म लहलहाउँदै,
कलकलाउँदै,
हुर्कंदै थिएँ
अनायास मेरो स्वच्छन्दता
बाँधिन पुग्यो
मेरा हातहरु
पाखुराहरु
र गर्दन
उसको तारमा बेरिएर
बाङ्गिन पुगे
उसको इच्छामा
उसको निर्देशनमा
मैले आफ्नो आकार बनाएर
उसकै Continue reading “Lakshmi Mali – Bonsai”
Tag: Literatures of Nepali Poet Lakshmi Mali
Lakshmi Mali – Rani Pokhari
कोलाहल शहरबीच
चुपचाप रानीपोखरी
कुनै अभिलाषा नभएको
कुनै प्रतिकार नभएको
तैपनि
पौराणिक पात्र कुम्भकर्णजस्तै
निदाउन सक्ने
सूर्योदय हुन्छ
चराहरु रमाउँदै गाउँछन्
सूर्यास्त हुन्छ
चराहरु आत्तिँदै गुँडतिर लाग्छन्
तर
रानीपोखरी चुपचाप छ
रानीपोखरीले बिहान र रातमा फरक देख्दैन
ऋतुहरु बदलिन्छन्
फूलहरु फुल्छन्, झर्छन्
मानौं त्यो सरोकारको विषय नै होइन
कति अचेत ?
पारखीहरु रानीपोखरीको सौंन्दर्य
हेर्दाहेर्दै मख्ख हुन्छन्
कोही एक्कासी ढुङ्गा हान्छन्
अहँ, कुनै प्रतिकार छैन
कोही रानीपोखरी वरिपरि घुम्छन्
आनन्द लिन्छन्
कोही पानी धमिल्याउन आउँछन्
कोही जिस्किन आउँछन्
तर रानीपोखरी मौन छ
ए द्र निस्तब्ध रानीपोखरी !
कति सहने ? किन सहने ?
Lakshmi Mali – Nachhen Galli
भँगेराको चिरविर स्वरसँगै
नछेँ गल्ली ब्यूँझिन्छ
सुनधारा, संकटा र भद्रकालीको
चहलपहलसँगै
प्रत्येक बिहान मेला लाग्छ
नछेँ गल्लीमा ।
बढारकुँडार,
लिपपोत, पानीपँधेरो
ग्वारामरी, चतांमरीको लस्कर
पसल पसलमा मानिसको ओइरो
दगुरादगुर, हस्याङ्गफस्याङ्ग
मर्निङ्ग वाक
हरेक बिहान मानिसहरु यसरी
ओहोरदोहोर
मानौं मेला लागिरहेको छ
नछेँ गल्लीमा ।
एउटा परिवार हो नछें गल्ली
जहाँ आपत विपतमा एकैढिक्का हुन्छन् मानिसहरु
कुनै चाडपर्व आउनुअघि नै
चहलपहल शुरु हुन्छ
हरेक चाडपर्व उल्लासमय बन्छ ।
हरेक दिनको मेलामा
हुनेखानेको बाहुल्यता हुन्छ
हरेक चाडपर्वमा
नयाँ लुगा उनीहरु नै लाउँछन्
मिठा मिठा परिकारको भोज
उनीहरुकहाँ नै बन्दछन्
यसरी
हरेक दिन
हरेक वर्ष
हरेक मेला, जात्रा
चाडपर्वहरुले
गरीवको उपहास गर्छन्
नछें गल्लीमा ।
यसरी थिचिएका
गरीव बच्चाहरुका आँखाहरु
टुलुटुलु हेर्छन्
आफ्नै साथीहरुले
लगाएका नयाँ लुगाहरुमा
टलक्क टल्किने जुत्ताहरुमा
थुक निल्छन्
रछ्यानमा मिल्काएका भोजका लपेसहरुमा
लपेसमा बचेका दुईचार सिता चिउरा
र हाडका टुक्राहरुमा
यसरी
मैयाँसाहेब र काजीसाहेबहरुबाट किचिएका
हाकुचा, सियुचा, भुयुचा र मैंचाहरुले
दशैं आएको चाल पाउँछन्
घोडेजात्रा आएको थाहा पाउँछन्
मेरो नछेँ गल्लीमा ।
आफ्ना साथीहरु
हातमा किताब च्यापेर
स्कूल गएको देख्दा
टोलाउँदै हेर्छन्
अनि
आफूहरुले पनि
हातमा किताब च्यापेको
स्कूल गएको
सपना देख्छन्
यसरी
हाकुचा, सियुचा, भुयुचा र मैंचाहरु
पाङ्ग्रा गुडाउँदै
फोहोरी शब्दमा गाली गर्दै
कुस्ती खेल्दै
जवान हुन्छन्
नछेँ गल्लीमा ।
Lakshmi Mali – Meri Chhori
सिमलका भुवाहरुजस्ती
मेरी छोरी सुकोमल भइन
मेरी छोरी सहनशील भइन
पुराना इच्छाहरु विपरीत
मेरी छोरी
आगोलाई निषेध गर्ने
पानी र हिउँका ढिक्काहरु भइन
म उसकी त्यस्ती आमा हुँ
जसले गृष्मकालीन घाममा आगो निलेकी छ
यतिखेर सोध्दैछु म आफैलाई
मेरै दशधारा दूध पिएकी मेरी छोरी
आवाज र आगोका यामहरुका विपक्षमा
कसरी मौन र हिउँका ढिक्काहरु हुन्छे ?
मुटुभरि सियो
र पैतालाभरि काँडाहरु बोकेर
आधा रातमा पीडाले बर्बराउँथें म आमा
सास फेर्नका निम्ति हावामा
मेरो निम्ति धुलो र धुवाँहरुमात्र थिए
ठीक त्यही याममा
मेरो गर्भभित्र दश महिना बसेकी मेरी छोरी
गर्भबाहिरको यो संसारमा
धुवाँ र काँडाहरुविरुद्ध विद्रोह गर्दैछे
मेरा उहिलेका इच्छाहरु विपरीत
मेरी छोरी फूलको थुङ्गोजस्तो भइन ।
मेरो चेतनाको क्षितिजलाई हल्लाउँदैछन्
उसका आवाजहरु
ऊ मलाई भन्दैछे
म तपाईका प्राचीन इच्छाहरुमा आगो सल्काउँछु
र हाम्रा इच्छाहरुका निम्ति लड्न तयार छु
ऊ यत्तिको कठोर हुन्छे भनेर
अहँ ! मैले सोचेकै थिइनँ
मैले निलेको आगोको ज्वाला भएर जन्मी ऊ
मैले पिएको धुवाँको बारुद भएर हुर्की ऊ
मैले खपेको अपमानको प्रतिफल भएर बढी ऊ
उसको नशा नशामा रगत होइन
आगोका नदीहरु बगेका छन्
उसका आँखाहरुमा प्रतिशोध
घृणा भएर बसेको छ ।
पिठ्यूँमा भारी र
गर्भमा छोरी बोकेर
सहस्र साहूका बातहरु खाएकी
श्रमशील आमाकी छोरी
सहनशील हुनै नसक्ने रहिछ
सुकोमल हुनै नसक्ने रहिछ
एउटा जीवन्त शिक्षा भएर
प्रस्तुत भएकी छे मेरो अघिल्तिर
भविष्यकी प्रतिमूर्ति
मेरी छोरी ।
Lakshmi Mali – Rapti Ko Bagar
अस्तव्यस्त जीवन
कोलाहल सडक
धुलो, धुवाँको शहर
कालो तुवाँलोले छोपेको आकाश
प्रदूषित वातावरणलाई थन्क्याएर
राप्ती
तिम्रो शान्त बगरमा
तिम्रो शितल लहरमा
उन्मुक्तिको सास फेर्न
कैयन उकालीहरु नाघ्दै
ओरालीहरु झर्दै
आएको छु तिम्रै बगरमा ।
विश्राम पाएको छ
तिम्रो कलकलाउँदो स्वरमा
कानको थाकेको जालीले
फुर्सत यसैलाई भन्छन् क्यारे
मन यति शून्य छ कि
कुनै हतार छैन
कुनै सम्झनु पर्ने कुरा छैन
बिर्सियो कि भन्ने चिन्ता पनि छैन
कसैको प्रतीक्षा छैन
कहीँ पुग्नुपर्ने पनि छैन
विश्राम ! विश्राम !
तिम्रो बगरमा
दुई ढुंगाको कापमा
खरखराइले
जितपुरको माझी दम्पतीले
बनाएको घर
तिमीभित्र माछा खोज्दै
दिन बिताउने जीवन
गौंथलीले गुँड लाएका प्वालहरु
मैनाको पर्खाइ
गौंथलीको बसाइँ सराइ
क¥याङ्ग कुरुङ्गको जुलुस
यी प्रकृतिका सुन्दर छटाहरुले गर्दा
केही क्षण भए पनि मुक्ति मिलेको छ
यान्त्रिक जीवनबाट
तिम्रो निलो शान्त सगरमुनी
हरियो चिसो पानीमा
नुहाउन आएको छु
राप्ती
तिमीसँग मायाप्रिति लाउन
बिहानीको मिर्मिरेमा
घाम तिमीसँग खेलेको हेर्न
रुखका पातहरु हावासँग नाचेको हेर्न
रुखका हाँगा हाँगामा
टोड्का टोड्कामा
उड्दै गाउने चरीको गीत सुन्न
म फुर्सद लिएर आएको छु ।
गोठालोको सुसेलीमा
गाईको मुरमुर चपाइमा
मेरो सुस्तसुस्त पदचापमा
बल्सी लाएर बस्ने माझीले
शंकालु आँखा लाउँदै
खोलाको पानीभित्र नियालेको दृश्य
मलाई आश्चर्य लाग्छ
मेरो शहरको
यान्त्रिक भाषाका स्वरहरुसँग
तुलना गर्न मन लाग्छ
तिम्रो चिसो पानीमा
मेरो शरीरले स्पर्श पाउँदा
संजीवनी निलेजस्तै
मेरो अंग–प्रत्यङ्ग
रोमाञ्चित हुनपुग्छ
मेरो मन तिमीसँग आत्मसात
हुनपुग्छ
त्यसैले
मेरो व्यस्त जीवनलाई
शान्ति र विश्राम दिन
म फुर्सत बनाएर आएको छु
राप्ती तिम्रो बगरमा ।
Lakshmi Mali – Manmaya
धैर्यशील मनमायाको धैर्य
फुट्न फुट्न खोजेर पनि फुट्दैन
एकनास चलिरहेका छन्
उसका हातहरु
सिमेन्टीको घोलमा पसिना मिलाउँछे
मनको भयानक आँधीबेरीमा
विवश छे मनमाया
डकर्मीको अश्लील ठट्टा पचाउँदै
छातीभरि उर्लिरहेको Continue reading “Lakshmi Mali – Manmaya”
Lakshmi Mali – Ma
म
एउटा स्वचालित यन्त्र
‘स्वीच अन’ हुँदा चल्ने
‘स्वीच अफ’ हुँदा रोकिने
तर
यति नसोच तिमीले सपनामा पनि
कि
मेरो स्वीच तिम्रै औंलामा छ
होइन भने
‘स्वीच अन’ गरेर हेर
मेरो आस्था
मेरो विश्वास
म उभिएको धरातल
हल्लाउन सक्ने छैनौ तिमी
मेरो संवेदनशील व्यवहार
जीवनको एउटा सम्झौतामात्र हो
विवशता होइन
धेरै कुराहरु सहेको छु
समय समयमा
तर बुझ तिमी
कक्रिएको माटो भिजाउने
म पानी हुँ
आफ्नै अन्जुलीभरिको ।
Lakshmi Mali – Jindagi
मिटिङ्ग र गोष्ठीजस्तो
शब्द र कागजको पाना होइन
हाकिमको अर्डरजस्तो होइन
कोर्टको बहसजस्तो पनि होइन
कार्यान्वयन हुनै नसक्ने
कुनै परियोजना होइन
चुनावको मुद्दा होइन
पार्टीको नारा होइन
राजनैतिक दाउपेच पनि होइन
जिन्दगी त
मिठो र नमिठोको संगम हो
त्यसैले
जिन्दगीलाई भोगेर हेर ।
Lakshmi Mali – Udatta Chahana
सहने सल्लाह दिने प्रियजनहरु
माफ गर्नुहोस्
म सहन सक्तिनँ
म कफ्र्यूको भयावह शान्ति स्वीकार्न सक्तिनँ
म कराउन चाहन्छु
चिच्याउन चाहन्छु
कमसेकम
म अक्षरहरुको जुलुस निकाल्न चाहन्छु
बुद्ध मूर्तिमा पूmल चढाएर
दोबाटोमा मैनबत्ती बालेर
शान्तिको कामना गर्ने प्रियजनहरु
कमसेकम म खुल्न चाहन्छु,
कुनै पनि समय मुठभेडको सम्भावना रहेको
बन्दको दिन सुतेको राजमार्गजस्तो
म मृत शान्ति त चाहनै सक्तिनँ
शान्तिका लागि चुपचाप आफुलाई सिध्याउने मैनबत्ती
मेरो आदर्श पात्र हुनसक्दैन
म संकटयुक्त शान्ति भोग्न तयार छैन
प्रियजनहरु
मान्छेजस्तै हुने अधिकारका लागि
म चलमलाउन चाहन्छु
म तपाईंहरुसँग अंकमाल गरेर
उन्मुक्त हाँस्न चाहन्छु
प्रियजनहरु
म लोकतन्त्र चाहन्छु ।
Lakshmi Mali – Dharatal Dagmagaye Pachhi
सपना देखिरहेकोजस्तो
होस हराएकोजस्तो
भोलिको पुस्तालाई काखी च्यापेर
कुन धरातलमा उभिनुपर्ने हो ?
आस्था र विश्वास धमिलिइरहेको बेला
टुक्राटुक्रा भएका मुटुहरुको माझमा
साँचो मित्रको खोजी कसरी सफल हुने हो ?
आफ्नै वस्तु ठानेर
गर्भवती स्वास्नीलाई घरबाट निकाल्नेलाई पनि
मर्यादापालक राम भन्नसक्ने
निर्लज्ज धर्मभीरुहरुको भीडमा
विश्वासको धरातल डगमगाउँदा
आगामी पुस्तालाई
उभ्याउन सकिरहेको छैन मैले
म उभिएको धरातल
विखण्डित आस्थाहरु
बिर्सन खोजेर पनि बिर्सन नसकिएका
पराजयका पीडाहरु, समयका डोबहरु
चुँडाल्न खोजेर पनि चुँडाल्न नसकिएका
समाजका बन्धनहरु
निराश निराश भएर सम्झँदै
दुखेको मुटु लिएर बाँचिरहेको छु
धमिलो भविष्य छामिरहेको छु
अतीतलाई फर्केर हेर्दा
धेरैचोटी समयसँग संघर्ष गरेर पनि
धेरैचोटी हारिसकेकी छु
पाप्रा–पाप्रा उप्किएको मुटु यो
ढिक्का–ढिक्का खसिसकेको आँशु यो
कुनै समयलाई पनि
विश्वासघात गर्ने
दुस्साहस गर्न सकिनँ मैले
पोखिएको धैर्यलाई
थोपा–थोपा बटुलेर
छलछाम गर्ने नियतिसँग
भिड्ने साहस किन गरिंनँ मैले ?
Lakshmi Mali – Bhram
रातो किरण टलक्क टल्किन्छ
चन्द्रागिरीको टुप्पोमा
झ्यालबाट बाहिर चियाउँछु
घरअगाडिको सडकमा
एउटा मान्छे रक्ताम्य ढलिरहेछ
चिनेकैजस्तो लागिरहेछ
अनुहार ओझेल पर्छ
आँखा मिच्छु
डाँडाको टुप्पो पनि रक्ताम्य हुन्छ
खोलामा आँखा ओर्लन्छ
पानी पनि रातै हुन्छ
बिहानीको चियाको चुस्कीसँगै
अखबार पल्टाउँछु
अखबारको हेडलाइन
‘यातनागृहमा कलमजीवीको मृत्यु’
रन्थनिन्छु
मनभित्र कताकता सियोको टुप्पोले च्वास्स घोच्छ
अनायास आँखा चिम्लन्छु
र मनमनै भन्छु
कतै भ्रम त होइन ?
Lakshmi Mali – Kaska Lagi
भत्केका घरहरु
काला काला भित्ताहरु
खरानीको थुप्रोमा उभिएका खण्डहरहरु
आलो रगत, क्षतविक्षत लासहरु
अंगभंग घाइतेहरु
टुहुरा बालबच्चाहरु
चाउरिएका गालाबाट बगेका आँशुका ढिक्काहरु
उडिरहेका गिद्ध र कागहरु
बारुदका टुक्राटाक्रीहरु
गोलीका खोकाहरु
डर, त्रास र रुवाइहरु
सन्नाटा
भयावह सन्नाटा
युद्धपछिको गाउँ
चिच्याएर सोध्न मन लाग्यो
आखिर यी सब
कसका लागि ?
Lakshmi Mali – Ajako Kavita
औंशीले डेरा जमाएको बेला
जूनको कुरा कसरी लेख्न सकिन्छ ?
कालो रातले ढाकेको ठाउँमा
घामको कुरा कसरी गर्न सकिन्छ ?
रक्तरञ्जित भत्केको सडकमा
पूmलको, विरुवाको
बास्नाको कविता लेख भन्छन्
बारुद र रगतको दुर्गन्धमा
कसरी लेख्न सकिन्छ यस्तो कविता ?
लेखिन्छ यहाँ त
विचलित वर्तमानका
भयावह दृश्यहरु
शोकसंतप्त अनुहारहरु
भोक र छट्पटीका पीडाहरु
चारैतिर आर्तनाद भएको बेला
कसरी लेख्न सकिन्छ
उल्लासका कुराहरु ?