Mohan Koiarala – Pyaro Pyaro Mero Lobh

मोहन कोइराला – प्यारो प्यारो मेरो लोभ

छुटेको साथीलाई जसले पहिले माया जोर्‍यो,
हिंडेको पशुलाई जसले पहिले गोठालो लाग्यो,
निगाला खिप्दै खिप्दै घूम, देश र डोको बनायो,
कठबाँस झीरले खोप्दै उडेका वरलाई बाँसुरीमा थिच्यो-
भत्केकालाई लय र ननिस्केका स्वरलाई ओठले फुक्यो,
ए प्रशस्त छातीले सुसेल्ने ए ताजा हावाको ताजा डाक्टर
त्यो पहिला दिनको पहिला आविष्कारलाई म लोभ गर्दछु,
प्यार गर्द छु,
सम्झन्छु तिमीले पहिला दिन सिस्नु उसिन्दा मलाई डाकेनौ
म कति रिसाएको छु ।
जसले आफ्नो कहानी एक विराट् गुफाबाट शुरु गरेथ्यो
तँ कति सोझो नरम पाठो जस्तो जङ्गलमा उफ्रेको
ए प्यारो प्यारो मेरो लोभ, मेरो कलाकार
आइज, म तँलाई छातीमा टाँसेर हेर्न चाहान्छु,
मुखमा खरो सूर्ती चुसेर एक पल्ट अब सुसेलेको ।

Mohan Koirala – Musa Ko Khor

मोहन कोइराला – मूसाको खोर

चाल मारेर उफ्रिन्छ, बुईँगलमा पुगेर मार्च गर्छ
चुँ चुँ गर्दै म्युजिकल पुच्छर देखेमा अलि हट्छ
सोफाको प्वालभित्र बैठकमा बसेको छ,
मुसो खोरमा पुग्दैन ।

चिरिप, चिरिप, डलर काट्छ, पौण्ड धानको बाला जस्तै बटुल्छ,
दुई गाडा उचालेर, दुई कान ठाडो पारेर,
भारतीय रुपियाँ गाजर जस्तै कुरुप कुरूप चपाएर बस्छ,
(अवमूल्यन पैसा हात हुँदैन)
भागवत र कानूनको पुस्तक साँवा अक्षर चिनेको छैन,
नून चाटे जस्तै कोठामा धुजा पताका पार्छ,
अन्न पानी बिर्सेर श्रमको तुना काट्छ बस्छ
(नव मूसो) अचेल खोर सुङ्दैन ।