Shrawan Mukarung – Ghar Farkeko Manchhe

घरको मायाले
घर फर्केको मान्छे
आफै घर भएर आइपुगेछ

त्यही आँगन
त्यही बलेँसी
त्यही सिकुवा
त्यही साँझ
त्यही मूल ढोका

त्यही बार्दली
त्यही आँखीझ्याल
त्यही धूपीको रुख
त्यही गमलाको फूल
त्यही सपनाको हुल

त्यही ढिकी
त्यही जाँतो
त्यही जून
त्यही चुराको छुनछुन
त्यही परेवाको गुनगुन

घरको मायाले
घर फर्केको मान्छे
आफैँ घर भएर आइपुगेछ

पच्चीस वर्षपछि
आज
तिमी पच्चीस वर्षअघिको
निश्चल
त्यही घरको यो करुणामयी सँघार
कुल्चिँदै–कुल्चिँदै
भित्र पस !

अहा !
कति सुग्घर गगे्रटो
चौका, ताक, खोपी
र बलिरहेको प्रेमको
त्यही दीप !

त्यही दीपको उज्यालोले
तिमी
हेर उसलाई
जहाँ–
तिम्रो चलिरहेको
राताम्ये बाल–तस्वीर
बेगमबेली फूलको झ्याङभरि
चुपचाप मुस्कुराइरहेछ
सुस्तरी–सुस्तरी…
तिमी अझ
भित्र पस !
एकदम भित्र पस !!
(अनुराधा ! तिमी छ्यौ र पो यो ‘नहुनु’ घर भएको छ)

घरको मायाले
घर फर्केको मान्छे
आफैँ घर भएर आइपुगेछ
यतिका वर्ष परदेशिएको
परदेशमा आफू कर्त छुटेनछ ।

Shrawan Mukarung – Coffee Shop Ma

हिउँदको चिसो
या यस्तै केही…
छल्नु छ

धिरज राई, नवीन भट्टराई, विधान श्रेष्ठ
या बबीन प्रधानका थोत्रिँदै गएका
पपगीतहरूका कुरा

कृष्णभूषण बल, शैलेन्द्र साकार, विष्णुविभु
या विमल निभाका फाट्टफुट्ट आउने
टुक्राटाक्री कविताहरूका कुरा

सौरभ, नवीन सुब्बा, प्रकाश सायमी
या नारायण वाग्लेका आक्कलझुक्कल देखिने
देखिने लघु लेखहरूका कुरा

यस्तै केही…
अल्छीलाग्दो घाम
थानकोटवरपरका घुर्मैला पहाडहरू भएर नझरुन्जेल
या सल्किरहेको चुरोट आफैँ एस्ट्रेछेउछाउ कतै नखसुन्जेल
छेवैका गमलाका नाङ्गा फूलहरूमा
एक सौ बीस वाटका बिजुलीका तीखा र कामुक प्रकाशपुञ्जहरू
नपरुन्जेल
त्यत्तिकै…
अलमिलनु छ/गुथ्मुथिनु छ/धुम्धुमिनु छ

आजका अखबारहरूमा कुनै उत्तेजना छैन
बिल क्लिन्टनको मुख–मैथुन
वामदेव गौतमको सरकार छोड्ने
बाबुराम भट्टराईको सङ्घर्षको अर्को चरण
सब, सामान्य कुरा

नजिकैको शमीको रुखमा
एक बथान कागहरूबीच
भरे बासका लागि झगडा भइरहेको छ
अफिस छुटेको समय
ट्रााफिक आफैँले ट्राफिक जाम गरिरहेको छ
सब, सामान्य कुरा

हिउँदको चिसो
या यस्तै केही…
छल्नु छ

यस्तै–यस्तै
केही छल्न
केही यथानामहरू छन् सहरमा–
देश/राजा/जनता/प्रजातन्त्र/गणतन्त्र
कला/साहित्य/संस्कृति/सगरमाथा
सब, सामान्य कुरा

बतास
हिजोको भन्दा निक्कै चल्ने छ
ज्याकेटको चेन माथिसम्मै तानौँ !
पहेँलो घाम छोप्न–
स्वयम्भूमाथि बादलका उही झुप्पाहरू भेलिँदै छन्
मौसम बदलिन्छ कि जस्तो छ
विप्लवजी ! पकेटको अवस्था कस्तो छ ?

हिउँदको चिसो
या यस्तै केही…
छल्नु छ ।

Shrawan Mukarung – Rajkumari Diana Lai

मैले तिम्रो आँखाको समुद्रमा
एक जहाज माया
र केही गीतका अल्बमहरू पठाएको छु

ब्रह्माण्डजस्तो यो जहाजको कुनै दिशा छैन
सम्झनाजस्तो मेरो मायाको कुनै तौल छैन
आकार छ तर खास आकार छैन
बिसाउनु कुननिर कुनै Continue reading “Shrawan Mukarung – Rajkumari Diana Lai”

Shrawan Mukarung – Mrityu

आलो मृत्यु
खास अनुभूति हो समयको
जो, गुज्रिरहन्छ एकतमास…
जसरी सगरका पहेँला आँखाहरूमा
हरेक साँझ–
क्षण लेख्छ– अर्को इतिहास राता–नीला रगतहरूले

म मान्दिनँ– आतङ्क
मानिसको मृत्यु हो
घर जल्नु
बम पड्कनु
पुल भत्किनु
अहँ
म मान्दिनँ– आतङ्क

समय हिँडेको बाटो छोडेर
त्यस्सै…
चुपचाप…
उङ्नु/झुल्नु/स्वाँ–फँवा निदाउनु
यस्तै केही हो आतङ्क
जो बिचारिरहन्छ बकुल्लाझैँ
पानीचरा, माछा, भ्यागुता र खेत ।
हजारौँ मानिसहरू मरिसके
हजारौँ मानिसहरू मरिरहेछन्
सम्भवतः
हजारौँ मानिसहरू मर्नेछन्

कहिले मर्यो विचार…?
कति मर्यो विचार…?
कहिले मर्दै छ विचार…?
अथवा
आतङ्क… ?

Shrawan Mukarung – Ful Ko Awaz

फूलको आवाज
चराको आवाज
मान्छेको आवाज
ओ नायिका ! तिमी आवाजसित प्रेम गर

रातो–रातो धर्तीको आवाज
नीलो–नीलो आकाशको आवाज
तिम्रो साथ नपाएर चुपचाप छन् आवाजहरू
तिम्रो चुम्वन नपाएर आहत छन् आवाजहरू
ओ नायिका Continue reading “Shrawan Mukarung – Ful Ko Awaz”

Shrawan Mukarung – Aadi Samjhana

तिमीसँग–
यौटा चुहिने घर र आँगनमा एक थुँगा रातो फूल थियो
मलाई खोज्न–
धुवाँ निस्किरहने आँखीझ्याल, पुरानो क्षितिज
र आक्कलझुक्कल उड्ने केही चराहरू थिए
मलाई सम्झिन–
एक रोगी कथा र खसिरहने आँसु थियो
Continue reading “Shrawan Mukarung – Aadi Samjhana”

Shrawan Mukarung – Utkhanan

कसले पत्ता लगायो अमेरिका
– कोलम्बसले ?
कसले मुक्त गरायो भारत
– गान्धीले ?
अथवा–
कसले रच्यो महान् चीन
– कन्फयुसियसले ?
– माओत्सेतुङले ?

अहँ ! कदापि मान्दिनँ म ।

कसले उभ्यायो धरहरा ?
कसले बनायो घण्टाघर र रानीपोखरी ?
कसले लड्यो नालापानी ?
अथवा–
कसले आर्ज्यो यो मुलुक ?

यो माटोभित्र उम्लिरहेको रगतको आवेग
– कसको हो ?
यो महलको चोटा–चोटाबाट आइरहेको पसिनाको गन्ध
– कसको हो ?
यी दरबारका भव्य झ्याल–ढोकाहरूमा
– कस कसका हातका रेखाहरू छन् ?
यी मन्दिरका मूर्ति र गुम्बाका गजुरहरूमा
– कस कसका औँठाका शङ्ख–चक्रहरू छन् ?
एक एक खुट्याउनु छ– इतिहासको खुनी अनुहार

चिन्नु छ–
को हो असली निर्माता ?
को हो असली शहीद ?
को हो असली नेता ?
को हो असली कवि ?
कुन हो असली गीत ?

Shrawan Mukarung – Timi Bhanchhau Maya Amar Chha

तिमी भन्छौ माया अमर छ
यो त सधैँ रहिरहन्छ
म त भन्छु– माया स्प्न हो
प्रहर–प्रहर बद्लिरहन्छ

किन छुट्छ आफ्नै मुटु
साँक्षी राखी ला’को माया
किन टुट्छ– बाचा बन्धन
आगो छोई खा’को कसम
तिमी भन्छौ माया आधार हो
यसमै संसार अडिरहन्छ
म त भन्छु– माया स्वप्न हो
प्रहर–प्रहर बद्लिरहन्छ

समयको साथ मात्रै
जीवन बाँच्छ सपनाले
वसन्त त्यो कमजोरी हो
फूल हाँस्छ आफ्नै रङले
तिमी भन्छौ माया ईश्वर हो
यो त सबलाई पुज्य हुन्छ
म त भन्छु– माया स्वप्न हो
प्रहर–प्रहर बद्लिरहन्छ ।

Shrawan Mukarung – Shahar Ma Euta Manis

जब म हतारमा हुन्छु
त्यो मानिसलाई
म देख्छु शहरमा

बसस्टप
कफीसप
सिनेमाहल

न्यूरोड
ठमेल
पुतलीसडक

बिहान
दिउँसो
साँझ

झरीमा
घाममा
हुस्सुमा

मानिसहरूका हूलमा
यौटा रूख
हिँडिरहेछ आफ्नै धुनमा/सुरमा/लयमा
को Continue reading “Shrawan Mukarung – Shahar Ma Euta Manis”

Shrawan Mukarung – Mohan Koirala

कति हिँडेँ हुँला
यो जीवनमा म कति हिँडेँ हुँला…!

यसरी–
कतिपल्ट बिसाएँ हुँला– यो अडेसोमा ?

मेरो सपनाजस्तो
बगिजाने यो खोलाको पानी
कहाँ पुग्यो होला अहिले…?

कठै ! यो रुख
त्यस्सै बूढो भएछ
धेरै अघि मलाई–
यसैमा झुन्डी मरुँ लागेको थियो
बचाएको थियो– यही रुखको त्यो यौवनले
त्यसको गोलो छायाँ
अझै हिँडिरहेछ– मेरो कुमकुम भएर ।
कति हिँडेँ हुँला
यो जीवनमा म कति हिँडेँ हुँला…!

मैले छोडेर आएकाहरूलाई भन्नु थियो–
मलाई लिएर आउनू !

मलाई छोडेर गएकाहरूलाई भन्नु थियो–
पुगेर मलाई भेट्नू !
उफ् ! यो मध्याह्न
रगत खाने तिर्खा
कति निमोठ्नु निधारका यी निमुखा पसिनाहरूलाई ?
भिज्छ– सप्पै आङ
गल्छ– गोडा
थाक्छ– आँत
मैले त नुन ओसारेको हुँ
पानीको नाला
कर्कटपाता ओसारेको हुँ– पहाडलाई
यो बाटोका धूलोहरूमा
कहाँ हराउँछन् कहाँ– मानिसका पदचिह्नहरू !

कति हिँडेँ हुँला
यो जीवनमा म कति हिँडेँ हुँला…!

धर्ममा मरुँ भने कर्म गरेँ
धर्र्मैको त आयु हुन्छ/ आयुको त आयु हुन्छ
हिसाब हुन्छ–
स्वर्गको कर्मको
नर्कको कर्मको
कर्मको कर्मको
छिः !
मानिसको कर्म
कतिपल्ट टेकाएँ हुँला–यो तोक्मा ?
यसरी–
सबैलाई सुनाउँछु भनेर आफैँलाई
कतिपल्ट सुनाएँ हुँला– आफ्नो गीत…?

आपत्मा सघाउने रामलाई पनि थाहा छैन–
म कति हिँडेँ ?
विपत्मा सम्हाल्ने मेरी मायालुलाई पनि थाहा छैन–
म कतिपल्ट लडेँ–लडेँ !
अरू कसलाई थाहा हुन्छ
म नरोएको मान्छेको आँसुको कथा–
कसलाई थाहा हुन्छ…?

अहा !

कति हिँडेँ हुँला
यो जीवनमा म कति हिँडेँ हुँला…!
भारी बोकेर कविताको ।

Shrawan Mukarung – Oh Tenzing

ओ तेन्जिङ !
मैले यो प्रेमको पहाड कहिले नाघ्ने होला ?

जति चड्दैजान्छु पहाड अग्लिँदै जान्छ
बिसाउँन खोज्छु सूर्जे भाग्दै–भाग्दै जान्छ
प्रिय–सपनाको बिहान कसलाई माग्ने होला
ओ तेन्जिङ !
मैले यो प्रेमको पहाड कहिले नाघ्ने होला ?

मेरो उचाईभित्र आकाशको सत्य छैन
प्रेमजस्तै अमर रहने मलाई अधिकार छैन
प्रिय–विपनाको गुहार कसरी माग्ने होला
ओ तेन्जिङ !
मैले यो प्रेमको पहाड कहिले नाघ्ने होला ?

Shrawan Mukarung – Hey Suryadev

हे सूर्यदेव !
हे अग्निदेव !
अ‍े आकाश !
हे धर्ती !
हे जलदेव !
हे वायुदेव !
जसरी– यो रुख उभिएको छ मेरा सामु
त्यसरी नै उभिएको छु म तपाईं समक्ष ।

हे आदिदेव !
हे परम–पुर्खा !
जहिले उम्रियो यो रुख Continue reading “Shrawan Mukarung – Hey Suryadev”

Shrawan Mukarung – Malai Khojnu Bho Ki

मलाई खोज्नु भो कि टाँटी फलैँचामा
हजूरको तस्वीर आयो गलैंचामा

जति बुन्छु धागो मनमा गाँठो पर्छ
फुकाउँ भन्छु गाँठो आफैँ आँसु झर्छ
फूल खोज्नु भो कि रित्तो बगैंचामा
हजूरको तस्वीर आयो गलैँचामा

जति धुन्छु धागो उति धूलो–मैलो
कर्म दुखियालाई दुःखै देउसे–भैलो
मन दुखाउँनु भो कि एक्लै साकेवामा
हजूरको तस्वीर आयो गलैँचामा

Shrawan Mukarung – Didi Kina Tyo Chandrama

दिदी !
सधैँ त्यो भञ्ज्याङसम्म चन्द्रमा बोकेर आउँछन् भरियाहरू
र त्यो चन्द्रमा त्यहीँबाट आकाशतिर लाग्छ
भरियाहरू यहाँ आइपुग्दा–
भारीमा नुनतेल, एक–एक अँगालो सुकेका दाउरा
हारेजस्तो आँखा र उदास–उदास अनुहार !

दिदी !
त्यो चन्द्रमा त्यहीँबाट किन आकाशतिर लागेको होला ?
किन त्यसरी त्यल्ले भरियाहरूलाई छक्क्याएको होला ?
भारीमाथि भारी बनेर किन सताएको होला त्यो चन्द्रमाले ?
कि भरियाहरूलाई गरिब भनेर हेपेको ?
कि भरियाहरूले जबरजस्ती ल्याएका हुन् र भागेको ?
दिदी !
सधैँ त्यो भञ्ज्याङसम्म चन्द्रमा बोकेर आउँछन् भरियाहरू !

भरियाहरू हामीजस्तै सबै कुरा बुझ्दैनन् र असत्य बोल्दैनन्
–होइन दिदी ?
भरियाहरू हामीजस्तै राम्ररी लाउन, खान जान्दैनन्
–होइन दिदी ?
पक्कै यिनीहरू हामीले जस्तै चन्द्रमालाई खूबै माया गर्छन् क्यारे
?
र त बोकेर ल्याए नत्र घिस्याउँदै ल्याउँथे, बरु ल्याउँदैनथे
नत्र भारीमै खाँदेर ल्याउँथे, मायाले शिरमै राखेर ल्याए
तर दिदी !
किन सत्यले मान्छेलाई सधैँ लखेटिरहन्छ ?
भरियाहरू आफू लुटिएझैँ
त्यो चप्लेटीबाट आकाश हेरिरहेछन् !
हैन दिदी !
किन त्यो चन्द्रमा त्यहीँबाट आकाशतिर लागेको होला ?
यदि म त्यो चन्द्रमा भएको भए भरियाहरूसँगै गाउँ जान्थे
यदि म त्यो चन्द्रमा भएको भए त्यसरी आकाशतिर भाग्दिनथेँ
कति निष्ठुर हगि त्यो चन्द्रमा…?
दिदी !
के संसारका सारा राम्रा कुराहरू निष्ठुर हुन्छन्– गरिबका लागि ?

हजुरलाई थाहै हुँदैन चन्द्रमा भागेको !
त्यति बेलै हजुर तल खोलामा पानी लिन जानुभएको हुन्छ
तपाईं नफर्किदै–
चन्द्रमा बोकेर थाकेका भरियाहरू
हामीकहाँ एक रातलाई बास माग्छन्/ एक छाकलाई पानी
माग्छन्
र आगो जोर्छन्
मायाले होला– म त सोध्नै सक्दिनँ–
‘चन्द्रमा कति गह्रौं थियो…?!’

दिदी !
सधैँ त्यो भन्ज्याङसम्म चन्द्रमा बोकेर आउँछन् भरियाहरू
र त्यो चन्द्रमा त्यहीँबाट आकाशतिर लाग्छ
अनि दिदी !
हामी दुवैलाई सधैँ यही भन्ज्याङमा छोडिराखेर
सबेरै बाटो लाग्छन्– चन्द्रमाजस्तै भरियाहरू !

Shrawan Mukarung – Aatanka

हजारौँ मानिसहरू मरिसके
हजारौँ मानिसहरू मरिरहेछन्
सम्भवतः
हजारौँ मानिसहरू मर्नेछन्

प्रत्येक क्षण
मानिसको मृत्यु
आतङ्क भएर फैलिरहेछ– यो देशमा

अस्वाभाविक होइन– मृत्यु
आश्चर्य होइन– जन्मिएपछि मर्नु

कुनै स्वाभाविक संयोग
कुनै सजिलो घटना
अथवा–
हजारौँहजार सम्भावनाबीच
सूर्यको राप समातेर
मानिस आएको छ– यस पृथिवीमा
यी फूलहरू
यी चराहरू
यी खोला, पहाड, आकाश र क्षितिजहरू
आइपुगे जसरी– समयको स्वभाव भएर
यी सपनाहरू
यी दुःखहरू
यी माया, करुणा, क्षमा र क्रूरताहरू
आइपुगे जसरी– जीवनको अंश भएर

मृत्यु कसरी हुन्छ– अनौठो…?
मृत्यु कसरी हुन्छ– आतङ्क…?

आतङ्क त विचार हो
जसलाई हामी त्यागिदिन सक्छौँ
आतङ्क त व्यवस्था हो
जसलाई हामी भत्काइदिन सक्छौँ

Shrawan Mukarung – Aghi Jasto

अघिजस्तो म–
तिमीलाई मनै नपर्ने अब कहाँ छु र !
जसरी–
खन्यूको जराबीच लस्करै पस्छन् राता कमिलाहरू
त्यसरी नै–
मेरो मस्तिष्कको चेपबाट निस्केका करुण र पुंसत्वहरू
भागिहिँड्ने अर्थहरूले
अलपत्रै छाडेर गएका शब्दका जिउँदा टुहुराझैँ
तिम्रो हृदयको छानोमुनि ओत मागिरहेछन्

अघिजस्तो म–
अल्लारे/नागा/भङ्ज्याहा/बेरोजगार/व्यवस्थाविरोधी कहाँ छु र !
जसरी–
हरेक बिहान सूर्यझैँ उदाउँछ–इ्च्छा
अन्तिम प्रहर कराउँछ– चिभे चरो
एकोहोरो बगिरहन्छ खोलो– क्षणको
म त्यस्तो भएको छु ।

मलाई एकपल्ट हेर्न आयौ भने तिमी
छक्क पछ्र्यौ
मेरो अनुहारको रापमा तिम्रो आँखाको उज्यालो सल्किएर
मैनबत्तीझैँ पिलपिल–पिलपिल पिलपिलाइरहेको हुनेछ
गाढा रातजस्तो हाम्रो अतीतलाई
पश्चातापका हाँगाहरूमा बुद्रुक–बुद्रुक उफ्रिहिँड्ने
सपनाका किरणहरूले ठुँगेर
रगताम्ये बनाएको हुछेछ

अघिजस्तो म–
तिमीलाई तिर्खै नमेटिने पानी कहाँ छु र !
मेरो छातीबाट यौटा सम्भावनाको गोरेटो
तिमीलाई मन पर्ने क्षितिजसम्म फैलिएको छ
अग्लो पहाडको काँधमा टेकेर फेरि अर्को पहाडलाई कुल्चिनु
फेरि अर्को पहाडलाई कुल्चिनु
तिमी सक्छ्यौ अब ।

यौटा ऐना–
घरी खोपा, घरी ताक, घरी ओछ्यान
यौटा पुस्तक–
घरी सिरानी, घरी आलमारी, घरी दराज
यौटा फूल–
घरी गमला, घरी आम्खोरा, घरी केशराशी
जहीँकहीँ राख्न सक्छ्यौ अब ।

अघिजस्तो म–
तिमीलाई दिक्कै लाग्ने कुनै बर्खे झरीजस्तो अब कहाँ छु र !
जसरी– छोड्छ लती अफिमको गहिरो लत
फेर्छ आँसु आफ्ना पीरका थोत्रा लुगाहरू
त्यसरी नै– म तिमीलाई सुहाउने भइसकेँ
एकदम सुहाउने ।

Shrawan Mukarung – Jangi Ful

गाउँ
सहर
या नगरतिर
मलाई–
जङ्गली फूल भन्छन्
तर
जङ्गलमा त मेरो नाम अर्कै छ ।

Shrawan Mukarung – Jaado

ल्याम्पोस्टमुनि आगो तापिरहेछन्– नानीहरू

युगौँदेखि छ– जाडो

उहिल्यै त दाउरा बाल्थे रे ताप्न
बाल्थे रे– पानी र हावा
हामीले बाल्यौँ टायर भत्केका मिनिबसका
बाल्यौँ खबरकागज र राजनेताका पम्पलेट
आज नानीहरू Continue reading “Shrawan Mukarung – Jaado”

Shrawan Mukarung – Anam Yudhha

मान्छेसित रिसाएका चराहरू
क्रुद्ध सैनिकझैँ
गीतको बन्दुक बोकेर हिँडे– चितुवाजस्तो पहाड खोज्दै ।

आकाशभरि हाहाकार…
ताराहरूको भागाभाग…
बतासको बिचल्ली…

लुगलुग काँप्दै शीतको झ्याल आधा खोलेर
कुहिरोको Continue reading “Shrawan Mukarung – Anam Yudhha”

Shrawan Mukarung – Surya Grahan

तिम्रो सिउँदो भर्न मैले
यसरी हत्केला चिरेजस्तै
पृथिवीको सिउँदो भर्न
सूर्य–
आकाश चिर्दै–चिर्दै आउने गर्छ

यसरी निधारै भरिएर रगत
तिम्रो पाउभरि खसेजस्तै
हिउँखोलाहरू
नदी हुँदै–
समुद्रमा खस्ने गर्छन्

मेरो छातीको सिरानी लगाएर तिमी–मैले
अनेक सपना देखेजस्तै
या मन्दिर छोएर हर्षले बरबरी रोएजस्तै
सूर्य कति रोयो होला–
सूर्यग्रहणमा….।
तर, एक्कासि तिमीले झैँ पृथिवीले
सूर्यलाई छोडेर गयो– दुःखमा !
अहिले पृथिवीको सिउँदो भर्न
चन्द्रमा आकाश चिर्दै–चिर्दै आइरहेछ
मसित त न चक्कु छ न त्रिशूल !