Namrata Guragain – Nadi

नदी पोखरीमा अटाउँनु हुदैन
नदी तालमा अटाउँनु हुदैन
नयाँ परिवेश भेटन
नया चुनौती सामना गर्न
ऊ विस्तारित हुने जात
भैरहनुपर्छ ।

धारा पँधेरामा आफना अवशेषहरु छोडदै
नदी निरन्तर हिडिरहेको हुन्छ
तिर्खाको अनन्य मित्र ऊ
अलिकति कुलोमा समेटिएर
खेतमा बारीमा रमाइरहेको हुन्छ
अलिकति बाँधमा समेटिएर
तरंगमा आफु हुनुको अर्थ थमाइरहेको हुन्छ ।

जहिलेपनि ब्यस्त नदी
कतै कारखाना चलाइरहेको हुन्छ
कतै घटटा चलाइरहेको हुन्छ
छेउछाउका रुखहरुसँगै सुसाउँदै
हास्दै खेल्दै बगिरहेको हुन्छ
जहा विरुवा भेट्दैन त्यहाँ ऊ
प्रेमी खोज्दै हिडेकी प्रेमिका जस्तो
प्रेमिका हराएर विक्षिप्त प्रेमी जस्तो
जथाभाबी हिडिदिन्छ
खेतमा होस कि बारीमा
गोठमा होस कि घरमा ।

ए मान्छेहरु
जंगल फाँडेर नदिलाइ नचलाउ
ऊ रिसायो भने हाम्रै विनास गरिदिन्छ ।

नेब्रास्का