मणी बांग्देल – सुमसुम्याऊंदा नेपाल तिमीलाई
तिम्रो मुल्यवान तनभरी
बगेका मेरा अमुल्य पसिनाका धाराहरु
खहरे खोला बनि सुकेर नजावस
तिम्रो काखमाथी मिठो निद शैयांमा
देखेका लाखौ सुनौला सपनाहरु
हुरी बतास संगै उडेर नजावस
माधक तिम्रो उष्ण मोहपास भीत्र
छल्किएका छाल झैं जवानीहरु
त्यो मोहिनि साथको बिछोडमा
ज्वालामुखि बनि फुटेर नजावस
मेरो जन्मभुमिमा पाईला पाईला गनि
तय गरेका कोसौं जीवनका दूरिहरु
लक्ष्य बिहिन चंगा बनि चुडेर नजावस
पीडाका खानीहरु
तिम्रो कण कणमा मिसाउदा
बेदनाका बोझहरु
तिम्रा हत्केला भरि बिसाउदा
कबिका दुःखान्त कबिताले
मस्तिष्क भरि गिज्याउदा
सधा चुपचाप स्थिर रहने कस्तो
रित्तो रित्तो तिम्रो मन
पिरोल्दैन बियोगले किन तिमीलाई
गर्जिदिन्छौ हरक्षण नियमित बर्सिदिन्छौ
अनि जताततै पड्किदिन्छौ
कसम छ तिमीलाई बगेका ती पसिनाको
र धेरै सुनौला सपनाहरुको
बिदाइका अन्तिम समर्पण संगै बितेका साथलाई
एक पटक सुम्सुमाउदा नेपाल तिमीलाई ।
न्युयोर्क