Damodar Pudasainee – Pahad Ra Aama Haru

दामोदर पुडासैनी किशोर – पहाड र आमाहरू

आमाहरू
पहाडहरू हुनुहुन्थ्यो
जीवनभर हामीलाई सिकाइरहनुभयो
पहाडनै बन्न

आमाहरूलाई
भोकले जिस्क्याइरहन्थ्यो
फर्की फर्की आएर दाह्रा धसिरहन्थ्यो
शोक र सुर्ताले
आमाहरू
भोकलाई सुकुटी बनाउँन सुकाइरहनुहु्थ्यो
चिशा छिंडीहरूमा र चिल्थरा टालेका कपडाहरूमा
र शोकहरूलाई कुल्चदै कुल्चदै
केही न केही बिउका पाँजाहरू रोपिरहनुहुन्थ्यो
जाँगरका भेलहरू नसा नसामा बगाएर

आमाहरू हुनुहुन्थ्यो
पहाडजस्तो
र ,स साना छुनुमुने नानीजस्तो
रिसाउँदा पनि सत्य बोल्नुहु्न्थ्यो
खुशाउँदा त बुनिरहनुहुन्थ्यो
सत्यका बिशाल बुट्टाहरू

आमाहरूबाट
मायाको मुल निस्कँदा
सफा ,स्वच्छ र निस्वार्थी थियो
प्रेम भन्ने कुरा
जब आमाबाट निस्केर अरूको हातमा पुग्यो
तब प्रेमनै कालो ,छिरबिरे र काँडादार बन्यो

कयौ हुरी ,कम्प र प्रलय आउँदा
दह्रिलो मेरूदण्ड बनेर
छेकिरहनुभयो आमाहरूले
र जीवनभर कसैले हल्लाउँन नसक्ने
पहाड बन्नु भन्नुभयो हामीहरूलाई

आमाहरू सम्झेपछि
पहाडहरूपनि लाग्छन्
आमाहरूजस्तै
उज्याला,स्नेही र उर्जाशील

अचेल आमाहरूको अभाब
मेटाइदिन्छन्
पहाडहरूले

नियालेर हेर्नुस् त
हरेक पहाडहरूमा
आमाहरू
मुस्काउँदै मुस्काउँदै
उकालो चढिरहेका हुन्छन्

म अहिले आमाका सुन्दर सँझनाहरू
साट्ने गर्छु
पहाडका गोरेटा ,फूलका थुँगा
र ,चराका आवाजहरूसँग

आमाहरू
आकाशभरि फैलिनुभयो
र धर्तिभरि उम्रनुभयो
आमाहरूकै निशर्त मायामा
म आफ्नो अनुहारलाई
बनाउँन खोज्दैछु
पहाडझैँ रँगिन र पहाडझैँ उज्यालो

२०७६ बैशाख २१ शनिबार
ग्वँग:बुँ ,नयाँबसपार्क,काठमाडौ

Krishna Kattel – Pahad Ra Mera Baa

कृष्ण कट्टेल – पहाड र मेरा बा

असंख्य पहाडहरुको पत्रमा
उभ्भिएको एउटा पहाड
त्यहि पहाडले जन्माएको मेरा बा
आजसम्म उसकै छात्तिमा हुर्किएर
स्याहारिरहेछन् त्यहि पहाडलाइ ।

शिशिरमा उजाडिएको पहाडको खुसी
मेरै बा को पसिनाबाट फर्किन्छ वसन्तमा
अनि लगाउछ हरियो लाली
देखिन्छ झनै हराभरा र सम्पन्नशाली ।

त्यहि पहाड हो
मेरा बा को सबैथोक
अनि मेरो पनि इश्वर
त्यहिँ रोपिएको पसिना
मोती भइदिएर नै
रगत पसेको हो मेरो मुटुमा ।

कहिले गल्र्याम्म लडिदिन्छ पहाडको एक भित्तो
पर्खाल लगाउछन् मेरा बा
अनि फोरेर चट्टान, माटो बनाउछन्
रोप्छन्,हुर्काउछन,फलाउछन अक्सिजन
त्यसैले मुटुभन्दा प्यारो ठान्छन मेरा बा
यो पहाडलाइ,यो देशलाई ।

सिटिजन एफएम, महाराजगंज काठमाण्डौ ।

– मगलबार, 4 कार्तिक, 2071