Radheshyam Lekali – Ma Bikri Ma Chhu

राधेश्याम लेकाली – म बिक्रीमा छु

मेरो जोस, जाँगर र रहरहरू बिक्रीमा छन्
मेरो आँखा, कान र मुख सबै बिक्रीमा छन्
छौ कोही किनेर मेरा खुट्टाहरूले हिंड्न चाहनेहरू
आऊ यी पनि बिक्रीमा छन्
सबै सोकेसमा सजिएको सामानझैँ बिक्रीमा छन् ।

मेरो योजना, प्रतिवद्धता र दृढताहरू बिक्रीमा छन्
मेरो कलम, शब्द र भावनाहरू सबै बिक्रीमा छन्
छौ कोही किनेर मेरा उमङ्गहरूले रमाउन चाहनेहरू
आऊ यी पनि बिक्रीमा छन्
सबै सोकेसमा सजिएको सामानझैँ बिक्रीमा छन् ।

मेरो विवेक, चाहना र दृष्टिकोणहरू बिक्रीमा छन्
मेरो सिर्जना, दर्शन र इतिहासहरू सबै बिक्रीमा छन्
छौ कोही किनेर मेरा सपनाहरूले रमाउन चाहनेहरू
आऊ यी पनि बिक्रीमा छन्
सबै सोकेसमा सजिएको सामानझैँ बिक्रीमा छन् ।

मेरो आत्मा, चिता र श्रद्धाहरू बिक्रीमा छन्
मेरो मोह, त्याग र बलिदानहरू सबै बिक्रीमा छन्
छौ कोही किनेर मेरा सैयौं मृत्युहरूमा रमाउनेहरू
आऊ यी पनि बिक्रीमा छन्
सबै सोकेसमा सजिएको सामानझैँ बिक्रीमा छन् ।

Radheshyam Lekali – Chandra Grahan Ko Kshan Bansuri Bajai Rahechhu

राधेश्याम लेकाली – चन्द्रग्रहणको क्षण बाँसुरी बजाइरहेँछु
(मधुपर्क माघ, २०६७)

कस-कसको चालले हो
स्थिति अराजक बनेको छ
भयैभयमा बाँच्नु पर्ने
चन्द्रग्रहणको यो क्षण
भयमुक्त हुन
म बाँसुरी बजाइरहेँछु ।
त्रिवेणी मुठभेडको स्थितिले
देश जलिरहेछ
एकातिर रगत पोखिएको छ
अर्कोतिर हुकुम तामेलीमा
भीड जम्मा भएको छ
यही क्षण सत्ता घोडा चढेर
शक्ति प्रदर्शन गरिरहेछ
अवाक् चन्द्रग्रहणको यो क्षण
भययुक्त हुन
म बाँसुरी बजाइरहेँछु ।
तासमा तुरूपझैं अचुक ठानेर
ल्याउनेले अध्यादेश ल्याइरहेछ
यही अध्यादेश सडकमा जलिरहेछ
अर्कोले दुबैलाई गलत ठहराएर
आफ्नो आदेश फर्मान गरिरहेछ
देश जनताको हुनुपर्ने हो
विडम्बना
जनताको होइन जस्तो भएको छ
चन्द्रग्रहणको यो क्षण
भययुक्त हुन
म बाँसुरी बजाइरहेँछु ।
आपसमा लडेर
देशसँग गद्दारी गरिएको छ
लडाउनेको चाल थाहा पाएर पनि
किन लेण्डुपको बाटो रोजिदैछ
एकपटक सोचौँ
देश नरहे हाम्रो अस्तित्वले
पाइला राख्ने धरातल कहाँ रहन्छ ।
बाँसुरी बज्छ कतिन्जेल
बाँसुरी बज्न छोडेको क्षण
भयानक हुनेछ
जनताले हटाई छाड्नेछन् ग्रहण
देशले शान्तिको सास फेर्ने छ ।
विडम्बना !
चन्द्रग्रहणको यो क्षण
भययुक्त हुन
म बाँसुरी बजाइरहेँछु ।

– काठमाडौं