दीपराज नेयोङ्हाङ – शुन्य चेतना र बधशाला
निक्कै भयो चेतनाको खोपी भित्र
तितेपाती र साल्धुपका सुगंधहरु बहदैनन अचेल
यज्ञकुण्ड भित्र केवल
मानबअस्तुका बिभुतिसंग
पलेटी मारेर बसेको छ पुजारी शान्तिमन्त्र जप्न
सिन्धुघांटीको बधशालामा खिया लागिसकेको छ
आफ्नै आँगनमा रिमिक्स गर्दै
एउटा नयाँ बधशालाको निर्माण छ
र
फेरी बग्न लागेको छ चर्मवती नुनिलो पानीबाट
थोपा थोपा
तितो इतिहास कोर्दै मेची माहाकाली
शुभारम्भका हरेक बाटाहरुमा
बिरालाहरु बाटो काट्छ्न
च्याउका झुटा आकृतिमा
एउटा परिवाको अन्त्य हुन्छ
नदीहरु आगो बगाउछन र खडेरीहरु पानी देखिंदा
चस्माहरु किन अनुत्तरित ?
पर्दैन अब मन्त्र जप्न
शुभारम्भहरु शुभ छैनन्
मृत्यु मौज्दातहरु प्रसस्त ब्याज दिन तम्तयार छन्
के अर्थ छ ?
तितेपाती र सल्धुप उम्रनुमा अचेल
निगुरोघारी पन्छाउदै मुसोलेनी र हिटलर
समाधिस्थलबाटै सम्बोधन गर्दै
रिमिक्स बधशालाको निर्माण गर्छ
के अर्थ छ ?
नाकका ज्ञानेन्द्रीयहरुमा
जब चेतनाको खोपी भित्र
साल्धुप र तितेपातिका सुगंधहरु बहदैनन अचेल
त्यसैले त
प्रत्येक रात बिहानी हुन नपाउँदै
चमेली र पारिजात
आत्महत्या गर्छन
झिसमिसे नहुँदै
पथरी – कोशी मोरङ