Rama Timalsina Adhikari – Khai Ke Pariwartan Bhayo Ra Yahan

रमा तिमल्सिना अधिकारी – खै के परिवर्तन भयो र यहाँ ?

हिमाल उस्तै छ,
पहाड उस्तै छ,
तराई पनि त उस्तै छ,
खै के परिवर्तन भयो र यहाँ ?

म मान्छु चादिँको हिमाल सँगै
अब फोहोर पनि बस्छ रे,
हरिया पहाडका फरिया लुटिए,
पशुपंक्षीहरु तिउन बनाई भुटिए
चारकोषे झाडिहरु फाडिए
वनका धनी गाउँहरु नागिँए ।

हिजो जस्तै अन्याय छ आज पनि
हिजो जस्तै अत्याचार छ आज पनि
हिजो जस्तै सन्त्रास छ आज पनि
हिजो जस्तै पिल्सिएका मन छन् आज पनि
खै के परिवर्तन भयो र यहाँ ?

म मान्छु हिजो न्याय माग्नेहरु
आज अन्याय गर्न सफल भएका छन,
हिजोका रक्षकहरु आज भक्षक भएका छन्,
हिजो पानी पिलाउनेहरु आज विष पिलाउदैछन्,
हिजो निर्माण गर्न तम्सनेहरु आज भत्काउदैछन्,
हिजोको समाजसेवीहरु आज जनता चुस्दैछन्,
खै के परिवर्तन भयो र यहाँ ?

हिजोजस्तै साघँुरा बाटा छन्,
हिजो जस्तै निरस र विवस आखाँ छन्,
हिजो जस्तै लादिएको शासन छ,
हिजो जस्तै भाचिँएको आशन छ,
हिजो जस्तै कुर्शिको खेल छ,
हिजो जस्तै जनतामा पिडाको भेल छ ,
खै के परिवर्तन भयो र यहाँ ?

हामीले देख्यौ हिजो हामीलाई अप्ठ्यारोमा डो¥याउनेहरु
आज भिरबाट घचेट्न पनि सफल छन्
हिजो स्वतन्त्रताको नारा लगाउनेहरु
आज निरंकुश शासन गर्दैछन्,
हिजोका हाम्रा जननेताहरु
आज कुर्शिका नेता बनेका छन्,
हिजो हाम्रो पिडामा सान्त्वना दिनेहरु
आज हाम्रा घाउमा नुनचुक छर्दैछन्,
खै के परिवर्तन भयो र यहाँ ?

हिजो हामी जे खोजीरहेका थियौं
आजको खोजी त्यो भन्दा फरक छैन,
हिजो हामीले जे रोजेका थियौ,
आजको रोजाई पनि त फरक छैन,
मात्र यति परिवर्तन भयो
हिजो हामी सगँै केही खोज्नेहरुसँग
आज हामी केही माग्दैछौं
हिजो पाएका अधिकारहरुसमेत आजको शासनले लुटेर
हामी त झन टाढा टाढा भाग्दैछौं ।

नत हिजो भन्दा आज पृथ्वी फरक छ,
नत हिजो भन्दा आज चन्द्र फरह छ ,
नत हिजो भन्दा आज सुर्य फरक छ,
नत हिजो भन्दा आज शासन फरक छ,
नत हिजो भन्दा आज जनताको माग फरक छ,
मात्र शासम फेरिएका छन्,
खै के परिवर्तन भयो र यहाँ ?
खै के परिवर्तन भयो र यहाँ ?

हालः बोस्टन, अमेरिका