Hari Adhikari – Sharan Aansu (Nepali Gajal)

हरि अधिकारी – शरण आँसु (गजल)

नयाँ नयाँ प्रक्रियाहरुको प्रकरण जारी छ
पुरानो यो मेरो देशको अपहरण जारी छ!

आन्दोलनको भुइँचालोहरुले देश भत्कियो
फेरि राज्यविप्लवको नयाँ जागरण जारी छ!

बाँच्न पाउनु पर्छ भन्दै लडेका मान्छेहरुको-
चौताराहरुमा अनसन, आमरण जारी छ !

वीरपुर्खाहरुको रगतले कोरिएको सीमारेखा
धमिलो पानीले पखाल्ने आचरण जारी छ!

स्वतन्त्रता र स्वाभिमानको चिराग निभ्दो छ
अरुको शिक्षा, अरुकै भिक्षा र शरण’ जारी छ!

(Sent to Sanjaal Corps via Email)

Hari Adhikari – Prem Ko Pahilo Swad

हरि अधिकारी – प्रेमको पहिलो स्वाद
(मधुपर्क २०६६ चैत)

तिम्रो उत्तप्त निधारमा
मैले मेरो चिसो ओठलाई बिसाएँ
तिमी अलिकति चल्मलायौ
तिम्रा आँखाको ढकनीलाई
मैले विस्तारै बन्द गरिदिएँ
तिमीले मभित्र बलिरहेको
उन्मादको डढेलोलाई प्रस्टसँग देख्यौ
मैले तिम्रो ओठको खापा उघारेर
चञ्चल चपल जिब्रोलाई जगाउँन खोजेँ
तिमीले मेरै वाणी पो बन्द गरिदियौं
मैले तिम्रो कमनीय कैशौर्यलाई
एकै फड्कोमा ‘त्यो’ जङ्घार तर्न लगाएँ
तिमीले मलाई पो बनाइदियौ
तिम्रो पहिलो प्रेमी
र, पहिलो पुरुष ।