Nawaraj Subba – Baa Ama Ko Sapana

धेरै भयो
गाउँघरका सपना
बन्धकी राखी
उत्साही युवाहरू
सिर्जनाका कलम तिखार्न
सहर पसेका,
खुशी र सुखका दिन लिएर
चाँडै फर्कने भन्दै
बाचा गरी
बाआमासित विदा भएका ।
बाआमा कुरिरहेछन्
खोला सुसाइरहेछ
गाउँ अनिदो छ
खेत बाँझै छ
अभाव र अनिकालले पिरोलिरहेछ
छाना छाउने बा बूढा भए
हिड्ने बाटो कालो झारले ढाक्यो
चिठी लेखिदिने सम्म छैनन् गाउँमा ।
कसैले भनिदिए हुन्थ्यो
कसैले फर्काईदिए हुन्थ्यो
ती छोराहरूलाई
तिम्रा बाचा पर्खने बाआमा
साहुका रिनमा डुबे भनेर
बन्धकी परेका सपना
लिलाम हुन लाग्यो भनेर ।