Ganga Prasad Upreti – Jeewan

गंगाप्रसाद उप्रेती – जीवन

हार र तिरस्कारको बिस्कुन फिजाउँदै
सुकिला आकांक्षाका नानी खेलाउने
बूढीआमाका चाउरिएका अनुहारमा पनि
जीवन नाचिरहेको मैले देखेको छु
सूर्यादयको मीठो किरणको उन्मादी चुम्बनमा
मसक्क मस्कने रुमानी गुलाबसँगै
कहिले रत्तिदै, कहिले मस्किदै
जीवन हाँसिरहेको मैले भेटेको छु।

निराशाको घुर्मैलो कात्रो ओढाई
जबर्जस्ती दाहसंस्कार गर्न जीवन ऊर्जाको
घाट झर्दै गरेका ए मलामीहरु हो
खोई काखी मुनिको दुर्गन्ध ? खोई सिसिपसको कथा ?
कहाँ नाचेको देख्यौ ख्याक तिमीले
जीवनको यो हरियाली करासोमा ?

होला ! नुनीला पिरा आँसुहरुले
यसको कथा भिजेको होला
पीडन र ग्लानिको झापट खपेर
जीवन कतै झुकेको होला
तर यो झुकाइको अन्तरपीडाबाट
एउटा फिलुंगो बुत्ताइरहेछ
राम्रो हेर त धैर्यको चश्माले
पिरो नुनिलो आँसु पिएर
प्रसव वेदना थामथुम पार्दै
नयाँ आशा र उज्यालो
पौरख बिछ्याइ बाटाहरुमा
तेजिला बिम्ब बनी लम्किरहेछ
स्वाभिमानले उठेका शिखरहरुमा
जीवन आफैं कुर्लिरहेछ
मस्त झुलेका बेसी फाँटमा
जीवन बाला झुलिरहेछ
कोशी, गण्डकीको सुरिलो भाकामा
विजय गीतको राग सुसेल्दै
कोही अघि बढिरहेछ
हरेक खेतमा हरेक पाखामा
नयाँ कलेबर बनिरहेछ
काँडाहरुको पीडा भुली
जीवन क्रमशः फुलिरहेछ ।