Bodh Raj Pant – Jumla Ra Bhyaguta Ko Katha

बोध राज पन्त ‘अनागत’ – जुम्ला र भ्यागुताको कथा

गर्मी र मच्छडले खाएका
पहेंला अनुहारहरु लिएर जहाजहरु आउँछन्
समय, चिन्ता र मौसमले खाएका
काला अनुहारहरु लिएर जहाजहरु जान्छन्
क्रम जारी छ
माबु लेकको टाकुरामा बसेर
कसैले समयलाई मट्यांङ्ग्रा हान्छ
जहाज नपाएर यता आउन
हामी सुर्खेतबाट पैदल हिडेका थियौं ।

***

यो जुम्ला
अलिकति आकाशको टोपी लगाएर
तीला नदीको पानीमा
थुप्रै भ्यागुताहरुको ब्यापार गर्छ
ट्वार्र ट्वार्र
ट्वार्र ट्वार्र
भ्यागुतालाई शायद सधैं खण्डित आकाश मन पर्छ
जुम्ला खाल्डोमा
भनें नि,
थुप्रै भ्यागुता हरू छन्
भ्यागुताहरु
सम्पन्नतामा हाँस्छन्
विपन्नतामा हाँस्छन्
केही पाउँछन् कराउँछन्
केही पाउँदैनन् कराउँछन्
आकाश जव गर्जिन्छ
सतहमा निस्कनु र घोंक्रो फुलाएर कराउनू
र डुब्नु फेरि गहिराइमा
मानों मोती भेटिन्छ यतै कतै
भ्यागुताहरु आजीवन खोजमा हुन्छन्
हामी आजीवन खोजमा हुन्छौं ।

² ² ²
डाँफेको निर्वस्त्र बूढो शरीर
नाकमा अलिकति हिंउको सिंगान बोकेर
धराप थाप्दैछ
रारा जाने खुट्टाहरु
त्यही सिंगानमा लर्केर
खस्छन् घुच्चीको भीरबाट
र जुम्ला
ब्यंग्य पूर्वक मुस्काउँछ
मेरो छातीमा सिद्रा पसल थाप्न आउने तँ को ?
खाद्य चामलको कोटामा
यसै सिद्राको गन्ध आउँछ
भ्यागुताहरु सुकेको सिद्रा खादैनन्
जुम्ला चामलको समीकरण कोट््याउँछ
प्लाष्टिककै सही
जुम्लालाई चामल चाहिन्छ
हामीलाई चामल चाहिन्छ ।

***

कालो कलेठिएको रुपइडिइहा कोट
पत्र पत्रमा जुम्लाको लाहाछाप ठोकेर
बुढो लाल बहादुर
मुगाल्नीको ब्यापारिक मुस्कान सगै एक बोतल छ््याङ् धोक्छर्
गाइति गएकी छोरी फर्की फर्कीन थाहा छैन
घोडिति गएको छोरो फक्र्येा फर्केन थाहा छैन
भेडिति गएको आफूलाई छ््याङ्को जग भित्र डुबाएको छ
दाउरा गएकी ख्वाइनी फर्की फर्किन थाहा छैन
अज्ञान, दरिद्रता, अशिक्षा, अब्यवस्था
एउटा गोरो छाला उसको छेउबाट गुज्रन्छ
र सोंच्छ लाल बहादुर
के छाला नै मान्छेको आत्म सम्मान हो ?
हातमा उनको गांठ बेरेर तै पनि
ताखूमा बारम्बार ऊ आफुलाई धागो बाट्छ
बाट्छ , बेर्छ र फेरि बाट्छ
मेले थुप्रै लाल बहादुरहरु यो बस्तीमा देखेको छु
थूप्रै काले ,गोरे र हर्खे हरु यो बस्तीमा भेटेको छु
आत्मसम्मानको संकीर्ण घेरा भित्र
सांच्चै भनुं भने
मैले यहाँ कम मान्छे र धेरै मरीचहरु भेटेको छु ।

***

तिमी रिसायौ जुम्ली दाई ?
हो, निश्चय पनि कविता भित्र
मैले तिम्रो आत्मसम्मान
तिम्रो स्वाभिमानलाई ललकारेको छु
ठीक यही बेला
मैले लेख्दैगरेको कविताको भाषा
मलाई राम्रै थाहा छ
यो तिम्रै जिब्रोको देन हो
मैले बोल्दै गरेको कविताको भाषा
कुनै दिन तिम्रै माटोमा उब्जेको हो
त्यसो त
शब्दले जब तिम्रा छातीहरु पोल्छन्
पीडा म भित्र पनि नचहर््याउने कहाँ हो र
जव कुनै सुकिलो मान्छेले तिमीलाई “जुम्ली” भन्छ
स्वभिमान मेरो पनि नदुख्ने कहाँ हो र
तातोपानीको धारा नुहाएर
कुँडारीबाट पातारासीको श्यामल छाँया हेर्दा
मलाई लाग्दैन
तिमीले कतै अपमानित हुनुपर्छ
पाण्डुगूफाको पौराणिकता ओढेर
सिंजा खाल्डोको इतिहास पढेपछि
कनकासुन्दरीको मन्दीरमा एकैछिन थकाइ मार्दा
मलाई लाग्दैन, तिमीले कतै हीनताबोध पाल्नु पर्छ
सम्पन्नता भित्र दरीद्रताको छद्म अनुभूति
हँुदा हँुदै पनि नहुनुको घातक प्रतिभूति
तिमीलाई थाहा छैन
ए पाँच औलेको देशका मान्छे
एक टुक्रा यार्सागुम्बामा विश्व हल्लाउने शक्ति छ , हल्लाउ न
केशरको एक चिम्टी धुलोमा
विश्व रंगाउने शक्ति छ रंगाउ न
आफ्नै छातीमा सुगन्ध पालेर
त्यसैको खोजमा भौंतारिने ए कालोकोट !
कति बाँच्छौ यो कस्तुरी जीवन
पटाक्षेप गर यो नाटक
तिमी भ्यागुतो होइनौ
जुम्ला खाल्डोमा
घोषणा गर अब भ्यागुताहरु बस्दैनन्
मान्छे मान्छे भित्र एउटा कांजीरोवा बांच्नुपर्छ
मान्छे मान्छे भित्र एउटा पातारासी हाँस्नु पर्छ
सम्भावनाको जुलुस वोकेर आफैमा
भुस्याहा कुकूरको नियति वाँचेको
ए जुम्ली दाई
विन्ति
छोराको पुर्पुरोमा घोडितिको अनुर्वर खेती नगर
छोरीको सिंउदोमा गाइतिको अनुर्वर खेती नगर
छ्याङ्को नशामा
दाउरा खेपेर फर्केकी स्वस्नीको चूल्ठो
पाइदैन
मुठ्याउँदैमा कुनै परमवीर चक्र
भनें नि
पटाक्षेप गर यो नाटक
तिमी भ्यागुता होइनौ
जुम्ला खाल्डोमा
घोषणा गर अब भ्यागुताहरु बस्दैनन् ।

***
र जुम्ला
गजधम्म
बसैको छ ऐरावत हात्ती
जहाजहरु आउँछन् ÷ जहाजहरु जान्छन्
सुँड काटेर लगे पनि थाहा छैन
दाँत भाँचेर लगे पनि थाहा छैन
मैले कैयन पटक जुम्लालाई
हवाईमैदानबाट खुसुक्क जहाज चढेर मुग्लानिएको देखेको छु
सावधान
सर्पहरु जुम्ला पसेका छन्
सर्पहरु जुम्ला बसेका छन्
मन्द बिषले लठ्ठिएर जुम्ला
म संग सोध्दैछ
नेपालगंज पुग्न जहाजमा
आजकल जहाज खर्च कति लाग्छ हँ ?
अवाक् ÷ निरुत्तर
म आफ्ना डवडवाएका आँखातिर संकेत गर्छु
तिमीलाई कतै दुख्छ दुख्दैन थाहा छैन
हिमाल, सल्ला र स्याऊका बोटहरुहुँदै
आज ‘जुम्ला’ मेरो छातीमा दुखेको छ
आज ‘जुम्ली’ मेरो छातीमा दुखेको छ ।

मणिग्राम,रुपन्देही