Indra Narthunge – Chorna Najanne Haru Sanga Gunaso

इन्द्र नारथुङ्गे – चोर्न नजान्नेहरुसँग गुनासो

सुनेको थिएँ
चोरहरु टाठा हुन्छन्
चोरहरु बाठा हुन्छन्
कागको गुँडमा बच्चा कोरल्ने
कोईली जस्तै
चङ्ख हुन्छन् ।
परन्तु
होईन रहेछ
म भ्रममा रहेछु
वा
भ्रम ममा हरेछ
चोरहरु लाटा हुँदा रहेछन्
छोक्रा छोडेर बोक्रा मात्र लिने
चोरहरु बिब्ल्याँटा हुँदा रहेछन्

यी चोरहरु हुन्
जस्ले डिमोक्रेसी चोर्यो

स्वार्थको क्यानभाषमा सजायर
प्रजातन्त्रको नामले न्वारान गर्यो
उता कानुन नबने पनि चल्छ
यता बनेर पनि ढल्छ
टायरसँगै सडकमा जल्छ
पुत्लाहरुमा दिनदिनै बल्छ
चोर्न नजाने पछी
सोहोर्न नजाने पछी
सुन भए पनि
नुन भए पनि
के गर्नु हजुर
बाँदरको हातमा नरिवल ।

मिनी स्कर्टमा सजिएर
अर्धाङ्ग हल्लाउँदै
सडकमा निर्लज्ज हिडिरहेका मैंयाहरु
डिस्कोमा वियरले मात्तिएर
जवानी उफार्दै
साल्सा नाचिरहेका सानीहरु
वा
वेभसाईटका पानाभरी
स्विमङ कस्टममा देखिने नानीहरु
के स्वाङ पार्नु आधुनिकताको
किन भ्वाङ पार्नु मैलिकताको
चोर्न सक्छौ त चोर जुक्ती
चार्न सक्छौ त चोर मुक्ति
स्वस्थानी कथामा अल्झिरहेकी
तिम्री आमालाई हेर त
तिमी कहाँ छौ ?

नयाँ पेन्ट टाल्ने
लामो कपाल पाल्ने
कानमा मुन्द्रो हाल्ने
ए ! गोर्खाली छोराहरु
ए ! चोर मोराहरु
बोली चोर्योउ तिमीहरुले
गोली चोर्योउ तिमीहरुले
झोली चोर्योउ तिमीहरुले
गीत चोर्योउ तिमीहरुले
संगित चोर्योउ तिमीहरुले
प्रीत चोर्योउ तिमीहरुले
परन्तु
किन रित चोरेनौ ?
किन जीत चोरेनौ ?
किन अमृत चोरेनौ ?
केरो मुखमा हालेर
बोक्रो सडकमा हुत्याउने
तिम्रो संस्कारलाई हेर त
के तिमी
पश्चिमा जस्तै देखिन्छौ ?

चोर्नेहरुले
दृश्य चोरे दृष्टि चोरेनन्
धर्म चोरे कर्म चोरेनन्
बिचार चोरे ब्यवहार चोरेनन्
खाना चोरे, नाना चोरे
रस चोरे, रङ्ग चोरे
परन्तु
ढङ्ग चोरनन्
त्यसैले चोरहरु
जति चोरे पनि
सधैं दरिद्र
बिचारमा-ब्यवहारमा, कर्ममा-पर्ममा
दृष्टिमा-श्रृष्टिमा, बानीमा-पानीमा
सिर्फ
बेहिसाब जिन्दगी ।

Indra Narthunge – Aphim Aatanka

इन्द्र नारथुङ्गे – अफिम आतंङ्क

मनको करेसोमा
लस्करै उभिएका
फूलका निर्दोश बोटहरुलाई उखेलेर
मैले अफिम छरेको छु
हिजो मात्र

आज
भत्काउँदैछु
आस्थाका पर्खालहरु
विश्वासका चौकोसहरु
श्रद्धाकाधुरी-खाँमाहरु
मन्दिरहरु Continue reading “Indra Narthunge – Aphim Aatanka”

Indra Narthunge – Simmako Naam Ma Naya Chiththi

इन्द्र नारथुङे – सिम्माको नाममा नयाँ चिठ्ठी

तुँवालोको खास्टो ओढेर
सँधै गजधम्म बस्ने निनाम्मा
एक्कासी आधा उधारिएको देखेर
म अलिकति परिवर्तन भएको छु सिम्मा
सायद,
उज्यालोको क्यानभासमा
प्रतिविम्ब उतार्न थालेको छु
तिम्रो र मेरो ।

चौबन्दीको तुनामा तिमीले भिर्ने त्यो बिनायो
म पनि बजाउन चाहन्छु आज
सिम्मा,
भाका तिम्रै भए पनि
शब्द मेरो हुने छ त्यहाँ
आमाले सुनाउने मूलखाँबोको कथा
नक्छुङले फलाक्ने मुन्धुमहरु
थिविया चरीले बोहोरीको रुखमा बसेर कराउने
विरही स्वर
मेरो शब्दभित्र पक्कै हुने छैनन्
विश्वास गर सिम्मा
मेरो गीत तुवाँलो हटेको निनाम्मा जस्तै
सागर पोतिएको हुनेछ,
निराकार, निरामय, निरावृत,
निरालस्य, निरापद्, निराकुल…..
जहाँ हामी,
घाम सँगसँगै उदाउने छौं
घाम सँगसँगै अस्ताउने छौं ।

सिम्मा,
हामीले धेरै पुज्यौं दायलुङलाई
र,
थकाई मेट्न वालाखा पुग्यौं ।
साकेलामा नाच्यौं अनगिन्ती सिलीहरु
हुनसक्छ,
खर्कभरि बुकी फुल्दा
रहरहरु फुले होलान् तिम्रो र मेरो
तर एकदिन
गोठालाको खस्रो हातले निमोठियौं र,
दर्शनढुङ्गामा चकमकको ठ्याक्कसँगै बल्यौं झुलो बनेर ।

हो,
निनाम्मा उघ्रिएको बेला
मन उघार्नु पर्छ अब ।

के छैन हामीसँग
सबथोक छ
पूर्खाको विरासत
तोयामाखियामाको तान
र, घु¥यानमा सिस्नोको झाडी लुटिएको छैन अझै
यति हो,।
अरुको सुरक्षार्थ बुट बजार्दाबजार्दा दिमाग भुत्तिएको छ
सेहें मनहरुको मान राख्दाराख्दै सपना लुटिएको छ
त्यसैले त सिम्मा,
साकेला गीतको भाकाहरुमा
म नयाँ शब्दहरु थप्दै छु,
“सेल्मे र ट्याम्के हाराहार
अधिकार सबैको बराबर
सैसैला हो हुर्रा हाहा” ।

सिम्मा,
निनाम्मा उघ्रिएको बेला
सँघार नाघेर आँगनमा निस्कनु पर्छ आज
पाखाभरी राताम्य फुलेका गुराँशहरुसँग
हामी लिम्चिङबुङ दाँजिनु पर्छ
भत्काएर संस्कारका पर्खालहरु
ढलाएर शासकका शालिकहरु
च्यातेर नाटकका पर्दाहरु
रोकेर निरन्तरताका गतिहरु
एउटा नयाँ बिहानको संखघोष गर्नुपर्छ
सबैले छुन सक्ने
सबैको हुन सक्ने
त्यो विहान
बादल फाटेको निनाम्मा जस्तै
सागर पोतिएको हुनेछ
नराकार, निरामय, निरावृत
निरालस्य, निरापद्, निराकुल…..
जहाँ हामी
घाम सँगसँगै उदाउने छौं
घाम सँगसँगै अस्ताउने छौं ।

*****
किरात चाम्लिङ राई भाषाका शब्द र मिथकहरुको अर्थ

सिम्मा —खुसे, कान्छी छोरी
निनाम्मा–आकाश
लिम्चिङबुङ–लेकमा फुल्ने एक प्रकारको वास्नादार फूल
वालाखा —-पानी भर्ने पँधेरो (किरात राईका बिजुवाहरुले मुन्धुम फलाक्दै
जाँदा पहिलो पल्ट बिसाउने ठाउँ)
मुन्धुम——किरातहरुको धर्म शास्त्र
तोयामाखियामा—एक किरात लोककथा भित्रका किराती दिदीबहिनी, छोरीचेली
साकेला——किरात राईहरुको बिजुवाले जमिन खोस्रेर निकाल्ने अण्डा आकारको ढुङ्गा, (जुन ढुङ्गाको रङ हेरेर शुभ अशुभ छुट्याईने गरिन्छ) ।
सिली——-साकेला नाच नाच्ने विधी
दायलुङ——चुल्हा, अगेना
नक्छुङ——किरात राई जातिको बिजुवा
मूल खाँबोको कथा—किरात राईहरुमा प्रचलित एक मिथक
थविया चरा र बोहोरीको रुख—किरात राईहरुमा प्रचलित एक मिथक
सेहें —–तलबितल परेर मृत्यु भएकाहरुको आत्मा, जसले बाँच्नेहरुलाई दुःख दिन्छ भन्ने भनाई छ ।

Indra Narthunge – Kasle Sunayo Timilai Yo Jhuto Kura

इन्द्र नारथुङ्गे – कसले सुनायो तिमीलाई यो झुटो कुरा

(पूर्ण संघीयताको लागि कविता आन्दोलन)

ठाउँठावै खाल्डा खुल्डी
ठाउँठावै थुम्का थुम्की
कतै तिर्खाले ब्याकुल बालुवा
कतै पानीले जलथल जरुवा
समाहा राख्न पनि नमिल्ने
जमाहा फाल्न पनि नमिल्ने
अक्करे एउटा गह्रालाई
आली थपेर केही ठाउँमा
केही गह्राहरुमा विभाजन गर्न लाग्दा
लालपूर्जाबाटै नयाँ गह्राहरु अलग हुन्छन् भनेर
कसले सुनायो तिमीलाई यो झुटो कुरा ।

हलगोरु छिर्नै नसक्ने फोक्टाहरु
कुलोले भेट्दै नभेट्ने चोक्टाहरु
मैले बनाउँछु भनेर कहाँ भने
हो
अलिकती हेरेर होचोअर्घेलो
अलिकती खोजेर धुलो-चिम्ट्याईलो
माटो बराबर नभएपिन
बाटो बराबरीनै पुग्ने
यस्तै गह्राहरु छुट्याउन लाग्दा
छुट्टिएका गह्राहरुमािथ
छिमेकीले आँखा गाड्छन् भनेर
कसले सुनायो तिमीलाई यो झुटो कुरा ।

गह्राको वर्तमान संरचनालाई हेर त
के उस्तै छन् पूर्व र पश्चिम
के उस्तै छन् उत्तर र दक्षिण
केन्द्रबाट पूर्व लाग्दा भिरैभिर
केन्द्रबाट पश्चिम लाग्दा भिरैभिर
छुँदै नछोईने उत्तर
धुँदै नधोईने दक्षिण
हलगोरु साउन पनि नमिल्ने
पानी लाउन पनि नमिल्ने
यो अक्करे गह्रालाई
आली हालेर केही ठाउँमा
मात्र माटो विभाजन गर्न लाग्दा
मन टुकि्रन्छ भनेर
कसले सुनायो तिमीलाई यो झुटो कुरा ।

धेरै भयो माटोले अस्तित्व गुमाएको
पहिरोले पुरेर पुरानोलाई
इतिहास नामेट हुनै लागेको बेला
सहसा जागेर सपनाहरु
आफैलाई खोज्न थालेपिछ
तिमीले बाटो देखाउनु पर्नेमा
उल्टै अतालिन्दै छौ किन
माटोले मागेको त मात्र पहिचान हो
रातोलाई रातै भनिनु पर्छ
कालोलाई कालै भनिनु पर्छ ।

एउटा सिङ्गो गह्रा
केही गह्राहरुमा बिभाजन भएपिछ
गह्रा-गह्रा बीचमा
पानी बाराबार हुन्छ भन्ने
सायद तिमीले सुन्यौकी
त्यसैले त भन्न सक्यौ
साकेला र मारुनी एकै ठाउँमा अटाउँदैन
रोधी र भैलेनी एकै गाउँमा गाइन्दैन
गुम्बा मस्जिद र मन्दिर सँगसँगै धाइन्दैन
भन
कसले सुनायो तिमीलाई यो झुटो कुरा ।

ए ! मान्छे
हल्लाहरुको पछि लागेर
अब पनि परिवर्तनलाई कहिलेसम्म रोक्ने
यथास्थितीलाई कतिाजेलसम्म बोक्ने
कतै पानीले जलथल जरुवा
कतै तिर्खाले ब्याकुल बालुवा
समाहा राख्न पनि नमिल्ने
जमाहा फाल्न पनि नमिल्ने
यो अक्करे गह्रालाई
आली हालेर केही ठाउँमा
मात्र माटो विभाजन गर्न लाग्दा
मन टुकि्रन्छ भनेर
किन उल्टै मनहरु भाँची रहेका छौ

महोदय
मैले थप्न लागेको आली
पनामा होईन युरेसिया होईन
रेड क्लिफ लाईन वा मेक मोहन लाईन पनि होईन
प्यारालल-३८ त झन् हुँदै होईन
मात्र गंगाले पछ्याएको बाटो
ब्रम्हापुत्र वा नाईलले छोएको माटो
कोशी गण्डकी र कर्णालीले बनाएको टाटो जस्तै
अलगअलग बहावको अलगअलग क्षेत्र मात्र हुनेछ
जहाँ
रोधीँ र हाक्पारे सँगसँगै गाउँने छौं हामी
होलीमा रङ्ग सँगसँगै लाउँने छौं हामी
मन्दिर मस्जिद गुम्बा र साकेलाथान
सँगसँगै धाउने छौं हामी

हो
मनहरु बराबर भएपिछ
कुलेसोले गह्राहरुलाई बराबर छोएपिछ
आलीहरु सीमा बन्दैनन् महासय !
यो गलत छ कसैले भन्दैनन् महासय !

Indra Narthunge – Simma Ko Naam Ma Naya Chiththi (Part 2)

इन्द्र नारथुङे – सिम्माको नाममा नयाँ चिठ्ठी—२

अर्थहरु अनर्थ बन्दै गएपछि
अनर्थहरुले अर्थको रुप लिएपछि
हामी ब्यर्थ हुँदैछौं सिम्मा
त्यसैले त तिम्रो नाममा

अर्को नयाँ चिठ्ठी
लेखिरहेको छु
यतिबेला ।

निनाम्मा आधा उधारिए पनि
चेतनाको ढोका उधारिएन मूलीहरुको
र,
हामीले पनि खोल्न सकेनौ भविश्यलाई
वर्तमानकोे सँघारमा टेकेर
साँच्चै सिम्मा
अरुलाई घृणा गरेर
सम्मानित हुन चाहने
मेरा येंतोहरु
खुट्टा लम्पसार पारेर
दायलुङ ओगटीरहन चाहने
लिङ्पाहरु भन्दा के फरक भए र ?

एकदिन यस्तो समय आउने छ सिम्मा
जहाँ हामी खोजेर पनि भेट्ने छैनौं
धर्म र जातका यी कुरुप सीमाहरुलाई
र, अन्ध राष्ट्रियताले ठडिएका
जङ्गे पिलरहरु
हो
त्यही दिनको लागि
समानताको कुरा उठाएको हुँ मैले ।

मानिलिऔं,
तिमी तिर्खाएकी छ्यौ धेरैधेरै
र, म पानी पिलाउँछु तिमीलाई थोपाथोपा
तिमीले बाएको मुखमा
हरेक पल्ट खस्ने जलविन्दुले
के तिम्रो तिर्खा मेट्ला ?
जरुर तिर्खा मेटिने छैन
केहीक्षण बिचार गरेर हेर
तिर्खा अझ बढेको पाउने छौ तिमीले
हो सिम्मा
अहिले यस्तै भएको छ यहाँ
बिलकुल तिम्रो तिर्खा जस्तै—समानताको
त्यसैले त अधिकारको नाममा प्राप्त हुने
पानीको सानो थोपाले
हाम्रा येंतोहरुको प्यास बढिरहेको छ धेरैधेरै
तर गल्ती यही हुँदैछ
येंतोहरु
तिर्खा मेटिएपछिको दिनलाई
ठिम्याउन सकिरहेका छैनन्
भान्छेहरुले जस्तै ।

सिम्मा
जुन दिनदेखि
साकेला प्यारो भो मलाई
त्यही दिनदेखि
दशैं होस् या होली
रमादान या क्रिसमस
सबैसबै मेरोनिम्ती
प्रिय बनेको छ
गर्भैबाट सिकेर आएको
रोदुङ इला होस् वा पर्वते कुरा
अथवा भोजपुरी, मैथिली, अवधी र हिन्दी
अथवा अंग्रेजी, चाइनिज र स्पेनिस
वा
हाल म जहाँ छु
त्यहाँको राष्ट्रिय भाषा मलायु
अँह
घृणा गर्न लायक मैले कुनैलाई पनि देखिन
साँच्चै सिम्मा
आफ्नालाई माया गर्न जानेपछि
परकाहरु स्वतः प्रिय हुँदारहेछन्
तर सिम्मा
परकाहरुलाई घृणा गरेर मात्र
आफ्नालाई माया गर्न सकिन्छ भन्ने भ्रममा
अल्झिरहेका मेरा येंतोहरु
कसरी फरक भए
आफ्नै मात्र गतिलो देख्ने
लिङ्पाहरु भन्दा ?

सिम्मा
हाँगा भाँचेर लिम्चिङबुङ टिपी
तिम्रो चुल्ठो सजाउन
म कसरी सक्छु यो बेला
हो
तिमी उजाडिएकी छ्यौ युगांैदेखि
सभ्यताले ठगेको छ तिमीलाई धेरैधेरै
परन्तु
वासन्ती रङ्गले लछप्पै भिजाएर
राष्ट्रको क्यानभासमा तिम्रो विम्ब उतार्न
अरु कसैको जीवनमा
शिशिर पठाई दिऊँ…..?
कसम सिम्मा
म,
यो पनि चाहन्न
यदि मैले यसो गरें भने
नफुल्दै मुर्झाएका
तिम्रा रहरहरुलाई
जात र धर्मको कुरुप सीमामा
भन्सारकर लगाउने
लिङ्पाहरु भन्दा म फरक हुन्छु र ?

सिम्मा
निनाम्मा आधा उधारिएको बेला
चेतना पूरै उर्धानु पर्छ हामीले ।
ता कि,
हाम्रो चेतनाको उज्यालोमा
बाटो पहिल्याउन सकुन्
अस्तित्वको संघर्षमा
अस्तित्व दाउ थापिरहेका येंतोहरुले
र,
अरुको अस्तित्वमा ताण्डब नाचेर
आफैलाई अस्तित्व बिहिन बनाई रहेका लिङ्पाहरुले ।

हो सिम्मा
एकदिन यस्तो समय आउने छ
जहाँ हामी खोजेर पनि भेट्ने छैनौं
धर्म र जातका यी कुरुप सीमाहरुलाई
र, अन्ध राष्ट्रियताले ठडिएका
जङ्गे पिलरहरु
हो
त्यही दिनको लागि
समानताको कुरा उठाएको हुँ मैले ।
****

चाम्लिङ राई भाषाको शब्दका अर्थहरु
येंतो: एकै गोत्र वा थरका दाजुभाइ ।
लिङ्पा: आर्य समुदायका उच्च जातीय मानिसहरु ।
रोदुङ इला: राई भाषा