Raju Syangtan – Ram Bahadur Marga

राजु स्याङ्तान – रामबहादुर मार्ग

जब टेक्छु यो लमतन्न राजमार्ग
टेकेजस्तो लाग्छ
आपाको कुप्रो आङ

४० वसन्तअघि लक्का जवान हुँदा
गिट्टीमा सपनाको अलकत्रा घोलेर
बनाएका थिए रे आपाले यो मार्ग

ऊ त्यो जङ्गलको बीचमा
थोत्रो डोजरको पाटपुर्जासँगै लडिरहेको
पहेंलो टोपी
सायद मेरै आपाको हुनुपर्छ

त्यो पुरानो ट्याक्टरको टायरनेर
आधा डढेको हात्तीछाप चप्पल पनि
मेरै आपाको हुनुपर्छ

ऊ त्यही फ्याँकिएको क्रसरले
चुँडिलग्यो होला
मलाई तातेताते गराउने
आपाको दाहिने हात

हुइँकिन थालेपछि पुलमाथि मोटर
कति हिँडे होलान् तरुनी आमासँगै
पुलमुनिको बाटो
दुई रुपैयाँ भाडा नभएर

हिजो साँझ पिएपछि एक डबका जोस
आपा निस्केछन् राजमार्गमा
कराएछन् जोडजोडले,
‘साला को हो महेन्द्र भनेको ?
यो महेन्द्र राजमार्ग होइन
पूर्व–पश्चिम राजमार्ग पनि होइन
मैले बनाएको हुँ, मैले ’

बिहान ब्युझँदा टोल छिमेक
राजमार्गछेउमा लडिरहेको थियो आपाको लाश
किचिमिची पारेको थियो
वर्षौं भोट हालेको बुढीऔंला पनि

न कुनै मुचुल्का
न कुनै साक्षी
बेवारिस लडिरहेको छ आज
आँगनमा आपाको लाश

म गइरहेछु
मेरो आपालाई भेट्न
यो अमलेखगञ्ज
यो निजगढ
यो महेन्द्र राजमार्ग
पूर्व–पश्चिम राजमार्ग

तर,
तर किन भन्न पाउँदिनँ
रामबहादुर मार्ग ?