Ratna Prajapati – Majhi Dai Dunga Khiyaideu (Nepali Bal Kabita)

रत्न प्रजापति – माझीदाइ डुङ्गा खियाइदेऊ (बाल कविता)
(मुना २०६५ फागुन)

माझीदाइ डुङ्गा खियाइदेऊ
लौन मलाई स्कुल पुर्‍याइदेऊ ।
फेवापारि स्कुल छ फेवापारि गाउँ
साना साना हात-पाइला म कसरी जाऊँ ।

बाबा मेरो परदेशमा आमा मेलापातमा
एक्लै छु म घरमा हजुर, छैन कोही साथमा ।
जीवनको अमूल्य समय खेर जान लाग्यो
हेर्दाहेदै स्कुल पुग्न अबेर हुन लाग्यो ।

सबै जना भन्छन् मलाई धेरै पढ्नुपर्छ
देश उठाउन कम्मर कसी अघि बढ्नुपर्छ ।
धेरैधेरै पढ्छु हजुर ज्ञानी मान्छे बन्छु
सधै सधैं मेरो देश उठिरहोस् भन्छु ।