निमेष निखिल – त्यो बाटो: हिजो र आज
अग्लो पहाडबाट ओर्लने एउटा बाटो
तिमीतिर आउने गथ्र्यो
स्वागतमा बोटहरूलाई
गुराँस थमाएकी हुन्थ्यौ तिमीले हातहरूमा
आत्मीयताको रङ्गरोगन गरेकी हुन्थ्यौ कलिला पातहरूमा
भावुक अपनत्वले ओसिलो बनेको नागवेली बाटो
तिम्रै मनको परिसरजस्तो विशाल हुने गथ्र्यो
ओराली काटेर गाउँ टेक्नेबित्तिकै
स्वागतको मानौँ एउटा सिङ्गो हिमचुली उभिन्थ्यो मअघि
आँगनको डिलमा –
मनभरि बर्र्सौँको प्रतीक्षाको थकान बोकेर
ओठभरि मेरो आगमनको मुस्कान बोकेर
उभिएकी हुन्थ्यौ तिमी
हर्षाश्रु भरिएका आँखाहरू एकाकार हुन्थे
र बुन्न थाल्थ्यौँ हामी सुदूर भविष्यका तानावाना ।
र धेरैपछि
त्यही बाटो हिँड्दैछु आज
उजाडउजाड बाटो
उदासउदास बाटो
नाङ्गिएका रुखहरूको कोलाज छ जताततै
अज्ञात भयको लहर मनभित्र
तिमीलाई भेट्ने बर्र्सौँपछिको उत्कण्ठाभन्दा
अझ डरलाग्दोसँग मडारिएको छ
थाहा छैन आइपुग्छु-आइपुग्दिनँ तिमीसम्म
थाहा छैन भेट हुन्छ-हुँदैन तिमीसँग
कहालीलाग्दा कल्पनाहरू समेटेर मनभरि
भयाक्रान्त आँखाहरू दौडाएर वनभरि
सोचको एउटा सुदूर कुनामा
ओठभरि स्वागतका मुस्कान बोकेर उभिएकी तिमीलाई कल्पेर
म हिँडिरहेछु/हिँडिरहेछु …. ।