युयुत्सु आर. डी. शर्मा – खोला
तिम्रो सङ्गमर्मरी काँध
र, मेरो चौडा छातीको बीचमा
गर्जिरहेछ एउटा खोला
आँसु, आँसु, आँसु ।
तिम्रो गुलियो मुख
र, मेरो सुगन्धित जिब्रोको बीचमा
एउटा फिलिङ्गाहरुको रात
टल्काइरहेको तयो न्यानो नरम त्वचा
त्वचा, त्वचा, त्वचा ।
तिम्रो मांसल जीउ
र मेरा कामिरहेका हातहरुको बीचमा छन्
बादलहरु मात्तिएका लालीगुराँसे वनको सुगन्धले
सुगन्धले, सुगन्धले, सुगन्धले ।
तिम्रो बदामी आँखा र मेरो तातो मुखको बीचमा
खसेका छन् पानीका थोपाहरु मोतीझैं
जंगलका बाक्ला हरिया पातहरुमािथ
पातहरु, पातहरु, पातहरु ।
तिम्रो चम्किरहेको सेतो छाला
र मेरो कालो कपालको बीचमा
सुगाभन्दा हरिया पातहरु
पहेँलिएका छन् अनवरत वर्षाले
वर्षाले वर्षाले वर्षाले ।
तिम्रो जँड्याहा लोग्नेको नपुंसक सिरानीसँगै
बिताएका तिम्रा रातहरु
र मेरो बहुलाएको टाउकोको बीच
उम्रीरहेछ एउटा सानो कविता – वसन्तको
जसले मेरो गहिरो घाउ भर्नेछ
र, उमार्ने छ
फूलहरु, फूलहरु, फूलहरु ।
तिम्रा नीला पारिजात फूलका आँखा
र मेरो कामिरहेको कलमको बीचमा
एक्लिएको एउटा वनचरोको एकल चित्कार
पागल, पागल, पागल ।
तिम्रो मोतीजस्तै सेतो दाँत
र, मेरो निद्राको बीच
दौडदै आउँदै छ बर्खे पानी
कुनै भोको नदीको रोदनझैं
ताराहरु नभएको बिरानो आकाश
र, ग्रीष्म रातको उराठलाग्दो
अन्धकारमा, अन्धकारमा, अन्धकारमा ।
तिम्रो ठूलो छाती
र, मेरा नरम ओठको तिर्खाको बीचमा
क्रुद्ध खोलाको आक्रोश
ठोकिरहेको आफ्नो टाउको जादुजस्ता
पहाडहरुमा, पहाडहरुमा, पहाडहरुमा ।
तिम्रा निर्णयहरु र
मेरो निभ्न लागेको टुकिको बीचमा
खोला बौलाएको
तँ; तँ कवि; तँ मूर्ख
नपुंसक, जा जा गइहाल्-निस्किहाल् ।
(प्रकाशोन्मुख कविता संग्रह “पानाहरु खाली छन्” बाट ।)