Binod Dahal – Nayan Nepal

विनोद दाहाल ‘वत्स’ – नयाँ नेपाल ?
(Source: मधुपर्क जेठ, २०६९)

बलभद्रले काँगडा छाडेपछि
भक्ति थापाले देउथलमा
वीरगति पाएपछि
मेरा कोठेबारीका काँक्राचोरहरू
खरबारीमा घाँस चोर्नेहरू
मनोबल बढेर रूखमा छेकिदै
मैले डोकानाम्ला खोस्न सकिन तिनका
कातर म महाकातर
अमरसिंहको स्वाभिमान निलेर हीराका औंठीसित गोसाइँकुण्डमा
शत्रुको चिठी कुल्चेको भए
म शायद स्वयम्भुका आँखा अगाडि
विस्कुट बाँड्दै बाँदरलाई
म राष्ट्रभक्त
त्यसैले मलको लुँडी सोहोर्न
गोठालो बसेको तिम्रा घरमा
भष्मासुरका हात फैलाएर
खण्डहर बारीमा सपना छर्ने
पुनर्निर्माणको यज्ञ आयोजक
मेरो भत्केको खण्डहर
सिस्नाका झाङ ब्यूँझेका छन्
कुष्ठरोगीझैं
हुरीपछि प्युरीखोज्दै
उँघेका आँखा ब्यूँझिए
धनको थुप्रो टोकरीभरि देखेर
नयाँ नेपाल जन्मियो घ्याम्पाबाट
ऊ परदेशीबाउ यसको
तिमी सम्हाल यसलाई
पेटेभोटो लाइदेउ
अँध्याराको तीर
दायित्वको पीर नबोक्ने भए भन
म बनाउँछु नयाँ नेपाल
तिम्रा भष्मासुर हात नफैलाऊ अब
अँगेनामा टाङ फुट्याएर
बिराली परेका पिडुँलाबाट
वर्गशत्रुको दूरबिन आँखामा
हातको बारुद धोऊ
फाल्सा फाल्सा रगत टेकेर
म बनाउँछु नयाँ नेपाल
परालका कुनिउँमा आगो सल्काउने हात
बहादुरीको ताली र छिमेकीको स्याबासी
तिमी नेता बन्यौ
तामा भाँचेर ढुङ्ग्रेबाँसको
आˆनै हत्केलो गुम्यो
बम हान्न नजान्दा
कट्मिरो देश दुःखेको छ आज
मेरो मुटु
तिमी पल्टेको घाइते स्ट्रेचरमा
म बनाउछु नयाँ नेपाल ।

– ओखलढुङ्गा

Saraswati Shrestha Saru – Mrityu Utsav

सरस्वती श्रेष्ठ ‘सरु’ – मृत्युत्सव
(मधुपर्क २०६६ जेठ)

किन भोगिरहेछौ हामीले
जताततै मृत्यु-मृत्यु जिन्दगीहरू.
किन बाचिरहेछौ हामीले
जताततै मृत्यु-मृत्युका जिन्दगीहरू
एकोहोरो स्यालहरू हासेका बेसुरा धुनहरू
किन बिलिन हुदैन बस्तीबाट ?
जताततै त्राहिमाम ! त्राहिमाम !! मृत्यु बाच्न
विवश-विवश मान्छेहरू
मृत्यत्सव मनाउन अभ्यस्त छन्
सडक/सडकमा मृत्युका ट्राफिकहरू
मृत्युकै साइरन बजाउछन्
चोक/गल्ली/सडकहरू
अभ्यस्त छन् मृत्यु धुन बजाउन ।
साना-साना नानीहरू
पुतलीसाग मृत्यु उत्सव मनाउछन्
जीवन भोगिरहेका तिनै नानीहरू
स्कुल-स्कुलमा मृत्यु गान गाउछन्
गुरु गुरुआमाहरू मृत्युकै पाठ घोकाउछन्
पालेहरू घण्टी बजाउछन् मृत्युकै ।
गुम्बाका लामाहरू
मृत्यु-शान्तिका नाउमा
मौन भएर बौद्ध ध्वनि बजाउछन् ।
चकमन्न सूर्यकिरण,
घुडा टेकेर मृत्युको
रातभर निदाउछ
तम्तमाउदो मृत्यु सपना बोकेर ।
सिंहहरू किन देख्दैनन्
आफ्नै अगाडि मृत्यु खाडलहरू

दुखाउछन् अरूलाई
अत्याउछन् अरूलाई
र अन्तमा
जीवन अट्टहास रच्दै
स्वयं हामफाल्दछन् मृत्यु खाडलमा
मृत्यु-मृत्यु बनेर

Ravi Pranjal – Phool Jhain Basana (Nepali Gajal)

रवि प्राञ्जल – फूलझैं वासना (गजल)
(Source:मधुपर्क असार, २०६७)

फूलझैं वासना छर्नु पो जिन्दगी ।
गर्वले वन्दना गर्नु पो जिन्दगी ।

भोकमा, शोकमा, पर्छ जो कष्टमा
स्नेहले कष्ट त्यो हर्नु पो जिन्दगी ।

मातमा लटि्ँठदै मर्छ जो मूर्ख हो
होशमै शानले मर्नु पो जिन्दगी ।

खै कहाँ रोकियो आँसुको मूल यो ?
आँसुमै चढ्नु र झर्नु पो जिन्दगी ।

जिन्दगी भास हो, जिन्दगी धाप हो
यत्नले धाप त्यो तर्नु पो जिन्दगी ।