मुक्तिनाथ शर्मा – साहित्य
(Source: मधुपर्क जेठ, २०६९)
पाकेका स्याउका दानाभित्रको रसमाधुरी
काफल् ऐंसेलु सुन्तला आँप अम्बा भरी भरी
जस्तो पाइन्छ सुस्वाद खाँदा आनन्द आउँछ
साहित्य रस हो त्यस्तै स्वादिलोपन ल्याउँछ ।।
के गर्न हुन्छ के गर्न हुँदैन जो बताउँछ
क्रोधको बेग जो रोक्छ सभ्य शान्त बनाउँछ
शान्ति क्रान्ति यही बोल्छ बेला मौका उदाउँछ
साहित्य जीवनीभित्र स्वादिलो पन ल्याउँछ ।।
वन काफलमा जस्तै वासना मग्मगाउँछ
छल्छल्कल्कल खोलीको बोलीमा कल्कलाउँछ
चिर्बिर् चरी जुरेलीको बोल्छ माया लगाउँछ
खाना समाजको हो यो स्वादिलो पन ल्याउँछ ।।
ज्ञानको भोक मेटिन्छ भेटिन्छ चेतना सफा
सच्चिदानन्द सौन्दर्य भावना उच्च निर्मल
उन्नति प्रगति निम्ति ज्ञान विज्ञान छाउँछ
साहित्य चेतना छर्दै स्वादिलो पन ल्याउँछ ।।
भाषाको जननी हो यो मान्छेको श्रेष्ठ मित्र हो
जिन्दगीको उचाइ यो भोगको स्वाद एहि हो
स्रष्टा द्रष्टा यही नै हो समाज मन्पराउँछ
विशाल क्षेत्र साहित्य स्वादिलो पन ल्याउँछ ।।