Manu Brajaki – Paindaina Kehi Bhanne [Nepali Gajal]

मनु ब्राजाकी – पाइँदैन केही भन्ने थाहा हुँदाहुँदै (नेपाली गजल)

पाइँदैन केही भन्ने थाहा हुँदाहुँदै, पाउने आशा अझै पनि लागिरहेछ,
तिमी सुत्यौ मुटुभित्र मेरो निदाएर, ञमनु अब रातभरि जागिरहेछ ।

समयको साथ सबै मेटिएर जान्छ, भन्ने कुरामाथि कति भर परुँ म,
कस्तुरी झैं तिम्रो मायाँ मनमा रहेछ, सुगन्धको खोजी गर्दै भागिरहेछ ।

जाँदाजाँदै फर्किफर्कि हेर्ने बानी त्यो, तेही नजरलाई अझै सम्झिरहेछ
तिमीसँग भेट हुने कल्पनाले नै, विषलाई अमृत झैँ चाखिरहेछ ।

बोल्नु परे एउटै शब्द बाँकी रहेथ्यो, त्यही भन्न खोज्दाखोज्दै घाम अस्तायो
धेरै धेरै कुरा भए तर पनि त्यो, एउटै कुरा मनले अझै राखिरहेछ ।

बादल झैँ टुक्रा टुक्रा छरिदै म हिँडे, आकाशमा लाखलाख ताराहरु छन्,
मन गगनले एउटा सानो जूनमात्र, अन्धकार मेट्न भनी मागिरहेछ ।

प्रतीक्षाको वेदनाले नसताओस् भनी, मनलाई ञमनु जस्तै ढुङ्गा बनाएँ,
हुँदाहुँदै यसैगरी हीरा भएछु, नभनिदेऊ हीरा पनि दागी रहेछ ।