Santosh Lamichhane – Khot

सन्तोष लामिछाने – खोट

मैले क्षणहरु बगाउंदै गर्दा
तिमी मष्तिष्कको चोटाबाट
चिन्तनका चिउरा चपाउँदै
ममाथि चोर औंला ठडयाउँने गर्छौ

तिमीभित्रै च्याप्पिएर
उकुस मुकुस भएका सपनामा चोबलेर
तिमी भलाई पश्चाताप पस्कने गर्छौ

मरुमुमिमा निरन्तर हिंडिरहेको
एउटा उँटको थकाइमार्ने धोको जस्तो गरी
कुण्ठा अनि पुर्वाग्रहहरुको पोको खोतलेर
तिमी मलाई खोटको चश्माले हेर्ने गर्छौ

तर हे आफुले आफैलाई निर्णयक सोच्ने तिमी
एकपटक स्वच्छ मन लिएर सोच
तटस्थ भएर निष्कर्ष निकालेर हेर
नियोजित होइन निरपेक्ष भएर फैसला गर

अनि तिम्रा जन्मान्ध ईन्द्रियहरुले क्षणहरु बग्दै गर्दा
सृष्टिका हजारौं रँगहरु देख्नेछन्

निस्लोट तिम्रा संवेदनाहरू
मानवताका दृष्टान्त भएर जाग्नेछन्

तिमीले निर्जीव देखेर इन्कार गरेका सृष्टिका झुप्राहरु
सिर्जनाका उत्पात ठूला इमारत भएर उठनेछन

समयका नालीबेलीहरु
तिम्रो पटयारका पटक्कै सिकार हुने छैनन्

सँगसँगै
क्षणकै छहारीमा तिमी आँफै पनि
उत्तरोत्तर उन्मुक्त हुँदै जानेछौ
अनि उन्माद र उत्साहका उदयले
खोटको उत्पक्ति हुनै छाड्ने छ
खोटको उत्पक्ति हुनै छाड्ने छ ।

Santosh Lamichhane – Sakshi

सन्तोष लामिछाने – साक्षी

भावनाको घोप्टेभीर
मनको जोगिमारामा घुम्ती बदल्छ
अनि आकांक्षाका खोरियामा
कुकुर जोघाइ सुरु हुन्छ
रित्तोपन लुकाउँदै
शासकहरु हात बाँधेर
मुकुण्डो कसाउँछन्
अनि एउटा नौटंकी
जिन्दगी सुरु गर्छ

पहिराहरु आतुर छन्
धरातल उल्ट्याउन
भूकम्पहरु खुटटा उचाल्छन्
धर्ती हल्लाउन
बाढीहरु सल्बल छन्
सिर्जना बगाउन

ध्वजा पताका फिजारिन्छ
रंगमञ्ज सजिन्छ
गीत रचिन्छ
संगीत पस्किइन्छ
विस्तारै चिहान उठ्न थाल्छ
सपना विपना जस्तै लाग्न थाल्छ
दर्शक भुलिन्छन्
सिठठी बजाइन्छ
ताली पडकाइन्छ
विश्वविद्यालयहरु निरर्थक हुन्छन्
प्राध्यापकहरू घुँडा टेकेर
ज्ञानको भीख माग्न थाल्छन्
ढुंगाका मुर्तीहरु
पैतालाका डोबहरुले भरिन्छन्
बुद्धिजीवीहरु भंडखारामा पुरिन्छन्
तक्मा भिर्ने मै हुँ भन्नेहरु
बन्दीगृहका कैदीमा चुनिन्छन्

कोलाहल ठप्प छ
मस्तिष्क थाङनामा सुत्दछ
निडर निरुत्साहित
एउटा साक्षी
सिर्फ हेरिरहन्छ
सुनिरहन्छ
आँखा खोलेर अनि आँखा बन्द गरेर
सधैं व्यूँझिरहन्छ अनि ब्युँझ्याइरहन्छ
अनवरत
एउटा साक्षी व्यूँझिरहन्छ
ब्युँझ्याइरहन्छ ।

Santosh Lamichhane – Hami ra Hamro Batawaran

सन्तोष लामिछाने – हामी र हाम्रो वातावरण

मेरो वरीपरी
घनघोर जंगलबाट आउने
शित्तर हावाहरु
गर्मीका पंखा हुने गर्थे

चराका चिर्चिरसँगै
धर्ती अनि आकाश
खोलाका सुसाइमा
संगीत सिर्जना गर्थे

गहेन्द्र सम्सेरका बन्दुक बोकेका
जंगबहादुरहरु
मेरै चारकोसे झाडीहरु अनि
बाँसका झाङहरुमा
वनक्रिडा गर्थे

शान्तिका साधना गर्ने बुद्धहरु
‘ॐ शान्ति शान्ति’ भन्दै
मेरै छहरा अनि पहरा गुञ्जाउँथे

वेदध्वनीहरु संखका धूनमा समाहित भएर
गीता र त्रिपिटक उराल्थे

तर आज
मेरा वागमती र विष्णुमतीहरु
नालीको गन्धले टाइफाइड र जण्डिसका रोगी भएका छन्

मेरा आफन्तहरु
अनेकौं रोगले च्यापेर
मृत्युशैयामा सिकिस्त छन्

वातावरणको विनाशले
मेरा डाँफे नाँच्ने गुँरासे पाखाहरु नाँगिएका छन्
हरिया वन अनि केराका घारीहरु
ऐंसेलुका बोट अनि बयरका बुटयानहरु !
फाँडिएर उजाड मरुभूमिझैं भएका छन्
अनि मेरो माटो
बाढी पिडित भएर तप्प तप्प आँसु चुहाइरहेछ

यसरी वातावरण मबाट भाग्न खोलेको छ
मबाट भाग्न खोजेको छ ।