन
बास बसेर हेरें
भत्किएका सपनाहरु आफसेआफ बुनिन थाले
चाहनाहरु फुल्न पुगे
प्रेमको
ममताको अथाह सागर
उर्लेर आयो र नुहाइदियो मनलाई
धन्य ! म आफै पूmल बनेर
सुवास फिँजाउन पुगेँ ।