Anup Joshi – Manchhe

अनुप जोशी – मान्छे

मान्छेलाई थाहा छ–
आकाशको रङ
थाहा छ– सगरमाथाको उचाई
झरनाको शिर
मौसमको जादुले रुखमै पाकेको फल
उसलाई सबै थाहा छ–
बादलले कस्तो गीत गाउँदा वर्षात हुन्छ,
चट्याङ् पर्छ
थाहा छ–
हाँगा छाडेर भुर्र उँडेको चरा
बादलभित्र गायब भएको जहाज
जूनको आकार
ताराको धिपधिप ।
टाउको उठाएर
मान्छेले सबै–सबै देख्न सक्छ ।

तर साँच्चै, मान्छेलाई थाहा छैन–
आफु टेकेको धर्ती
भर्खरै पाइला बढाउँदा कुल्चिएको कमिलो
वैलिएर भुँइमा झरेको फुल
थाहा छैन–
यौटा नवकवि प्रकाशन गृहमा अल्मल्लीरहेको
हिंड्दा–हिड्दै
आफ्नै जुत्ताको तुना फुस्किएको पनि थाहा छैन
मान्छेलाई केहि पनि थाहा छैन
तेसैले त मान्छेलाई जीवनमा
सबैभन्दा बेसी ठेस लाग्छ
सबैभन्दा बेसी मान्छेले ठक्कर खान्छ
उसलाई थाहै छैन माटोको गन्ध
थाहा छैन–
भुइँफुलको योवन
खोला छेऊ बालुवाको प्यास
किनभने यौटा स्वभिमानी मानिसलाई निहुरिन
उसको नैतिकताले दिँदैन ।

Anup Joshi – Buwa

अनुप जोशी – बुवा (कविता)

पहिले पहिले
बुवा कुनै कामले काठमाण्डु आउँदा
मलाई पनि शहर देखोस् भनेर ल्याउनुहुन्थ्यो
उँहाको पाइला माथि पाईला खप्ट्याउँदै गर्दा
मेरो दृष्टि उहाँको चोर औँलाको पारीपट्टि हुन्थ्यो
भन्नुहुन्थ्यो –
“त्यो सिँहदरबार हो ”
मेरो जिज्ञासालाई शान्त पार्नुहुन्थ्यो –
” यहाँ सिँह भन्दा’नि हिँस्रक जनावर बस्छन्”
र सडकका हरेक पसल-पसलबाट छानेर
मलाई सबैभन्दा सुहाउने लुगा किनिदिनुहुन्थ्यो ।
अहिले कहिलेकाँहि अचाक्ली रोगले थिच्दा
बुवा यात्रुबस चढेर यहाँ आईपुग्नुहुन्छ
सँगै, बाहिर कतै निस्कियौँ भने
म अघि-अघि हिँड्छु
अक्कमकिए जस्तो
उहाँ पछिपछि सुस्ताउँदै आउनुहुन्छ
पछिल्लो डेढ दशकमा कति सिँहदरबार थपिए भनेर सुनाउन
न मसँग फुर्सद हुन्छ
न त खिइँदै गएको उहाँको गोल्डस्टार जुत्ता फेरिदिन
मेरो जेबमा लक्ष्मीको नै बास हुन्छ ।

Anup Joshi – Nindra Nalaage Pachhi

अनुप जोशी – निन्द्रा नलागेपछि (कविता)

निन्द्रा नलागेपछि
मैले खाटबाटै सिरक कसेर
माथिको सिलिङलाई हेरेँ
र अचानक त्यो माथि गर्जिरहँदो घरभेटीलाई सम्झिएँ
सम्झिएँ , छ महिनादेखि भाँडा तिर्न नसकेको व्यहोरा,
तुरुन्तै कोठा छोड् भन्ने घरभेटिको पछिल्लो आदेश ।

निन्द्रा नलागेपछि
मैले दम लागेकी आफ्नै आमाको अनुहार सम्झेँ
रक्तचाप आकाशिएको बुढो बावुलाई सम्झेँ
घर छोड्दा अनायास चुहिएको एक नदी आँशुलाई सम्झेँ
र तेस्तैमा आधा मुरी पनि अन्न नफल्ने पाखोबारीलाई सम्झेँ ।

निन्द्रा नलागेपछि
नेताका मिठामिठा आश्वासनलाई सम्झेँ
मैले जनआन्दोलनमा गुमाएको दाहिने खुट्टालाई सम्झेँ
सिरानीमुनी थन्किबसेको डिग्रीको प्रमाणपत्रलाई सम्झेँ
र सम्झेँ जागिर छुट्दा र माग्न जाँदा गलहत्याइएको तिक्तानुभूति ।

निन्द्रा नलागेपछि
पोइल गएकी प्रथम प्रेमिकालाई सम्झेँ
विलिन हुँदै गएको यौनाकांक्षाका बारेमा सम्झेँ
र जुरुक्क उठेर
पल्टाएँ कविताको डाएरी ।

निन्द्रा नलागेपछि
सोच्न थालेँ निन्द्रा नलाग्नुका कारण
र यी सबै सम्झनाको आगमन ।
भोलिपल्ट त सहर छाडेर गाउँ फर्कनु थियो ।

Anup Joshi – Chaheun Bhane

अनुप जोशी – चाह्यौँ भने (कविता)

यदी चाह्यौँ भने
यौटा सिँगो जीवन छ हामिसित ।

बटुवा पर्खेर बसिरहेका चौतारीहरु
सुवास छरेर आगन्तुक निम्त्याईरहेका बगैँचाहरु
हिमालले एकटक हेरिरहेको भञ्ज्याङ अनि डाँडाहरु
सबै छन् हामीसित , हाम्रो संगमस्थल ।

के तिम्रो मायाको ब्रह्माण्ड पनि फैलिरहेछ ?
तिम्रो मनको आकाशमा पनि चम्किरहेछन्
सम्झनाका नौ लाखे तारा ?

सुन मेरो धड्कन !
खोल आफ्नो मनको आँखा !
र स्पर्श गर हृदयको तरंग !
जहाँको कोषकोषमा कुँदिएका छन् तिम्रो आकृतिहरु

यदी चाह्यौँ भने
कहिल्यै नसकिने राजमार्ग छ हामीसित
कहिल्यै नअघाउने हृदय
कहिल्यै पट्यार नलाग्ने पिरतीको अर्केस्ट्रा
अनि कहिल्यै नथाक्ने अजस्र साहस छ हामीसित ।

यदी चाह्यौँ भने
सम्पूर्ण चाहनाहरु पुरा हुन तयार छन्
हाम्रो गर्भमा नै !

तर यदी चाहेनौँ भने
केहि पनि हुनेछैन हामीबीच ।
सन्देशको संवाहक बतास ,
दृश्यको संवाहक प्रकाश
सबै सपनाजस्तै गायव हुनेछन् हामी बीचबाट
न तिमीसम्म पुग्नेछ मेरो हृदयको तरंग
न चम्कनेछन् मेरो आकाशमा सम्झनाका नौ लाखे तारा ।

Anup Joshi – Itihaas

अनुप जोशी – ईतिहास

पहिले पहिले
जमिनमा वनस्पतिहरु मात्रै बस्थे
जीव–जनावरहरु सबै पानीमा बस्थे ।
एकदिन भयो आकाशवाणी,
समून्द्रमा चारैतिर फैलियो अफवा–
“हिमालमा डढेंलो लाग्यो ।”
आगो नदीको बाटो हुँदै समून्द्र आईपुग्ने डरले
हिउँ माछाहरु हिउँ छेडेर भाग्न थाले
जीवनमा सूर्य नदेखेका पिंधका माछाहरु
बायोलुमिनेसेन्स विधिबाट बत्ती बाल्दै दौडिन थाले
छली ढुंगे माछाहरु–
साना माछाहरुलाई फसाउन छाडेरै सुइकुच्चा ठोके ।
सुरक्षित स्थानको खोजिमा–
सार्क , ह्वेल र डल्फिनहरु पनि भौतारिन थाले ।

समून्द्रको किनारमा आईपुग्दा
देखे– सबैले जमिन
सोचे– पानीको आगो जमिनमा फैलिदैन
अक्कलझुक्कल जमिन टेकेको बिराले माछा
जसै छाड्यो पानी
र टेक्यो जमिन
घट्यो अपरिकल्पनीय मेटामर्फाेसिस
र बिराले माछा बन्यो बिरालो ।
देखेर आश्चर्यचकीत–
सबै माछाहरु जमिन चुम्न अघि बढे
संखे किरा बन्यो कछुवा
बल्छीमाछा बन्यो जुनकीरी
सार्क बन्यो सिंह
ह्वेल बन्यो डाईनोसर
ढुंगे माछा बन्यो बाघ
तारे माछाहरु बने चरा
र उँडे भुर्र तारा छुन ।

यस्तैमा भयो अर्को आश्चर्य
चेपागाँडा बन्यो मान्छे ।
पृथ्वीजस्तो टाउको
शरीरैभरी कालो बादलजस्तो भुत्ला
सूर्यजस्ता दुई आँखा
रुखका हाँगाजस्ता दुई हात, दुई खुट्टा अनि औंलाहरु ।
यौटा चेपागाँडाको खुट्टाहरुको संगमस्थलमा
ठडियो पहाडजस्तो लिङ्ग
र अर्काे चेपागाँडामा
धस्सियो पहाड अट्ने दह
र छातीको दायाँ–बायाँ
आएर टाँस्सिए दुई चन्द्रमाजस्ता स्तन
देखियो दुवैको बीचमा यौटा कालो दाग ।

आपरिवर्तीत जनावरका बीच
मान्छेमा भने पलायो भिन्न ईश्वरिय खोपडी
मान्छे भयो सबैभन्दा बुद्धिमान ।
र नेतृत्व गरेर तमाम जनावरको
लाग्यो वनस्पतिहरुको साम्राज्य ।

नियाल्दै – हिड्दा–बोल्दा रुख–विरुवाहरु,
वनस्पतिहरुको जीवनशैली
हजार माइल पार गरेर मान्छे–
पुग्यो हिमाल
देख्यो–
हिमालछेऊ जमिनको छातीबाट
दनदनी बल्दै गरेको एक राँको ज्वाला
जहाँबाट निस्कँदै थियो प्रज्वलनशील ग्याँस
जो कुनै भयानक बिजुली चम्कदा सल्किएको हुनसक्थ्यो ।
देखेर– दंग परे समस्त जनावर ।
समुन्द्रको मायाले खिंचेर
फर्के केहि गोहि, दुईचार बाघ
र सबै डाइनोसर पहिलेकै रुपमा
तर फर्केन मान्छे ।

लिएर आगो अनि बचेका जनावरहरु
मान्छे– पुग्यो जंगल,
लगाईदियो डढेंलो
मारिए वनदेवता
रुखहरु बनाइए बन्दी
आक्रोशले गडे रुखका खुट्टाहरु जमिनमा
र शोकमा गरे चीर मौनधारण ।
अरु जनावरलाई खटाएर वनपाले
मान्छेले काट्यो रुख
बनायो घर
लिंगधारी कहलियो सर्वश्रेष्ठ ।

मान्छे–
यसरी सुक्ष्म चेपागाँडाबाट
बन्यो विश्व शाषक ।