Biplav Pratik – Saamanjasya

बिप्लव प्रतिक – सामञ्जस्य

तोते बोल्थेँ, दौडिँदै केराघारीलाई अँगाल्थेँ
भोगटेका रूख चढ्थेँ, खस्थेँ
र सूर्योदय हुनेबित्तिकै बाबा र आमाको वात्सल्यबाट
फुस्किएर आँगनमा र्झर्थें
घर फर्किंदै गरेका चराचुरुङ्गीका बथान
धानखेतमा बसेर हेर्दाहेर्दै सुर्य अस्त हुन्थ्यो ।
दौँतरीहरू हुन्थे, तिलौरी हुन्थ्यो
दसैँमा टीका अनि फेरि द्यौसी र झरिझरिे हुन्थ्यो
त्यो शैशव थियो ।

कुनै मोह थिएन, उमङ्गबाहेक
कुनै त्रास थिएन, परम्पराको बाहेक
हो, मोह थियो र त्रास पनि थियो
शैशव थियो त्यो ।

आज म हुर्किएको छु
मोह र त्रास पनि हुर्किएको छ
नयाँ रूप छ र त्यसको रङ्ग फैलिएको छ ।
अब म आरुबारीमा आरु चोर्न जान सक्तिनँ
अब म स्कुल जान र त्यहाँबाट बीचमै कक्षा छाडेर भाग्न सक्तिनँ
तर, खुसीहरू चोर्न सक्छु
आफ्नो महत्वाकाङ्क्षाको धनुषले
कसैको बलि दिन सक्छु
औँलाहरूको डरले म आफैँबाट
भाग्न सक्छु
म कर्तव्यबाट भाग्न सक्छु, म बाटो बिराउन सक्छु
हो, पक्का हो !
मोह पनि हुर्किएको छ
त्रास पनि हुर्किएको छ
केही बदलिएको छैन
केवल दृष्टि बदलिएको छ
परिभाषाहरू बदलिएका छन्
केवल यत्ति हो कि
कट्टु लगाएर सिँगान पुछ्दै
नाङ्गा खुट्टा, धुस्रैफुस्रै
कसैले देख्छ कि भनेर पल्याकपुलुक हेर्दै
अब म आरुबारीमा आरु चोर्न जान सक्तिनँ ।

घट्टेकुलो, २ नोभेम्बर १९९२

Biplav Pratik – Bado Amurta Katha Chha Yo

बिप्लव प्रतिक – बडो अमुर्त कथा छ यो

(बडो अमूर्त कथा छ यो)
जन्म जसरी एउटा सन्जोग
मृत्यु पनि एउटा सन्जोग
सन्जोगकै जिन्दगी जिउनुपर्ने बाध्यतामा
हरेक मानव पिल्सिएर रोगी भए तापनि
स्वस्थ भएको अभिनय गरिरहेछ
(बडो अमूर्त कथा छ यो)

जुन दिन मान्छेले सन्जोगसँग विजय प्राप्त गर्नेछ
त्यही दिन विनाश सुरु हुनेछ
र सृष्टिले विश्राम लिनेछ
(बडो अमूर्त कथा छ यो)

सन्जोग कसैलाई साह्रै सुखदायी हुन्छ
सन्जोग कसैलाई साह्रै दुःखदायी हुन्छ
त्यही सन्जोग तिमी भोगिरहेछौ
त्यही सन्जोग म भोगिरहेछु
त्यही सन्जोग हामी भोगिरहेछौँ
(बडो अमूर्त कथा छ यो)

नयाँसडक, २९ सेप्टेम्बर १९८७

Biplav Pratik – Swabhab

बिप्लव प्रतिक – स्वभाव

कुनै दिन म पनि कैदमा
एउटा आँखीझयालबाट
एक टुक्रा उज्यालो
घामसँग सुटुक्क चोरेर लिने गर्दथेँ ।

तर, आज त म निकै नजिक छु उज्यालोसँग
उज्यालोले मलाई नै छोएर हिँडिरहेछ
न्रि्रुक्क नुहाएको छु म प्रकाशले
स्वाभाविकै हो मलाई काउकुती लाग्छ
कहिले उफ्रिन मन लाग्छ
कहिले खुसीले कराउन मन लाग्छ
थाहा छ मलाई
र भन्छन् मान्छेहरू
‘मात्तिनु हुन्न सुखमा र आत्तिनु हुन्न दुःखमा’
तर, मान्छेकै प्रकृतिसँग लाचार छु म

आदर्शका तलाउमा नपौडीकन
साँच्चै भन्ने हो भने
आज, म निकै चन्चल छु ।

सिनामङ्गल, २६ मार्च १९८७

Biplav Pratik – Nahareko Manchhe

बिप्लव प्रतिक – नहारेको मान्छे

मैदानमा म एक्लै छु
र झयाल थुनेर घरहरूको
च्याइरहेछौ तिमीहरू ।
मलाई मान्छेहरूले तमासा हेरेको मन पर्छ
र मलाई लाग्छ
मान्छेहरू तमासा हेर्ने केवल एक हूल भीड मात्रै हुन्
मलाई गर्व छ
मैदानमा म एक्लै छु ।

रुन्छु म, मलाई पनि दुःख छ
चोट, प्रहार अनि विचारको दुःख
तर गौरव छ मलाई, मैदानमा म एक्लै छु ।

आँधीसँग सामना गर्ने कुनै युवक
प्रहारसँग सामना गर्ने कुनै युवती भेट्ने रहर छ
आँसुका थोपालाई मोतीका रूपमा सजाएर
रत्नजडित किस्तीमा पेस गर्ने रहर छ ।

तर, मैदानमा म ए क्लै छु
जून एक्ली, सूर्य एक्लो, पृथ्वी एक्ली

मैदानमा म एक्लै छु ।

Biplav Pratik – Apratyaashit

बिप्लव प्रतिक – अप्रत्याशित

सपनाहरू
कति कुहिएका पनि छन् सायद
तैपनि म बोकिरहेछु काँधमा
छातीमा प्रीत छ
मैले चाहेको मेरो संसार
मेरै आँगनमा म खोज्दै बसेको पनि छु
म यात्रामा थाकेर सुस्ताएको पनि होइन
तर, म भड्की पनि रहेको छु कताकता
लक्ष्यको परेवा समाते पनि
कहिले समात्दैछु, कहिले फुत्किँदैछ ।
नभेटेका कुरा त छँदैछ
कति भेटेका वस्तु पनि नभेटेका जस्ता देखिन्छन्
त्यतिखेर किन चिच्च्याउन मन नलागोस् त मलाई ?
किन आँधीझैँ वेग नमारूँ ?
अनि किन आगोझैँ हुरहुरिँदै नबलूँ त म ?

तर, एक्कासि सेलाएँ भने म ?
हँ, अचानक म मरेँ भने, भरे राति नै ?
कहाँ बात मार्छन् होलान्
यी मभित्रका मेरा अर्न्तर्द्वन्द्व
आर्तनाद अनि अनुभवहरू ?

साँच्चै, म मरेँ भने, के हुन्छ होला, भरे राति नै ?

घट्टेकुलो, २८ मार्च १९९१

Biplav Pratik – Sthiti Chitra

बिप्लव प्रतिक – स्थितिचित्र

प्रचण्ड गर्मी, तातो ! तातो ! तातो !
मान्छेहरू बोसोदेखि गिदीसम्म पग्लिँदै गइरहेछन्
तरल ! तरल ! तरल !
शहर बाफिएको छ
उसिँनिदैछन् घरहरू
छटपट ! छटपट ! शहर छटपट !
मान्छेहरू Continue reading “Biplav Pratik – Sthiti Chitra”

Biplav Pratik – Nango Shahar

बिप्लव प्रतिक – नाङ्गो शहर

आज म यस शहरमा
नाङ्गै उपस्थित भएको छु
तर अचम्म ! मलाई हेरेर कसैले आँखा छोपेन
पटक्कै लाज लागेन यहाँका मान्छेहरूलाई ।
कचल्टिएको भातजस्तै
आधाकाँचा मानिसहरूको बस्तीमा
मेरो नाङ्गोपन कुनै रमिता बनेन ।

यिनीहरू अचेल कागजको फुलमा बास्ना हाल्छन्
यिनीहरू अचेल रोबोटको शरीरमा धुकधुकी भेट्छन्
मानिसमानिसबीच संवेदनशीलता र सहृदयता
मानिसमानिसबीच सद्भावना र म्वाई अब चाहिएन
अब चाहिएन प्रेम, आत्मीयता र मृदु कुराहरू पनि
र विकृत भइसके मानवीय मूल्यहरू…
यस्तो अवस्थामा, यस शहरमा, यहाँका मानिसहरूबीच
नाङ्गो हुनुबाहेक अर्को बाटो पनि त छैन ।

यस शहरमा आज म नाङ्गै उपस्थित भएको छु
र भोलि शहर, गाउँ र बस्तीका
तमाम नागरिक नाङ्गै देखिइनेछन्
निर्वस्त्र हुनेछन् शरम नभएको शहरमा ।

Biplav Pratik – Nagar Badhu

बिप्लव प्रतिक – नगरवधू

नाइँ त अवश्यै भन्छे
होला, बरु आफ्नै भाषामा
बगरेको हात परेकी
कुनै पनि बाख्रीले ।

तर, बगरेको नियत र धारिलो छुरा
त्यति दयावान् हुन कहाँ सम्भव छ र ?
उसले त जहाँबाट भए पनि सेरेर
बाख्रीको मासु ताछ्ने प्रक्रिया सुरु गर्छ ।

पछारिने, घिसारिने
रुने, कराउने प्रारब्ध
क्रमैसँग भोग्दै
बिचरी बाख्री प्रहारपिच्छे पटकपटक चोइटिँदै
एकएक टुक्रामा विभाजित
सम्पूर्ण बिक्री हुन्छे ।

आखिरमा सबैले उसलाई चाख्छन्
तर, उसको स्वाद चाख्ने सिकारीहरूको स्वाद
उसले कहिल्यै चाख्न पाउँदिन ।

Biplav Pratik – Swadesh Ko Maya

बिप्लव प्रतिक – स्वदेशको माया

मन नलागीनलागी
कसैको पनि बनोट वा बुद्धिको तारिफ गर्नु
वा कसैलाई राम्रो भन्नु
चाकरीको सङ्केत हो
त्यसैले पनि स्वदेश
तिमीलाई माया गगर्छु भनी अहिले भन्नुपरे
म आफूलाई चापलुस Continue reading “Biplav Pratik – Swadesh Ko Maya”

Biplav Pratik – Jindagi Ra Jindagi

बिप्लव प्रतिक – जिन्दगी र जिन्दगी

म पहिले कल्पना गर्थें
अहिले धुम्धुम्ती सोचिरहन्छु
आँखामा सप्तरङ्गी तस्बिर नाच्दानाच्दै
अब सायद आँखामा एउटा फुलो परेछ, सप्तरङ्गी फुलो ।
जीवनमा आएका वसन्त, शिशिर
वर्षा र हिउँदले मलाई
निरन्तर चोट र प्रहार मात्रै दिएको रहेछ ।
म कुप्रो परेर
बाँकी जीवनका बिस्कुनहरू
समयको लठ्ठीले यताउति पल्टाउँदै जान्छु ।
मौसम प्रतिकूल, ओस लागेको छ
चारैतिरको दुर्गन्धले
फोक्सो सास लिन नसक्ने भएको छ ।
आँखा उठाएर हेर्छु
रगत र मासुका चिथ्ला ढुसी परेर गन्हाएको
चिसो पसलभित्र
पकपकी माटो उप्किने गारोमा खिया लागेको कीला ठोकेर
नाइलनको डोरीमा बगरेले सुकाएको बोसोका पत्रहरूझैँ
जिन्दगी सुक्दै जाँदैछ ।

यहाँ केको सार छ ? निस्सार के हो ?
म घोत्लिरहन्छु, तर जवाफ छैन
हुन सक्छ यसको उत्तर पहिले नै भनिसकियो
र हामीले सुनिसक्यौँ
सके सुनेर पनि याद गरेनौँ ।

८ अगस्ट १९९२, घट्टेकुलो

Biplav Pratik – Yug Prabesh

बिप्लव प्रतिक – युगप्रवेश

म ती दिनका कुरा गर्दैछु
जब सूर्य पनि आङ तान्दै
आफ्नो गुफाबाट निस्कन्थ्यो
अनि म ती रातका कुरा गर्दैछु
जब चाँदनी मस्किँदै
आफ्नो आश्रयबाट सुस्तरी ओर्लन्थी
बिहान मोतीभन्दा Continue reading “Biplav Pratik – Yug Prabesh”

Biplav Pratik – Aparajit

बिप्लव प्रतिक – अपराजित

हारपछि हात बाँधिनु मात्रै हुँदैन
उदास रहेर अडेस लाग्नु मात्रै हुँदैन
प्रत्येक हार नै जितको अर्को नाम हो
पराजित नै आखिरमा अपराजित हुन्छ ।

सूर्योदय हुनु छ र अँध्यारो मेटिनु Continue reading “Biplav Pratik – Aparajit”

Biplav Pratik – Birodh

बिप्लव प्रतिक – विरोध

तिमी बारम्बार
हाँस भन्छौ मलाई
तर, यता म आफू हाँस्नुको कुनै महत्व देख्तिनँ ।
म आफू आफैँलाई पोलिरहेछु
आफ्नै नङ्ग्राहरू चिथोर्दैछन् आफ्नो छातीलाई
कति बीभत्स हुन्छन् हगि रगताम्य Continue reading “Biplav Pratik – Birodh”

Biplav Pratik – Shaishab

बिप्लव प्रतिक – शैशव

एउटा गुथुमुने बालक थिएँ म
मायाले उचाल्ने र म्वाइँ खाने थुप्रै थिए
इच्छाको अँगालो र म्वाइँमै मेरो शैशव कठै सकियो ।
थुप्रै इच्छाका नौघोडे रथको सारथी म एक्लै थिएँ ।
तर, मेरी आमा र मेरा बाबाको इच्छायुद्धमा
आज म न आमाको इच्छाजस्तै छु
न बाबाको चाहनाजस्तै छु
यहाँसम्म कि म मेरो सपनाजस्तो पनि छैन ।

बालकहरू देख्नेबित्तिकै
त्यसैले, म सोचमग्न हुन्छु ।
आँखा रसाएर आउँछ
फेरि एउटा इच्छाको मृत्युलाई महसुस गरेर,
अनि यही कारणले गर्दा नै
म बालकहरूलाई कुनै इच्छाको आँखाले हेर्दिनँ
उनीहरूलाई आफ्नो इच्छाको बदला कहिल्यै बन्धक राख्दिनँ ।

एउटा गुथुमुने बालक थिएँ म
मायाले उचाल्ने र म्वाइँ खाने थुप्रै थिए
इच्छाको अँगालो र म्वाइँमै मेरो शैशव कठै रित्तियो ।

नयाँसडक, ६ सेप्टेम्बर १९८७

Biplav Pratik – Agnipath

बिप्लव प्रतिक – अग्निपथ

यो एउटा गोरेटो साँगुरो
धेरै पर पुगेपछि दोबाटाहरू भेटिनेछन्
अनि अझै पर, धेरै पर पुगेपछि मात्रै राजमार्ग भेटिनेछ
त्यहाँ पुग्नेहरूले खबर लिएर आएका
बाटो कति लामो छ भनेर ।
त्यो बाटो लड्खडाउने पाइलाहरूका निम्ति होइन
आगो र आँधीसँग डराउनेहरू यो बाटो हिँड्दैनन्
हिम्मत र लडाइँको बाटो हो यो
पाइलैपिच्छे यस बाटामा विचारको युद्ध भइरहन्छ विचारसँग
र तर्कको तर्कसँग
बूढो रूख त ढल्नु नै छ
या नदी सागरसँग मिल्नेछ ।

हिँड्दाहिँड्दै यस बाटामा तर्साउने कुरा पर्याप्त छन्
उल्टो दिशाबाट बहुलाजस्तै चिच्च्याउँदै मानिसहरू आउनेछन्
रोकेर सोधे तिनलाई
तिनले भन्नेछन् बाटो डरलाग्दो छ ।
तिमीलाई पनि डर लाग्न सक्नेछ
फर्किन पनि सक्छौ तिमी बीचैबाट
रगतमा लतपत कोही मर्नै आँटेका हुनेछन्
र कति त मरिसकेका हुनेछन्
कहाली लाग्न सक्छ तिमीलाई पनि पराजयको
त्यसबाहेक पुर्वाग्रहको तमाखु पिउँदै बसेका
छद्मभेषी भिखारीहरू तिमीलाई नै रुँगेर बसेका हुनेछन्
कुनै हतियार हुनेछैन तिमीसँग युद्ध गर्न
कुनै अस्त्र हुनेछैन तिमीसँग युद्ध जित्न
न सुस्ताउन गुलाफको फूलको सिरानी
न हरिया मैदान र नीला आकाश
केहीकेही हुनेछैनन्
आगो र आँधीबाहेक ।

हिम्मतको हतियारमा खिया पर्नु हुन्न
दृढ आकाङ्क्षाको ढाल प्वाल पर्नु हुन्न
मैदान जित्नु छ भने निहुरिनु हुन्न
पसल थापेर स्वाभिमानको व्यापार गर्नु हुन्न
हिम्मत र लडाइँको बाटो यो हो
पाइलैपिच्छे यस बाटामा विचारको युद्ध भइरहन्छ विचारसँग
अनि तर्कको तर्कसँग ।
त्यहाँ पुग्ने अर्काथरीले खबर लिएर आएका
बूढो रूख त ढल्ने नै छ
या नदी सागरसँग मिल्नेछ ।

नयाँसडक, १० डिसेम्बर १९८६

Biplav Pratik – Timi Ra Ma Madhya Ek Jana Bhram Ma Banchirahechha

बिप्लव प्रतिक – तिमी र ममध्ये एक जना भ्रममा बाँचिरहेछ

मान्छे भन्छन्, म उन्मुक्त कहिल्यै हाँसिन रे
मान्छे भन्छन्, म सुखी कहिल्यै बाँचिन रे
सुख, मलाई त लाग्छ एउटा भ्रम हो
हाँसो, मलाई त लाग्छ एउटा थप Continue reading “Biplav Pratik – Timi Ra Ma Madhya Ek Jana Bhram Ma Banchirahechha”

Biplav Pratik – Maanis Haru

बिप्लव प्रतिक – मानिसहरू

मानिसहरू
आआफ्नो जीवनको चुलोमा
आआफ्नै आग्रह, अनुभव र अनुभूतिका
दाउराहरू विचारले सल्काएर
मृत्युको जाउलो पकाइरहेछन्
र खाइरहेछन्
अनि आफ्नै मृत्यु मरिरहेछन् ।

२५ अप्रिल Continue reading “Biplav Pratik – Maanis Haru”

Biplav Pratik – Praman

बिप्लव प्रतिक – प्रमाण

युद्ध जित्नकै लागि
यदि हतियार उठाएको भए तिमीले
जाऊ एकपल्ट
योद्धाहरूको चिहानमा
र सुन रातको सुनसानमा
त्यहाँ गुन्जिएको मौनता ।

कुन मान्छेले कोसँग जितेर
कति सीमा र समयसम्म
आफ्नो जितको झन्डा फहराएको छ ?
मान्छेले जितेँ भनेर
कतिसम्म चिच्च्याउन सक्छ र !
जितको झन्डा लिएर
कुन युद्धपुरुष अहिलेसम्म जिउँदै छ ?

मान्छे केवल आफ्नो जितको उन्मादमा
मात्तिएर मुर्दा भएको
तिमीले हामी हिँड्दै गरेको
यही धूलोमा देख्न सकेनौ भने
कुनै अर्को धूलो छैन मसँग
प्रमाणका लागि ।
कुनै नयाँ चिहान छैन मसँग
सबुदका लागि ।

नयाँसडक, २८ जनवरी १९८७

Biplav Pratik – Timile Diyera Maile Napaayeka Baare

बिप्लव प्रतिक – तिमीले दिएर मैले नपाएकाबारे

केही सपनाका स्लाइडहरू
त्रि्रो अघिल्तिर छरिदिएको थिएँ
यात्रा थाल्दा आँसुहरू आँखाका कापकापबाट चुहिँदै थिए
आशा राखेको थिएँ
तिमीले सहृमाल्नेछौ एकदुई मुठी ।

कसैको अगाडि नाङ्गएिर
अलिकति सहानुभूति, हेरचाह र मुस्कान खोज्नुलाई नै
मान्छेले सायद प्रेम भन्दछन् ।
म नाङ्गएिको थिएँ अनि प्रेमका लुगा माग्दै थिएँ
तिमीले मलाई ‘इम्पेरर्स न्यु क्लथ’ लगाइदियौ ।

अवर्णनीय सुन्दर र मुलायम
तिनै लुगाहरूमा म आजसम्म
सुन्दर देखिन्छु, आभिजात्य देखिन्छु
मान्छेहरू मेरो सुन्दरताको वर्णन गरेर
‘इपिक’ कथ्दैछन् ।

तर, उता तिम्रो विवाहपश्चात्
यता जन्मिएकी मेरी छोरीले
आज मलाई नराम्रो र डरलाग्दोसँग झसङ्ग पारेकी छे
भन्छे, “बाबा, तिम्रो आङ्मा किन कहिल्यै पनि लुगा छैन ?”

नयाँसडक, १३ अगस्ट १९८६

Biplav Pratik – Durghatana

बिप्लव प्रतिक – दुर्घटना

सडकको बीचमा
एउटा दुर्घटना भएको छ ।
केही छिनअघि नानाथरीका
झन्झटले जेलिएको त्यो मान्छे
अब बन्धनमुक्त भएको छ,
सडकको बीचमा एउटा दुर्घटना भएको छ ।

यता, जिन्दगीमा कति यस्ता कान र आँखा छन्
जो केही सुन्दैनन्, जो केही देख्दैनन्
कति यस्ता मुटु र मगज छन् जो केही अनुभूत गर्दैनन्
यिनीहरूमध्ये कति त मान्छेसरह बाँचिरहेकै छन्,
र हामीहरू पनि यिनीहरूमध्येबाट नै बाँच्तछौँ ।

वास्तवमा हामीहरू पनि दुर्घटनामै परेका हौँ
म त भन्छु विशाल दुर्घटनाका सिकार हौँ हामीहरू
त्यो सडकबीचको दुर्घटना त एउटा मिथ्या हो ।
र यो जिन्दगीको, अहिले हरेक मान्छेले भोगिरहेको दुर्घटना
शाश्वत हो
उफ ! यो कस्तो दुर्घटना ?
यो कस्तो जिन्दगी ?
यो कस्तो शाश्वत ?
यो कस्तो मिथ्या ?

सडकबीच एउटा दुर्घटना भएको छ
र पछारिएका हामी छौँ
धूलोमा मुछिएर सडकमा रगतपछ्य ।

घट्टेकुलो, १४ जुलाई १९९१